शुक्रबार, ८ चैत २०७५

गोमुख गङ्गाको शिर वरूण नदी भएको भन्दै स्थानियले बिजुली उत्पादन गर्न दिएनन्, हेर्नुहोस् के छ यसको धार्मिक महत्व ?

समयपोष्ट २०७५ फागुन २१ गते ११:००

हिमाली जिल्लाको रूपमा चिनिने पूर्वी नेपालको सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक धार्मिक महत्व बोकेको वरुण नदीबाट विद्युत् उत्पादन गर्ने भएपछि यस नदीको अस्तित्व खतरामा पर्ने भएको छ ।

मौलिक पहिचान बोकेको र अलौकिक शक्तिसमेत रहेको भनिएको नदीको संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । वरूण नदीबाट १३२ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न भन्दै एक सरकारी टोली वरुण पुगेको छ । जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न जलविद्युत् निर्माण कम्पनी एमपिक इनर्जी प्रालिको आयोजनामा गत मङ्सिर २२ गते सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न खोज्दासमेत स्थानीयवासीले अवरोध गरेका थिए ।

स्थानीयवासीले वरुण बचाउ सङ्घर्ष समितिसमेत गठन गरेर प्रेस विज्ञप्ति जारी गर्दै विद्युत् उत्पादनको विरोधमा उत्रिएको सङ्घर्ष समितिका अध्यक्ष छिरुक भोटेले जानकारी दिए । अध्यक्ष भोटेले ऐतिहासिक महत्वको मौलिक पहिचानको अस्तित्व खलल पार्ने किसिमबाट भएका गतिविधि कुनै हालतमा मान्य नहुने बताए । ऐतिहासिक मौलिक पहिचान बोकेको धार्मिक पर्यटकीय क्षेत्र वरूण नदीबाट बिजुली उत्पादन गर्न नदिने भन्दै स्थानीयवासीले विरोध गरेका छन् ।

गोमुख गङ्गाको शिर वरूण नदी नै भएका कारण ८४ हजार पितृको उद्धारका लागि शिवजीले जटा फिँजाएर गङ्गाबाट सेचन लिएको स्थान वरुण नदी भएको पौराणिक मान्यता छ । अहिले उत्तरदक्षिण कोशी सडक निर्माणका क्रममा झरेको ढुङ्गा र बालुवाले नदी भरिएको छ । भक्तजनले पूजा गर्ने पोखरीमा नै डोजर लगाइएको छ । यसरी पौराणिक महत्व बोकेको नदीको अहिले संरक्षण नहुँदा भोलि त्यसको अस्तित्व हराउन सक्ने स्थानीयवासी बताउँछन् ।

वरुण नदीका विषयमा जानकार ताराबहादुर बुढाथोकीका अनुसार सत्य युगमा जलका देवता इन्द्रले संरक्षण गरेका चार दिक्पालमध्ये दोस्रो दिक्पालका रूपमा वरूणलाई लिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । यस नदीको पानीको रङसमेत अन्य नदीको भन्दा फरक अर्थात् नीलो छ । नदी किनारमा माघ १ गते लाग्ने मकर मेला, भोट क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाबीचमा भेटघाट गर्ने मुख्य थलोको रूपमा लिइने गरिन्छ । वरुण नदीलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीले उत्तिकै महत्वका साथ हेर्ने गर्दछन् । अरुण र वरुण नदीलाई मामा र भान्जाको समेत सङ्ज्ञा दिएको पाइन्छ ।

त्यसैगरी, भोटे सम्प्रदायमा वरूण ठेनेम्बा र हटिया ठेनेम्बा भनेर चिनिने दुई छाँगा पनि सोही नदीमा रहेका छन् । यो नदीलाई पत्थर चिरेको नदी भनेरसमेत चिनिन्छ । वरुण नदीमा माघ १ गतेका दिन मकर नुहाउने गरिन्छ । जिल्ला तथा जिल्ला बाहिरका दर्शनार्थी सो नदीमा मकर नुहाउन पुग्ने गरेका छन् । माघे सङ्क्रान्तिमा अरुण र वरुण नदीको सङ्गमस्थलमा नुहाउने परम्पराअनुसार सो ठाउँमा मकर नुहाउने चलन रहिआएको छ ।

प्रतिक्रिया