शनिबार, १५ वैशाख २०८१

कुनै पनि बीमा कम्पनीले बीमालेख बेचेर मुनाफा कमाउने होइन

समयपोष्ट २०८० चैत १४ गते १२:१६

Advertisement

अहिले विश्वमै आर्थिक मन्दी छ । त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको छ । मन्दीले निर्जीवन बीमा क्षेत्रलाई कत्तिको असर गरेको छ ?

विश्वव्यापी मन्दीको असर नेपालमा परेकै छ । नेपाल पनि त्यसबाट अछुतो रहने कुरै भएन । कोरोबाट भर्खरै उठ्न लागेको अर्र्थतन्त्र, रुस–युक्रेन युद्ध, निजी क्षेत्र, बैङ्क, वित्तमा देखिएका समस्यालगायतले असर गरेकै छ । त्यसबाहेक नेपालमा राजनीतिक स्थिरता भएन । नयाँ लगानीमा आकर्षण देखिएन । अघिल्लो वर्षको तुलनामा यो वर्ष घटेको छ । जीवनबीमाको अवस्था त भयावह नै देखिन्छ । निर्जीवनबीमामा पनि उत्साहित हुनुपर्ने अवस्था छैन ।

कुनै बेला बैङ्कमा लिक्विडिटी भएन । लिक्विडिटी भए पनि ऋण लिने व्यापारी व्यवसायीको कन्फिडेन्ट भएन, जसले गर्दा अर्थतन्त्र शिथिल हुन पुग्यो । शिथिल अर्थतन्त्रको असर स्वाभाविक रुपमा बीमा उद्योगमा पर्ने नै भयो । निर्जीवन बीमा व्यवसायमा जति उत्साह आउनुपर्ने हो, आउन सकेको छैन ।

बैङ्किङ क्षेत्रमा खराब कर्जा तथा गैरबैङ्किङ सम्पत्ति थुप्रिएको छ । यसले बीमा व्यवसायमा कत्तिको असर गरेको छ ?

बैङ्क र बीमा एकआपसमा अन्तरसम्बन्धित छन् । हामीले गर्ने बीमा ७० प्रतिशत हिस्सामा बैङ्क–वित्तीय संस्थाको सहभागिता रहन्छ । जति पनि ठूला परियोजना, व्यापार–व्यवसाय छन्, तिनमा बैङ्क जोडिएकै हुन्छ । त्यसमा बैङ्कको लगानी रहन्छ नै । बैङ्कले गरेको लगानीभन्दा थप मुनाफा गर्नु नै बैङ्कको उद्देश्य हो । बैङ्कले लगानी वृद्धि नगर्दा, लगानीकर्ताले ऋण नखोज्दा त्यसको प्रत्यक्ष असर बीमा व्यवसायमा पर्छ ।

कुनै पनि बीमा कम्पनीले बीमालेख बेचेर मुनाफा कमाउने होइन । पैसा कमाउने भनेको लगानीबाट हो । नियमक निकायको नियमअनुसार केही रकम बैङ्क–वित्तीय संस्थामा फिक्स्ड डिपोडिटमा राख्नुपर्छ । एकातिर व्यवसाय घटिरहेको छ । त्यसरी राखिएको फिक्स्ड डिपोडिजको व्याज पनि घटिरहेको छ । यसले गर्दा बीमा व्यवसाय दोहोरो मारमा परिरहेका छन् । त्यसबाहेक बीमा कम्पनीले सेकेण्डरी मार्केटमा लगानी गरेका छन् । त्यसमा पनि राम्रो अवस्था देखिँदैन । यी सबै कारणले यो वर्ष बीमा कम्पनीलाई गाह्रो वर्ष हुने देखिन्छ ।

मर्जरपछि बीमा व्यवसायमा जति उत्साह आउनुपर्ने थियो, त्यति आउन सकेन भनिन्छ । तपाईंहरु पनि मर्जमा जानुभयो । यसबारेमा के भन्नुहुन्छ ?

मर्जरले उत्साह ल्याएन भनेको मैले पनि सुनेको छु । यदि मर्ज नगरेको भए के हुन्थ्यो ? नियामक निकायले चुक्तापुँजी वृद्धि गर्न भनेको थियो । त्यसमा दुईवटा विधि मात्र तोकियो । कि राइट सेयर जारी गर कि मर्ज गर । राइट सेयरबारे पोजेटिभ नभएको म्यासेज आयो । मर्ज नगरेको भए कसरी पुँजी वृद्धि हुन्थ्यो ? यस बारेमा पनि ध्यान दिनुपर्छ ।

मर्जरसँगै पुँजी मात्रै आएन, बिजनेश पनि आयो । यो राम्रो भयो । दुईटा कम्पनीमा भएका राम्रा कुरालाई संस्थागत गर्ने र नराम्रा कुरालाई हटाउने हो । संस्थागत हुने कुरा एकैदिनमा हुने होइन । हिजोका दिन एउटै कम्पनीका धेरै शाखा थिए होलान्, आज मर्ज भए । कर्मचारी कम भए पुग्ने अवस्था आयो । यसमा केही समस्या अवश्य आयो होला ।

तर हिमालय एभरेष्टको कुरा गर्दा, मर्जका कारणले कसैको पनि रोजगारी गुम्दैन । हामीले सबै कर्मचारीलाई व्यवस्थापन ग¥यौं । मर्जपछि बिजनेश बढेन । तर, मर्ज गर्नुभन्दा अघिको तुलनामा तीन सय प्रतिशत नाफा बढ्यो । हिमालय एभरेष्टको हकमा मर्जपछि उत्साह बढिरहेको छ । आज हाम्रा कर्मचारी आफ्नो कम्पनीप्रति विश्वसनीय हुनुहुन्छ । आत्मविश्वास थपिएको छ । हामी सबै एक–डेढ सय करोडको कम्पनीमा रमाएका थियौं । एकैचोटि चार सय करोडको कम्पनी हुँदा त्यसमा अभ्यस्त हुन केही समय लाग्छ । तर, सिनर्जी बिस्तारै आउँछ ।

नेपालजस्तो देश, जहाँ पुँजी अभाव छ, त्यस्तो देशमा धेरै कम्पनी हुनुभन्दा मर्ज गर्नु राम्रो हो । त्यसो भयो भने पुँजीको पनि सदुपयोग हुन्छ । भोलिका दिनमा २५० करोडभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीले जस्तोसुकै सङ्कट व्यहोर्न सक्छन् भन्ने चाहिँ स्थापित भएको छ ।

पुँजी बढाएर व्यवसाय बढाउन सकिन्छ भन्ने नियामक निकायको मान्यता थियो तर त्यो मान्यताले काम गरे जस्तो त देखिएन ?

नियामक निकायको सोचको बारेमा त के भन्नु र मैले । एउटा राम्रो कुरा के हो भने पुँजी वृद्धिले कम्पनी ठूलो भयो । बीमा कम्पनीले जोखिम बढाएका छन् । प्रत्येक कम्पनीमा प्रमुखको ठूलो भूमिका हुन्छ । एकैचोटि छोड्न मिल्दैन । फाइनल व्यालेन्स गर्दै अघि लैजानुपर्छ । लगानीकर्ता निराश हुने अवस्था आउन दिनु हुँदैन ।

मर्ज सजिलो छैन । फरक सोच–विचार र फरक–फरक व्यवसाय र कल्चरका मान्छेलाई एकै ठाउँमा ल्याएर काम गर्दा कत्तिको सहज महसुस गर्नुभएको छ ?

