बुधबार, १२ वैशाख २०८१

तीन विद्यार्थी संगठनको गृहमन्त्रीलाई ज्ञापन

समयपोष्ट २०७४ फागुन २६ गते १३:१४

प्रमुख तीन विद्यार्थी संगठनले पछिल्ला दिनमा महिला तथा बालिकामाथिको ज्यादती बढ्दै गएको भन्दै त्यसलाई रोक्न ठोस पहल गर्नुपर्ने मागसहित गृहमन्त्री रामबहादुर थापालाई आज संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका छन् ।

Advertisement

अनेरास्ववियूका अध्यक्ष नवीना लामा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियू (क्रन्तिकारी)का अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा गएको विद्यार्थीको समूहले आज गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा २० वर्षीया छात्रामाथि भएको ज्यादती, पर्सामा गतसाता आठ वर्षीया बालिकामाथि भएको बलात्कारलगायत घटनामा संलग्न दोषीलाई तत्काल नियन्त्रणमा लिई हदैसम्मको कारबाही गर्न तथा पीडितलाई उचित न्याय र परिपूरणको प्रबन्ध मिलाउन माग गरिएको छ ।

कानुनको खुकुलोपन र राज्यको दण्डहीनताका कारण बारम्बार यस्ता घटना दोहोरिइरहेको भन्दै त्यसलाई सच्याउन विद्यार्थी संगठनले माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले बलात्कारजस्तो जघन्य अपराधका दोषीलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले बलत्कारमा संलग्नले कहीँकतैबाट उन्मुक्ति नपाउने गरी अनुसन्धान र कारबाहीका काम अघि बढाउन आफूले सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

गलत क्रियाकलापविरुद्ध सरकार र प्रतिपक्षी नभनी प्रमुख दलका सबै विद्यार्थी संगठन एउटै आवाज लिएर मन्त्रालयमा आएको देख्दा अपराधविरुद्ध लड्न आफूलाई थप ऊर्जा प्राप्त भएको उहाँको भनाइ छ ।

समाजमा रहेका विकृति, विसंगतिविरुद्ध गृह मन्त्रालयले शुरु गरेको अभियानमा सक्रिय रुपमा साथ दिन गृहमन्त्रीले विद्यार्थी संगठनका नेतालाई आग्रह पनि गर्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री