शुक्रबार, १४ वैशाख २०८१

बैङ्कले जबर्जस्ती बिक्री गरिरहेको पोलिसी ग्राहकको अनुकूलतामा छैन 

राजकुमार अर्याल, नि. सीईओ, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी

समयपोष्ट २०७५ फागुन २३ गते १०:५२

Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्सको पछिल्लो अवस्था कस्तो छ ?

सन नेपाल लाइफ इन्स्योरेन्सको प्रारम्भदेखि अहिलेसम्म आउँदा अघिल्लो वर्ष तीनवटा त्रैमासिक र यो वर्ष दुईवटा त्रैमासिक व्यवसाय गर्यौं। अहिलेसम्म आइपुग्दा यस कम्पनीको वित्तीय सूचकहरू अरू कम्पनीहरूको तुलनामा धेरै राम्रो छ ।

नयाँ कम्पनी भएको हुनाले शाखा विस्तार र अभिकर्ता निर्माण गर्ने मुख्य कुरा हो । अहिले २२ वटा शाखा कार्यालयहरू छन् । त्यो अन्तर्गत औपचारिक रूपमा हामीले व्यवसाय प्रारम्भ गरेका ३७ वटा उपशाखा कार्यालयहरू र भएका सम्पूर्ण शाखा कार्यालयहरू गरी जम्मा १ सय २४ स्थानबाट हामीले बीमा सेवा उपलब्ध गराइरहेका छौँ । नेपालभरि बीमा अभिकर्ताहरू करिब १० हजारभन्दा बढी हामीले तयार पारेका छौँ ।

सन लाइफ नै किन रोज्ने, विशेषता के छन् ?

सबै बीमा कम्पनीहरूले प्रवाह गर्ने सेवा भनेको बीमा सेवा नै हो । हामीले बीमा गर्न हरेक नेपालीको घर–घरमा पुग्ने गरी सञ्जाल निर्माण गरेका छौँ । व्यवस्थापकीय कार्य सन्तुलित किसिमले गर्न सकेका छौँ । यस कम्पनीले प्रचलनमा ल्याएका सम्पूर्ण योजनाहरूको आधारमा समेत यस कम्पनीलाई प्राथमिकतामा राख्न सकिन्छ ।

 

हामीले बीमा गर्न हरेक नेपालीको घर–घरमा पुग्ने गरी सञ्जाल निर्माण गरेका छौँ । व्यवस्थापकीय कार्य सन्तुलित किसिमले गर्न सकेका छौँ ।

नयाँ कम्पनीहरू आएसँगै बीमा खोसाखोसको अवस्था छ । यसलाई व्यवस्थित गर्न के गर्नुपर्ला ?

बजारमा भइरहेका बीमा कम्पनीहरूका अतिरिक्त धेरै कम्पनीहरू स्थापना भएर व्यवसाय सञ्चालन गर्दा बीमा खोसाखोस भन्दा पनि बजारीकरणको एग्रेसिभनेस देखिएको हो । धेरै कम्पनीहरू भएको हुनाले मानिसहरूमा बीमासम्बन्धी जनचेतना जागृत भएको छ । बीमा नहुनुको मुख्य कारण बीमासम्बन्धी चेतना नहुनु पनि हो । बीमाको वित्तीय पाटो के हो, के–कसरी सुरक्षण उपलब्ध हुन्छ भन्ने मानिसहरूले थाहा पाएकै छैनन् । बीमाको महत्व के हो, यसलाई कहाँ–कहाँ जोड्न सकिन्छ, यसले कस्तो–कस्तो जोखिमबाट सुरक्षा दिन्छ, कस्तो अवस्थामा बीमाबाट लाभ उपयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा पनि सबैलाई बुझाउन पाएका छैनौँ । तर बजारमा धेरै कम्पनीहरू आउँदा बीमाको दायरा भने बढेको पक्कै हो । जुन खोसाखोसको कुरा गर्नुभयो, त्यस्तो स्थिति होइन । बजार प्रवेश गरिसकेपछि सबै कम्पनीहरू अभिकर्तामार्फत् जाने हो । सबैले आ–आफ्नो किसिमबाट बजारीकरण गर्ने र सेवा सुविधाहरूबारे जानकारी गराउने हो । तर एकले अर्कालाई विरोध गरेर बजारमा गएको छ भने त्यो खोसाखोस भन्दा पनि मालप्राक्टिसको कुरा हो । हाम्रो कम्पनी बजारमा भ्यालु क्रियट गर्नुपर्छ, समग्र उद्योगका दायरा फराकिलो बनाउनुपर्छ भन्ने मान्यतामा छ । यसै मान्यतामा आधारित भएर हामीले बीमा जागरणको काम पनि गरिरहेका छौँ । खोसाखोस भन्दा पनि जबर्जस्ती छ ।

