शनिबार, १५ वैशाख २०८१

मदन भण्डारी लोकमार्गले रोल्पा छुने

समयपोष्ट २०७५ चैत १ गते १०:२४

Advertisement

कुनै पनि राजमार्गले नछोएको रोल्पा  जिल्लालाई मदन भण्डारी लोकमार्गले छुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको ध्यानाकर्षणपछि भौतिक योजना तथा यातायात मन्त्रालयले राजमार्गलाई रोल्पासँग जोड्ने गरी निर्माण गर्न सहमत भएको हो ।

सरकारले गत जेठमा बाह्र सय किलोमिटर उक्त लोकमार्ग घोषणा गर्दा प्यूठान, दाङ, सुर्खेत हुँदै जाने बताएको थियो । लोकमार्गको संशोधित डिजाइनअुनसार अब गुल्मी, प्यूठान, रोल्पाको खुङ्ग्री घोडागाउँ माडीचौर, सल्यानको दामाचौर जोड्ने भएको छ । मध्यपहाडी लोकमार्ग र पूर्व पश्चिम राजमार्गले नछुने रोल्पालाई पछिल्लोपटक डिजाइन गरिएको मदन भण्डारी लोकमार्गले समेत नछुने भएपछि आलोचना भएको थियो ।

रोल्पा घर भएका उपराष्ट्रपति नन्दबहादुर पुनले सडकले रोल्पालाई नछुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराएका थिए । बुधबार उपराष्ट्रपति पुनलाई भेट्न पुगेका मन्त्री महासेठले उक्त लोकमार्गको पछिल्लो डिजाइनबारे जानकारी गराएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

उक्त लोकमार्गको गुल्मी पश्चिमका जिल्लाको डिपीआर बनेको छैन । लोकमार्गलाई राप्तीको मध्यभागबाट जोड्नका लागि उपराष्ट्रपति पुन, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सल्यानका सांसद टेकबहादुर बस्नेत, कर्णाली प्रदेश मन्त्री प्रकाश ज्वालाले समेत पहल गर्दै आएका थिए ।

झापाको शान्तिनगरबाट सुरु हुने लोकमार्ग सुनसरी, हेटौँडा, गुल्मी, प्यूठान, दाङ, डोटी, कैलाली, डडेल्धुरालगायतका जिल्ला जोड्ने भनिएको थियो । पछिल्लो संशोधन अनुसार अब प्यूठानबाट दाङतर्फ नआई रोल्पा सल्यान हुँदै सुर्खेत जोडिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री