सिरहामा गोली प्रहार गरी प्रहरीले समात्यो लागूऔषध कारोबारी
समयपोष्ट
२०८२ साउन १० गते १८:१४
सिरहा प्रहरीले गोली प्रहार गरी एक भारतीय नागरिकलाई लागूऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मधुवनी ग्राम पञ्चायत, बिरपुर-९ निवासी ३८ वर्षीय श्यामसुन्दर पासवान रहेका छन्। उनको साथबाट प्रहरीले करिब ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रवक्ता विरेन्द्रकुमार पासवानका अनुसार शनिबार दिउँसो करिब ४ बजे भारतबाट बी आर ३२ एम ७३३८ नम्बरको भारतीय मोटरसाइकलमा नेपाल प्रवेश गरेका श्यामसुन्दरलाई नवराजपुर गाउँपालिका-४, कुसण्डीमा प्रहरीले रोक्न खोजेको थियो।
तर, उनी नरोकी भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको डीएसपी पासवानले बताए। पक्राउ परेका पासवानमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया