शनिबार, ८ वैशाख २०८१

सभामुखमा निर्वाचित भएपछि यस्तो आयो महराको प्रतिक्रिया

समयपोष्ट २०७४ फागुन २६ गते ९:५१

नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले जनताले निर्माण गरेको संविधान कार्यान्वयनलाई मुख्य केन्द्रमा राखेर आफूले जिम्मेवारी बहन गर्ने बताएका छन् ।

Advertisement

प्रतिनिधिसभाको आजको बैठकले उनी सभामुखमा निर्वाचित भएको औपचारिक घोषणापछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान कार्यान्वयनका लागि आवश्यकपर्ने कानून निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

सभामुख महराले भने, “सबै राजनीतिक दलले महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ, अब मुलुकलाई आवश्यकपर्ने कानून निर्माणमा मेरो प्राथमिकता हुनेछ ।”

उनले सबै नेपाली जनताको आस्था र मनोविज्ञानलाई सम्बोधन गर्ने र सबै समस्याको निकास निकाल्ने थलोका रुपमा संसद् रहेकाले त्यसलाई मनन गरेर आफू अघि बढ्ने बताए ।

निर्वाचित भएपछि महरालाई प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगातका सांसद र संसद् सचिवालयका कर्मचारीले बधाई दिएका थिए ।
यसैबीच महराले आइतबार पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट महरालाई आइतबार बिहान ११ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणको कार्यक्रम तय भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री