अहिले बैङ्कमार्फत् सङ्गठित संस्थामार्फत् बीमा गर्ने कुरा देखिएको छ । यदि बीमाको महत्वको बारेमा बुझेर सम्बन्धित ठाउँमा गएर बीमा गर्छ भने त्यो नराम्रो कुरा भएन । तर अहिले बैङ्कहरूले बैङ्कका ग्राहकहरूलाई जबर्जस्ती बीमा गराउने परिपाटी विकास भएको छ । त्यसलाई खोसाखोसको स्थिति भन्न सकिन्छ । त्यो बैङ्क र बीमा दुवैका लागि भोलिको दिनमा दिगो हुन्छ जस्तो मलाई लाग्दैन । बैङ्कले आजको दिनमा जबर्जस्ती पोलिसी बिक्री गरेका छन् । भोलि त्यो ग्राहक बैङ्कमा नरहेको अवस्थामा अथवा ऊसँगको कारोबार सकियो भने उसले बीमालाई निरन्तरता नदिन पनि सक्छ । त्यसमा बैङ्कले बाध्य पार्न सक्दैनन् । भोलि त्यस्ता पोलिसी ल्याप्स हुन सक्छन् । पोलिसी ल्याप्स हुँदा र बैङ्कले ती मानिसहरूलाई तनाव दिइरह्यो भने बैङ्कले आफ्ना ग्राहक पनि गुमाउने स्थिति रहन्छ । अर्को, बीमा कम्पनीहरूले लिएको जुन पोलिसी छ, त्यो जहाँबाट लिए पनि बिजनेस याक्युजिसन कष्ट एउटै हो । भोलि ग्राहकले त्यसलाई निरन्तरता नदिए त्यो पनि दिगो हुँदैन । त्यस कारण बैङ्क र बीमा दुवैको पार्टमा त्यो ग्राहकको अनुकूलतामा छ जस्तो मलाई लागेको छैन । त्यो हिसाबमा जबर्जस्ती गरेको जस्तो देखिन्छ ।

बीमा सचेतना कसरी बढाउन सकिएला ?

मानिसले बीमाबारे बुझेकै छैनन् । बीमाबारे बुझेका र बीमा गर्छु भन्नेलाई पनि वित्तीय पाटोबारे जानकारी छैन । यस विषयमा नियामनकारी निकाय र राज्यबाट हुनुपर्ने भनिएको बीमा शिक्षाका कार्यक्रमहरू भइरहेका छन् तर सबै ठाउँमा पुगिरहेका छैनन् । त्यसले गर्दा पनि बीमा हुन नसकेको हो । अर्को, मानिसले अफोर्ड गर्नै नसकेर पनि हो । बीमाले दुःख परेको बेला अथवा मृत्यु हुँदा भुक्तानी गर्ने हो भन्ने छ । मृत्यु भन्ने अवश्यम्भावी हुँदाहुँदै पनि मानिसले त्यसलाई नकार्न चाहन्छ । त्यही कारण हामीले बीमाबारे बुझाउन सकेनौँ । हामीले बजारीकरण गर्दा भन्ने भनेको बीमाले आर्थिक सुविधा प्रदान गर्छ । दुःखको बेला सहायता दिन्छ । फेरि बीमाले गर्ने पनि त्यही नै हो । बीमा अवधिभित्र कुनै व्यक्तिको मृत्यु भयो भने आश्रित परिवारलाई र असक्त भएको खण्डमा बीमितलाई आर्थिक सहायता प्रदान गर्छ । त्यस्तै, कुनै बच्चाको बीमा गर्दा बच्चाको अभिभावक अथवा प्रस्तावकको मृत्यु भए त्यो बच्चाको शिक्षादीक्षाको रूपमा आवश्यक पर्ने खर्च मासिक रूपमा कम्पनीले बेहोर्छ । साथै, उच्च शिक्षा हासिल गर्ने बेला त्यो बच्चालाई एकमुष्ट रकम उपलब्ध गराउँछ ।

