शनिबार, १५ वैशाख २०८१

चराका कारण पोखरा विमानस्थलमा उडान प्रभावित

समयपोष्ट २०८० चैत ११ गते १३:४०

Advertisement

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बेलाबखत चराका कारण उडान/अवतरणमा समस्या देखिँदै आएको छ । उक्त समस्या पुनः आइतबार बिहान पनि दोहोरिएको छ ।

बिहानदेखि चराका हुल विमानस्थल परिपरि रहेका कारण कुनै पनि उडान अवतरण हुन सकेका छैनन् । चराकै कारण बिहान ११ बजेसम्म पनि रनवे खुल्न सकेको छैन । यसका कारण हवाई उडान प्रभावित भएको छ । चराहरूलाई हटाउन अहिले विमानस्थलमा रहेका सम्पूर्ण स्रोत साधन प्रयोग गरिएको विमानस्थल प्रमुख जसोदा रेग्मीले बताइन् ।

“पानी परेर दुई दिन पोखरामा मौसम ओसिलो बनेको छ । जसले गर्दा विमानस्थल आसपासमा साना–साना किरा फट्यांग्राहरूको गतिविधि धेरै बढेको छ । त्यसले गर्दा विमानस्थलमा बिहानदेखि नै चराहरू देखा परेका छन्, अहिले उडान अवतरण हुन सकेको छैन,” उनले भनिन्, “त्यसले गर्दा पोखरा विमानस्थमला विमानस्थलको रनवे क्लोज गरिएको छ । रनवे क्लोज हुँदा कुनै पनि उडान/अवतरण हुन सकेको छैन ।”

काठमाडौंबाट पोखरा गएको यतीको एक वटा र बुद्धको दुई वटा विमान काठमाडौं नै डाइभर्ट गरिएको छ । यतीको उडान नम्बर ६७३, बुद्धको उडान नम्बर ६०५ र ६५१ डाइभर्ट गरिएको हो । करिब एक घण्टा होल्ड गरेपछि विमान डाइभर्ट गरिएको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री