मेरो नियति नै भन्नुपर्छ । जुन संस्था बिग्रन्छ, त्यस बेला म त्यहाँ पुग्दो रहेछु । म एनएलजी पुगेँ । म पुग्दा त्यो धरापमा थियो । नौ वर्ष काम गरें । आजको दिनमा एनएलजी इन्स्योरेन्सको सेल्स ‘स्मुथ्ली’ चलेको छ । त्यसपछि नेपाल इन्स्योरेन्समा गएँ । त्यसमा ठूलो ‘कल्चरल’ परिवर्तन गरियो । त्यहाँ पनि सफल भएँ । अहिले हिमालयमा आइपुगें । मर्जमा गइयो । मर्ज सजिलो विषय होइन । त्यही भएर हुन सक्छ, तत्कालीन व्यवस्थापनले यहाँ आउनु अनुरोध गर्नुभयो ।

मर्ज भनेको संयुक्त ब्यालेन्ससिटको कुरा मात्र होइन । लगानीकर्ता फरक–फरक छन् । तीस वर्षदेखि अस्तित्वमा रहेका कम्पनी छन् । फरक–फरक तौर–तरिका भएका कम्पनी थिए । कर्मचारी पनि त्यहीअनुसार हुनु स्वाभाविक हो । कर्मचारीलाई एकआपसमा घुलमिलको अवस्था बनायौं । हामीले भोलिको दिन हामी एकै हौं, म फलानो, म फलानोको हुँ भन्नु पर्दैन भन्ने गरी तालिम सञ्चालन गर्‍यौं । मर्जको कारणले कसैले घर जानु पर्दैन, सेवासुविधा घट्दैन । तर, अब तपाईंहरुले हिजोको भन्दा फरक ढङ्गले काम गर्नुपर्छ भन्ने बतायौं । यी कारणले पनि हामीलाई केही सहज भएको हुन सक्छ ।

निर्जीवनबीमा क्षेत्रको ठूलो हिस्सा मोटरबीमामा छ । सबै कम्पनी त्यहीँ झुम्मिएका छन् । नयाँ तथा इनोभेटिभ प्रडक्ट आउन किन सकिरहेका छैनन् ?

यसका दुईवटा पाटा छन् । पृथ्वीमा जति चिज छन्, ती सबैको बीमा हुन्छ । त्यही भएर हामीले गाई–भैंसी सबैको बीमा गराएका हुन्छौं । समयको मागअनुसार पोलिसी परिवर्तन हुँदै जान्छ । हिजोका दिनमा ल्याप्चे लगाउनुपर्ने, अफिसमै पुग्नुपर्ने अवस्था थियो । आज त्यो परिवर्तन भएको छ । बीमा पोलिसी पनि त्यहीअनुसार परिष्कृत हुँदै जान्छ । हिजो बीमा मेरो लागि होइन, साहुका लागि हो भन्ने थियो । तर, आज जोखिमका सवालमा ख्याल–ख्याल गर्नुहुँदैन, भवितव्य लाखमा एकलाई पर्ला, बीमा गर्नैपर्छ भन्ने जागरण आएको छ । पोलिसी क्रमशः परिष्कृत हुँदैछन् । गर्ने मोटर बीमा नै हो । इनोभेशन वितरणमा आयो, भुक्तानीमा आयो, अफिसमा आउन नपर्ने गरी आयो । नयाँ प्रोडक्ट ल्याउने कुरा एउटा हो । त्यहाँ इमोशनल कुरा आउँछ । व्यावसायिक रूपमा त्यो सफल हुन सक्छ कि सक्दैन ? त्यो महत्वपूर्ण कुरा हो ।

हिजोको दिनमा घर–सम्पत्तिको बीमा गरिन्थ्यो । आज स्वास्थ्यको बीमा गर्नुपर्छ भन्ने जागरण आएको छ । स्वास्थ्यमा धेरै प्रडक्ट छन् तर भोलि ठूला रोग लाग्यो भने घरखेत बेचेर पनि पुग्दैन । यस्तोमा व्यक्ति र संस्थाले पनि स्वास्थ्य बीमाबारे सोधखोज गरिरहेको पाइन्छ । स्थानीय निकायले पनि आफ्ना जनतालाई बीमाबारे कसरी जानकारी दिने भनेर सोचिरहेका छन् । सरकार होस् वा अन्य निकाय, बीमाबारे थप सचेत बनिरहेको हामीले महसुस गरेका छौँ ।

बीमा विश्वासको व्यवसाय पनि हो । कोभिडमा गरिएको बीमाको भुक्तानी हुन सकिरहेको छैन । कृषि बीमामा पनि समस्यै समस्या छन् । यसले बीमाको शाख गिराउँदैन ?