बीमाले दुःख परेको बेला अथवा मृत्यु हुँदा भुक्तानी गर्ने हो भन्ने छ । मृत्यु भन्ने अवश्यम्भावी हुँदाहुँदै पनि मानिसले त्यसलाई नकार्न चाहन्छ । त्यही कारण हामीले बीमाबारे बुझाउन सकेनौँ ।

मृत्यु भएको अवस्थामा पनि र मृत्यु नभएको अवस्थामा पनि अभिभावकको जुन दायित्व हो, त्यो दायित्व निर्वाह गर्न आवश्यक पर्ने रकम बीमाले बालबच्चाको बीमाबाट उपलब्ध गराउँछ । बीमामा अनिवार्य बचतको कुरा आउँछ । मानिसले अनिवार्यरूपमा वार्षिक तीन–चार हजार बचत गर्न थाल्यो भने त्यो याकुमुलेसन हुँदै जान्छ । याकुमुलेटिभ बेनिफिट बीमा कम्पनीहरूले दिन्छन् । त्यति मात्र नभई तिरेको पैसाबाट आर्जन हुने जुन पैसा छ, त्यो पनि बोनसको रूपमा थप गरेर बीमितलाई दिन्छ । त्यो मानेमा यो सर्वोत्तम बचत पनि हो । एउटै बीमाबाट जोखिमको सुरक्षण र बचत हुने रहेछ । त्यस कारण हामीले बीमाको महत्व यसरी बुझाउने गरेका छौँ ।

फेक पोलिसीको कारण समग्र उद्योगलाई नै असर गरेको छ भन्ने गरिन्छ । यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला ?

बीमामा त्यस्तो पोलिसी इस्यू हुने सम्भावना हुँदैन । हामी हरेक शाखाबाट पोलिसी इस्यू गर्छौं । त्यसमा पहिले कस्टोमर आइडेन्टिफिकेसनको कुरा आउँछ । त्यसमा प्रपोजल फर्ममार्फत् सबै विवरण आइसकेपछि प्रिमियम आउँछ । प्रिमियम डिपोजिट नगरी बीमा लेख जारी गर्न पाइँदैन । प्रिमियम लिएर बीमा लेख जारी गर्ने मुख्य प्रक्रिया हो । त्यसमा नक्कली पोलिसी इस्यू गर्ने सम्भावना नै रहँदैन । हामी प्रत्येक दिन ओपनिङ र क्लोजिङ गर्छौं ।
विगतमा वैदेशिक रोगजारमा जानेहरूका लागि अनिवार्य बीमा गर्नुपर्ने अवस्था छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा नगरी श्रम स्वीकृति पाइँदैन । श्रम स्वीकृती लिने प्रयोजनका लागि केही कम्पनीहरूका नक्कली पोलिसीमा नक्कली छाप लगाएर पेस गरेको भन्ने घटना बाहिर आएको थियो । त्यो वैदेशिक रोजगार बीमासँग सम्बन्धित विषय हो । मलाई लाग्छ, त्यो छानबिनको क्रममा छ । ठगेर आर्थिक लाभ लिने उद्देश्यले त्यस्ता क्रियाकलाप गर्ने मानिसहरू पक्राउ परिसकेका छन् । अब वैदेशिक रोजगार बीमालाई यसरी लैजानुहुँदैन । सबै कम्पनीलाई वैदेशिक रोजगार बीमा गर्न दिँदा यस्तो भएको हुनाले अहिले नियमनकारी निकायले वैदेशिक रोजगार बीमाको सन्दर्भमा छुट्टै व्यवस्था गरेको छ र करेक्सनकै बाटोमा लगेको छ । यस्ता कुरालाई नियन्त्रण गर्ने काम बीमा समितिको दायराभित्र पर्छ । यस्तो क्रियाकलापमा जानुहुँदैन । यो गैह्रकानुनी हुन्छ र बीमाको बारेमा बताउने दायित्व बीमा कम्पनीहरू, त्यहाँका कर्मचारी र अभिकर्ता सबैको यसमा समान दायित्व हुन्छ ।

