शनिबार, १५ वैशाख २०८१

भारत सरकारको झन्डै १४ करोड अनुदान सहयोगमा बनेको जेष्ठ वर्ण महाविहार भवनको उद्घाटन

समयपोष्ट २०८० चैत ९ गते २१:२०

Advertisement

ललितपुरस्थित नवनिर्मित जेष्ठ वर्ण महाविहार भवनको उद्घाटन गरिएको छ।

नेपालको साँस्कृतिक सम्पदा क्षेत्रका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत निर्माण गरिएको जेष्ठ वर्ण महाविहारको नयाँ भवनको नेपाल सरकार शहरी विकास मन्त्रालयका मन्त्री धन बहादुर बुढा र नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले आज संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

सो समारोहमा ललितपुर विकास समाजका अध्यक्ष बुद्घिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाता INTACH का प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपालको साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको जेष्ठ वर्ण महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब नेरु १३.७८ करोड अनुदान सहयोगमा पुनर्निर्माण भएको हो । नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले यो परियोजनाको कार्यान्वयन गरेको हो ।

शहरी विकास मन्त्री धन बहादुर बुढाले भूकम्पपछिको पुनर्निर्माणमा गरेको सहयोग र नेपालको आर्थिक विकासमा चालेको प्रयासका लागि भारत सरकारको प्रशंसा गर्नुभयो ।

राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षको रुपमा रहेको उल्लेख गर्नुभयो ।

भारत र नेपालको ऐतिहासिक साँस्कृतिक समानता र सम्पदा हाम्रा भावी पुस्ताका लागि संरक्षण गर्न आवश्यक छ । तसर्थ यस्ता सम्पदा क्षेत्रहरुको पुनस्र्थापना गर्ने साझा प्रयास रहेको छ । यो हातेमालोले दुई देशबीचको मैत्री सम्बन्धलाई मजबुत बनाउनुका साथै यसले हाम्रो साझा साँस्कृतिलाई पनि प्रतिबिम्बित गर्दछ ।

भारत सरकारले नेपालका ७ वटा जिल्लामा रहेका २८ वटा साँस्कृतिक सम्पदा स्थलको संरक्षण गर्ने प्रतिबद्घता जनाएको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत भारत सरकारले नेपालको गोरखा र नुवाकोट जिल्लामा ५०००० निजी आवास, आठवटा जिल्लामा ७१ वटा शैक्षिक संस्था तथा दशवटा जिल्लामा १३२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि सहयोग गरेको छ ।

यो परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारले गरेको प्रयासमा टेवा पुर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री