लक्ष्मी सन्राइज बैंकको अगुवाइमा १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी सम्झौता

लक्ष्मी सन्राइज बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा.लि. बीच मुस्ताङ र म्याग्दी जिल्लामा कालीगण्डकी नदीमा निर्माण हुने १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ।
यो आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको छ। यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले २०७५ फागुन २७ मा विद्युत विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरेको थियो भने २०७९ फागुन १७ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता गरेको थियो। आयोजनाको मुख्य प्रवर्द्धकको रूपमा संघई ग्रुप, विशाल ग्रुप र ज्ञानेन्द्र लाल प्रधान रहेका छन्।
परियोजनाको निर्माणका लागि लक्ष्मी सन्राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले कुल लागतको ७५ प्रतिशत अर्थात् २९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। बाँकी २५ प्रतिशत रकम भने कम्पनीका संस्थापक र सर्वसाधारणबाट जुटाइनेछ। लक्ष्मी सन्राइज बैंकले ९ अर्ब रुपैयाँ प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता जनाएको छ भने सह-अगुवा बैंकहरू ग्लोबल आइएमइ बैंकले ७ अर्ब १२ करोड ६० लाख र सिद्धार्थ बैंकले ५ अर्ब रुपैयाँ लगानी गर्नेछन्। अन्य सहभागी बैंकहरूमा हिमालयन बैंक (३ अर्ब), नेपाल एस.बि.आइ. बैंक (३ अर्ब) र एभरेष्ट बैंक (२ अर्ब ५० करोड) रहेका छन्।
यो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि वार्षिक १०५६ गिगावाट आवर ऊर्जा राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। यो परियोजना सञ्चालनमा आएपछि नेपालको ठूलो स्वतन्त्र ऊर्जा उत्पादकमध्ये एकको रूपमा स्थापित हुनेछ।




























प्रतिक्रिया