 

अहिले नियमनकारी निकायले वैदेशिक रोजगार बीमाको सन्दर्भमा छुट्टै व्यवस्था गरेको छ र करेक्सनकै बाटोमा लगेको छ ।

जागिरको लागि पनि बैङ्कमा जति आकर्षण छ, बीमामा किन हुन नसकेको होला ?

बीमाले उपलब्ध गराउने सेवा र बैङ्कले उपलब्ध गराउने सेवामा तात्विक र सैद्धान्तिक रूपमा भिन्नता छ । बैङ्किङ क्षेत्रमा प्रवेश गरिसकेपछि उसले सर्वसाधारणसँग डिलिङ गर्नुपर्दैन । ऊ डोमिनेन्ट पोजिसनमा रहन्छ, मान्छे आफैँ आउँछ । बाहिर जान नपर्ने, कार्यालयभित्रै रहेर काम गर्न पाइने, सेवा–सुविधालगायतका यावत् कुराले त्यहाँ मानिसहरूको आकर्षण भएको होला । तर बीमामा त त्यसको ठीक विपरीत हुन्छ । बीमामा काम गर्ने मानिस सबैभन्दा पहिले सोसलाइज हुन निकै जरुरी छ । त्यसपछि गेटअपको कुरा पनि आउँछ । अफिसियल डेस कोडमा हिँडेर मात्रै बीमा गराउन सकिँदैन । हरेक वर्ग र समुदायका मानिसमा पुग्नुपर्छ । त्यस समुदायका मानिससँग भिजेर उनीहरूलाई बीमाको बारेमा बुझाएर बीमा गराउन सक्ने मात्र बीमाको लागि दक्ष जनशक्तिमा गनिन्छ । त्यही भएर पनि बीमा क्षेत्रमा मानिसको आकर्षण नभएको हुन सक्छ । बीमाको दायरा बढ्दै जाँदा, राज्यले प्राथमिकता दिँदा, बीमा अनिवार्य भन्ने कुराहरू, सामाजिक सुरक्षाका कुरा हुँदै जाँदा आममानिसले बीमालाई सर्वस्वीकृतरूपमा लिन्छन् । त्यस अवस्थामा यो क्षेत्र आममानिसको रोजाइ बन्न पुग्छ ।

बीमाको दायरा बढ्दै जाँदा, राज्यले प्राथमिकता दिँदा, बीमा अनिवार्य भन्ने कुराहरू, सामाजिक सुरक्षाका कुरा हुँदै जाँदा आममानिसले बीमालाई सर्वस्वीकृतरूपमा लिन्छन् ।

कम्पनीका आगामी योजनाहरू के छन् ?

सबैभन्दा पहिले हरेक नेपालीलाई सम्बोधन गर्ने गरी सबै ठाउँमा बीमा सेवा पु¥याउने नै हो । त्यसका लागि बीमा लेखहरू विकास गर्ने नै हो । अर्को, प्रतिस्पर्धी बजारमा बीमा व्यवसायलाई विस्तार गर्ने क्रममा सन्तुलित किसिमले बीमा जागरणको कार्यलाई निरन्तरता दिन्छौँ । यससँगै हाम्रा केही व्यवस्थापकीय कामहरू छन् । हामी पब्लिक सेयर जारी गर्ने सन्दर्भमा पनि काम गरिरहेका छौँ । मुख्य कुरा यिनै हुन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री