कोभिडको बेला कृषिबीमामा जुन शिथिलता आयो, त्यो कसको कारणले आयो ? बीमा कम्पनीले योभन्दा माथि हामी धान्न सक्दैनौं भनेका थिए । उनीहरुले भनेभन्दा बढी भुक्तानी गरिसके । राज्यले बीमा गरिदेऊ, हामी छौं भन्यो । तर, जुन अनुदान दिनुपर्ने हो, दिएन । देशले दिएको ग्यारेन्टी पूरा नभएको हो । यसलाई राज्यले पूरा गर्नुपर्छ । सरकारले आफूले भनेको काम पूरा गर्न ढिला गर्नु हुँदैन । बीमामा मात्र होइन, अन्य जुनसुकै काममा पनि राज्य जिम्मेवार हुनैपर्छ । राज्यले आफ्ना प्राथमिकता के–के हुन् ? छुट्याउनै पर्छ ।

बीमाप्रतिको विश्वास बढाउन हामी लागिरहेका छौं । कोभिड र कृषिले बीमाको विश्वसनीयतामा कमी ल्याएको पक्कै हो । सरकारले दिने अनुदान दियो भने भुक्तानी पाउनेले पाइहाल्छ । र, बिस्तारै विश्वासको वातावरण बन्छ ।

निर्जीवनबीमा कम्पनीले जलविद्युत् कम्पनीको प्रिमियम बढाएर तर्साए भन्ने गुनासो छ । यसबारेमा के भन्नुहुन्छ ?

निर्जीवनबीमा कम्पनीले तर्साएको होइन । जलविद्युत्लाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म प्रत्येक खोलाका लागि एउटै रेट छ । भूगोल फरक हुन्छ तर जोखिम भने फरक हुँदैन । त्यसैले हाइड्रो प्रोजेक्टका बीमालाई पुनर्बीमा गर्न गाह्रो भयो । उहाँहरुले दिएअनुसारको रिक्स कभर गर्न सक्ने अवस्था छैन । बीमाको आधारभूत सिद्धान्तभन्दा बाहिर जान मिल्दैन । रिक्स सकेसम्म कम लिनुपर्छ । त्यसो भयो भने मात्रै रिक्स कभर गर्न सकिन्छ । उनीहरुको रेटमा बीमा गर्न पुनर्बीमा कम्पनी तयार भएनन् । हिमाल फरक–फरक छन् । भूकम्पीय क्षेत्रमा छौं । जलवायु परिवर्तनको हिसाबले विश्वकै चौथो नम्बरको खतराको सूचीमा छौं । त्यसैले यस्तो अवस्थामा एउटै रेट लागु हुन सक्दैन । प्र्रोजेक्टअनुसार रेट निश्चित भयो भने बीमा गर्न सकिन्छ । यस क्षेत्रको पुनर्बीमा गर्नका लागि हेर र पर्ख भन्ने अवस्था छ ।

बीमा व्यवसायमा मन्दी आउँदा पनि यहाँको कम्पनीले ३०० बढी ग्रोथ गर्‍यो भन्नुभयो । यो कसरी सम्भव भयो ? कम्पनीका आगामी योजना के–के छन् ?

ग्रोथ एकै किसिमको हुनुपर्छ भनेर हामी लाग्यौं । अनावश्यक खर्चमा कटौती, मर्जरको चुनौतीलाई सहजै स्वीकारलगायतले यो सम्भव भएको हो । लगानीलाई नजिकबाट हेरिरहेका छौं । कम प्रतिफल दिएका क्षेत्रलाई के गर्ने भनेर योजना बनायौं । आजको ग्रोथ जुन छ, यसमा व्यवस्थापन, लगानीकर्तालगायत सबैको भूमिका छ । आगामी दिनमा बीमा व्यवसाय त छँदैछ, बीमाबाहेक अरु केही गर्न खोेजिरहेका छौं । भोलिका दिनमा अन्य परियोजनामा लगानीका लागि छलफल गरिरहेका छौं । समयबोध म्यागेजिनको फागुन अंकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री