शुक्रबार, ७ वैशाख २०८१

बर्दिवासका दुई नयाँ क्याम्पसमा पठनपाठन

समयपोष्ट २०७५ चैत ५ गते १५:४८


महोत्तरीको बर्दिवास नगरपालिका–६ किसाननगरमा स्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसमा कृषि सङ्कायको स्नातक तहको प्रथम बर्षअन्तर्गत प्रथम सत्रको पठनपाठन शुरु भएको छ ।

Advertisement

कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुर, चितवनको आङ्गिक क्याम्पसका रुपमा रहेको सो कलेजमा ५२ विद्यार्थी अध्ययनरत छन् । अहिले स्नातक प्रथम वर्षको प्रथम सत्रमा बालीसम्बन्धी इन्ट्रोडक्टरी जेनिटिक्स, माटो विज्ञान, बाली विज्ञान, बागवानी विज्ञान, जीव रसायनशास्त्र, कृषि अर्थशास्त्र र पशु विज्ञान विषयको पठनपाठन शुरु भएको विश्वविद्यालयका कृषि सङ्कायका शिक्षाध्यक्ष जयप्रकाश दत्तले जानकारी दिए ।

यसै शैक्षिक सत्रदेखि पठनपाठन शुरु गरिएको कलेजमा चार वर्षे स्नातक कोर्षमा भर्ना भएका ५२ मध्ये २३ छात्रा छन् । कलेजमा अहिले आवासीय रुपमा पाँच शिक्षक छन् । अन्य जनशक्ति चाँडै पूर्ति गरिने दत्तको भनाइ छ । बर्दिवास–६ किसाननगरमा ६ बिघा चार कट्ठा जग्गा कलेजको नाममा रहेको व्यवस्थापन समितिका अध्यक्ष राजन ढुङ्गानाले जानकारी दिए । आवश्यक संरचना निर्माणको काम विश्वविद्यालयको समन्वयमा चाँडै गरिने अध्यक्ष ढुङ्गाना बताउछन् ।

यसैगरी बर्दिवास–१४ स्थित त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस बर्दिवास जनता बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा शिक्षा सङ्कायअन्तर्गत नेपाली र स्वास्थ्य विषयको पठनपाठन शुरु भएको छ । स्नातकोत्तर तहको अध्ययन/अध्यापनको यसैवर्ष स्वीकृति पाएको सो क्याम्पसमा अहिले ३४ विद्यार्थी अध्ययनरत छन् । छात्रछात्राको सङ्ख्या बराबरी रहेको क्याम्पस प्रमुख तोप ठकुरीले जानकारी दिए । “भर्ना अझै जारी छ । सङ्ख्या बढ्न सक्छ”, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री