शुक्रबार, २ जेठ २०८२

नेपाल लाइफद्धारा सगरमाथामा फोहोर संकलन गर्न राउन्ड टेबल नेपालसँग सहकार्य

समयपोष्ट २०८१ चैत १५ गते १३:४५

Advertisement

नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले सगरमाथा क्षेत्रमा थुप्रिएको फोहोर संकलन गर्न राउन्ड टेबल नेपालसँग सहकार्य गर्ने भएको छ। शुक्रबार काठमाडौंको ग्लोबल कलेजमा आयोजित एक विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष प्रजेज चापागाईंले संयुक्त सहकार्यको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

उक्त समारोहमा राउन्ड टेबल नेपालका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेपालका प्रमुख कार्यकारी अधिकृत अच्युत कुमार सोती, राउन्ड टेबल नेपालका अध्यक्ष प्रजेज चापागाईं, निर्माणका अध्यक्ष नितेश कुमार चापागाईं र यो योजनाको प्राविधिक सहयोगीको रूपमा सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि ल्हाक्पा शेर्पाले संयुक्त रूपमा भाग लिएका थिए।

नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउन्ड टेबल नेपाल र प्राविधिक साझेदार सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) सँग सहकार्य गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सगरमाथा नेपालको मात्र नभई विश्वकै गहना भएकोले यसको संरक्षण गर्नु आवश्यक रहेको बताए।

राउन्ड टेबल नेपालका अध्यक्ष प्रजेज चापागाईंले सगरमाथा क्षेत्रमा हालसम्म ५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य राखिएको र आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको जानकारी दिए। उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

Advertisement

राउन्ड टेबल नेपालका निर्माण अध्यक्ष नितेश कुमार चापागाईंले सगरमाथा विश्वको आकर्षण भएकोले यहाँको फोहोरसँगै हिमालको संख्यासमेत बढ्ने क्रम तीव्र रहेको बताए। उनले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायले सफाइ प्रयास जारी राखे पनि प्रभावकारी हुन नसकेको भन्दै यो अभियानले ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। फोहोर संकलन हुने सामग्रीलाई आधार शिरबाट तल ल्याउने र नसक्ने फोहोरलाई ३० किलोको थैला बनाई काठमाडौं ल्याइने उनले बताए। साना प्रयासले ठूलो प्रभाव पार्ने भन्दै चापागाईंले नेपाल लाइभलाई अभियानमा सहभागी भएकोमा धन्यवाद दिए।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि ल्हाक्पा शेर्पाले यो अभियान लामो समयदेखि सुरु हुनु सकारात्मक रहेको बताए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सगरमाथाको फोहोरबारे नकारात्मक समाचार आउन थालेको उल्लेख गर्दै यो अभियानले समस्या समाधानमा महत्त्वपूर्ण योगदान दिने उनको भनाइ थियो। नेपाल सरकारले आधार शिरभन्दा माथि जाने प्रत्येक हिमाल आरोहीले कम्तीमा १ किलो फोहोर ल्याउनुपर्ने नियम बनाए पनि पूर्ण समाधान नभएको उनले बताए।

सगरमाथा, विश्वको सबैभन्दा अग्लो हिमाल, हरेक वर्ष हजारौं पर्वतारोहीलाई आकर्षित गर्ने गरेको भए पनि मानव गतिविधिको वृद्धिसँगै फोहोरको डंगुर बढ्दै गएको छ। टुटेका टेन्ट, फालिएका सिलिन्डर, खानेकुरा प्याकेजिङ, मानव फोहोर र पर्वतारोहण उपकरणहरू हिमालमा छोडिएको कारण यो “विश्वको सबैभन्दा अग्लो फोहोर थुप्रो” बन्न नदिन सक्रियताको साथ यो सहकार्य गरिएको सोतीले बताए।

उक्त समारोहमा नेपाल लाइभका कर्मचारी, राउन्ड टेबल नेपालका पदाधिकारी र विभिन्न सञ्चारमाध्यमबाट सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री