मंगलबार, ३१ असार २०८२

भारतको सहयोगमा सुनसरीमा बन्ने श्री त्रिभुवन माध्यमिक विद्यालय भवनको शिलान्यास

समयपोष्ट २०८१ फागुन २७ गते २०:०६

Advertisement

सुनसरीको इनरुवा नगरपालिकामा रहेको श्री त्रिभुवन माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको शिलान्यास आज सम्पन्न भएको छ।

शिलान्यास सांसद ज्ञानेन्द्रबहादुर कार्की, भारतीय दूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तव र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त रूपमा गर्नुभयो। उक्त अवसरमा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, सामाजिक कार्यकर्ता, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको पनि उपस्थिति रहेको थियो।

श्री त्रिभुवन माध्यमिक विद्यालयको भवन निर्माण ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा हुन गइरहेको छ। यो परियोजनाको कुल लागत २४.८३ मिलियन नेपाली रुपैयाँ रहेको छ। भारत सरकारको अनुदानमार्फत दुई तले विद्यालय भवन र अन्य सम्बन्धित सुविधाहरू निर्माण गरिनेछ। यो परियोजना इनरुवा नगरपालिकामार्फत कार्यान्वयनमा ल्याइएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) हो।

श्री त्रिभुवन माध्यमिक विद्यालय सन् १९५८ मा स्थापना भएको हो। यो विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुन्छ। हाल यहाँ करिब ७५० विद्यार्थी अध्ययनरत छन्, जसमध्ये ५५% छात्रा छन्।

Advertisement


कार्यक्रममा भारतीय दूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले सन् २००३ यता भारत सरकारले नेपालमा ५६३ वटा HICDP परियोजनाहरू सञ्चालन गरेको जानकारी दिनुभयो। यी परियोजनाहरू नेपालका सबै प्रदेशमा फैलिएका छन्, जसमा कोशी प्रदेशमा ९१ परियोजना समावेश छन्। यसबाहेक, भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ एम्बुलेन्स र ३०० स्कूल बस उपहारस्वरूप प्रदान गरेको छ । जसमध्ये कोशी प्रदेशमा १४६ एम्बुलेन्स र ४८ स्कूल बस वितरण गरिएको छ। उहाँले भारत-नेपाल विकास साझेदारीको वृद्धि र विविधीकरणप्रति खुसी व्यक्त गर्नुभयो र नेपाल सरकारको प्राथमिकताअनुसार यो साझेदारीलाई थप सुदृढ गर्ने भारत सरकारको प्रतिबद्धता दोहोर्‍याउनुभयो।

सांसद, इनरुवा नगरपालिकाका मेयर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अन्य सरोकारवालाहरूले भारत सरकारले नेपालका जनताका लागि प्रदान गरेको विकास सहयोगको प्रशंसा गर्नुभयो। उनीहरूले निर्माण हुने यो पूर्वाधारले श्री त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुग्ने र नेपालको पूर्वी क्षेत्रको शैक्षिक विकासमा योगदान गर्ने विश्वास व्यक्त गरे।

नजिकका छिमेकीका रूपमा भारत र नेपालबीच बहुक्षेत्रीय सहकार्य जारी छ। HICDP को कार्यान्वयनले नेपाल सरकारको प्राथमिकता क्षेत्रमा पूर्वाधार वृद्धि गरी जनताको विकास र समृद्धिमा सहयोग पुर्‍याउने भारत सरकारको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री