‘नेपालमा नर्सिङ्गको अवसर छैन’
म्याग्दी बेनीमा जन्मिएकी सपना छन्त्याल भर्खर मिस नेपाल पिस २०७३ मा फस्र्ट रनरअपको उपाधि जित्न सफल भएकी छन् । ओम हेल्थ क्याम्पस चाबहिलबाट नर्सिङमा प्रमाणपत्र सकेकी १९ वर्षीया छन्त्याल तीन सय नर्सहरूलाई पछाडि पार्दै फस्र्ट रनरअपको ताज भिर्न सफल भएकी हुन् । नर्सिङ अध्ययन गर्दा पनि हरेक वर्ष उत्कृष्ट डिस्टिङ्सन ल्याउन सफल सपनालाई यहाँसम्म आउन परिवारको पनि ठूलो साथ रहेको छ । पोखरास्थित रामघाट प्यारामाउन्ट पब्लिक स्कुलबाट एसएलसी सकेकी सपनालाई सानैदेखि नर्स हुने सपना थियो । अहिले उनीसँगै परिवार काठमाडौं गोंगबुमा बस्छिन् । फस्र्ट रनरअप सपनासँग सरोज ढुंगेलले गरेको कुराकानी :
मिस नेपाल पिसमा भाग लिएर के पाउनुभयो ?
हाम्रो पेसा नर्सिङ हो तर पेसाभन्दा बाहेक पनि धेरै क्षेत्रको विषय बुझ्ने अवसर मिल्यो । पहिलेपहिले जोकोही सँग बोल्न पनि डर लाग्थ्यो । मिस नेपाल पिसमा भाग लिइसकेपछि नेताको झैं भाषण गर्न सक्छु भन्ने कन्फिडेन्स बढेको छ । कसरी लिड गर्न सकिन्छ भन्ने विषयमा सिक्ने अवसर मिल्यो । अहिले हजुरले अन्तर्वार्ता लिँदैहुनुहुन्छ । यदि मैले मिस नेपाल पिसमा भाग नलिएकी भए कसरी हजुरले मेरो अन्तर्वार्ता लिन सक्नुहुन्थ्यो र ? त्यसैले पेसाभन्दा बाहेक धेरै विषयमा बुझ्ने अवसर जुर्यो । बस्न सबैलाई आउँछ तर कसरी बस्ने, बोल्न सबैलाई आउँछ कसरी बोल्ने भन्नेदेखि लिएर सबै कुरा जान्ने मौका मिलेको छ ।
भागमात्र लिने उद्देश्य थियो कि यहाँसम्म आउछु जस्तो लागेको थियो ?
अवश्य पनि भाग लिइसकेपछि केही न केही आशा त सबैमा हुन्छ । मलाई पनि त्यो आशा पक्कै थियो । मैले आफूलाई माथि बढाएको पनि थिएँ । पक्कै पनि टपटेनमा चाहिँ आउछु भन्ने लागेको थियो ।
अबको योजना के छ ?
अब आएका अवसरहरूलाई अगाडि बढाउँछु । फस्र्ट रनरअप भएपछि हस्पिटलमा मात्र सीमित भएर बस्दिनँ । ब्रेस्ट क्यान्सर फाउन्डेसनलगायतका संस्थासग एसोसिएट भएर अगाडि बढ्छु । समाजसेवालाई अगाडि बढाउने लक्ष्य छ । अध्ययनलाई पनि अगाडि बढाउँछु ।
नर्सिङ पेसा र मिस पिस छुट्टै पाटा हुन् । कसरी संगसंगै अगाडि बढाउन सकिन्छ ?
सकिन्छ । पेसा एउटा ठाउँमा छ । पेसालाई मुख्य केन्द्रबिन्दुमा राखेर अन्य काम गर्न नसकिने होइन । योभन्दा पहिले पनि म रक्तदान, स्वास्थ्य शिविरजस्ता विभिन्न सामाजिक कार्यमा सक्रिय भएर लागेकी हुँ । त्यसैले म मेरो पेसा र अन्य कामलाई पनि सँगसँगै अगाडि बढाउने उद्देश्यका साथ अघि बढेकी छु ।
नर्सिङबाहेक मोडलिङमा जाने इच्छा पनि छ ?
अहिले नै त्यस्तो इच्छा मसँग छैन । अवसर आए भने राम्रोखालको म्युजिक भिडियोहरूमा काम गर्छु ।
त्यसका लागि परिवारले सपोर्ट गर्नुहुन्छ त ?
मिस नेपाल पिसमा पनि म मेरो भाइ, बुवा, ममी र अन्य नातेदारले गर्दा आएको हुनाले मैले जुन बाटो रोज्छु, त्यसमा मेरो परिवारले बाधा गर्नुहुन्छ जस्तो मलाई लाग्दैन । मलाई यहाँसम्म ल्याउनलाई मेरो परिवारको पनि ठूलो देन रहेको छ । मैले नराम्रो कामका लागि परिवारसँग प्रपोज गर्ने होइन, त्यसैले राम्रो कामका लागि फुल्ली सपोर्ट पाउँछु ।
आफैं सामाजिक संस्था खोलेर समाजसेवामा जाने विचार छ ?
स्वास्थ्य पेसा भएकाले म भविष्यमा आफैं खोल्ने विचार पनि गरेकी छु । अहिलेलाई भने अन्य संघ–संस्थासँग मिलेर समाजसेवा गर्नेछु । अहिले त भर्खर नर्समा पासआउट हुँदै छु ।
यो प्लेटफर्मलाई कसरी लैजानुहुन्छ ?
धेरै मानिसले चिन्ने मौका पाए । यो अवसरलाई चुनौतीका रूपमा लिएर अघि बढ्नेछु । मिस नेपाल फस्र्ट रनरअप हुनु मेरा लागि ठूलो उपलब्धि हो । बिस्तारै मेरो सोच गैरसरकारी संस्थामा काम गर्ने र समाजसेवालाई अगाडि बढाउने लक्ष्य रहेको छ ।
नर्सिङ अध्ययनपछि त धेरै नर्सहरू विदेश जान्छन्, तपाँईको सोच के छ नि ?
कोही–कोही त विदेश जानैका लागि नर्सिङ्ग अध्ययन गर्छन् । नेपालमा अवसरहरू पनि छैन । त्यसैले बाध्यताले गर्दा बिदेसिएका हुन् । जहाँसम्म मेरो सवाल छ, म विदेश जान्न । नेपालमै केही गर्ने इच्छा छ । मिस नेपाल पिस मेरा लागि अवसर पनि हो । सकें भने त पढाइ सकेर लोकसेवाको तयारी गर्ने विचारमा छु ।
प्रतिक्रिया