शनिबार, १५ वैशाख २०८१

सुन तस्करी काण्ड : प्रहरीलाई कारबाही गर्न गठित समितिले अझै शुरू गरेन काम

पत्रपत्रिका २०८० चैत १५ गते ७:२४

Advertisement

सुन काण्ड अनुसन्धानमा लापरबाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कारबाही गर्न गठित समितिले काम शुरू गर्न ढिलाइ गरेको छ। गठन भएको पाँच दिन बितिसक्दा पनि समितिले काम शुरू नगरेको पाइएको हो।

सुनको अवैध पैठारीसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले गत १ चैतमा प्रतिवेदन बुझाएको थियो।

सो प्रतिवेदनमा अनुसन्धानमा केही आरोपीलाई मिलेमतोमा जोगाउन खोजेको भन्दै कारबाही सिफारिस गरिएको थियो । तर, कुन किसिमको कारबाही गर्ने भन्ने प्रतिवेदनमा नभएकाले अध्ययन गर्न मन्त्रालयको कानुन महाशाखाका प्रमुख भरतमणि रिजालको संयोजकत्वमा समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ।

समितिको सदस्यमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल र गृह मन्त्रालयको प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही रहनुभएको छ।

समिति गठन गरेको थाहा पाएको तर काम थालिनसकेको जिकिर गर्दै समितिका संयोजक रिजालले भन्नुभयो– ‘समितिको पहिलो बैठक पनि बसेको छैन । बैठक बसेर यसको कार्यक्षेत्र, गर्नुपर्ने काम निक्यौल गरी कार्यविधि तय गर्न बाँकी नै छ।’

गत साउन २ मा राजस्व विभागले बरामद गरेको ब्रेक सुमा लुकाइएको ६० किलोभन्दा बढीको सुन र विद्युतीय चुरोट (भेप) मार्फत् भएको ९ किलो सुन तस्करी प्रकरण अनुसन्धानका लागि सरकारले उक्त आयोग गठन गरेको थियो।

आयोगले त्यसको छानबिन गरी बुझाएको प्रतिवेदनमा अनुसन्धानमा प्रहरी अधिकारीले लापरबाही उल्लेख गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, प्रहरी उपरीक्षक सञ्जयसिंह थापा तथा प्रहरी नायब उपरीक्षकद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि कारबाही सिफारिस गरेको थियो। आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री