शुक्रबार, १४ वैशाख २०८१

आठ घन्टा बहसपछि विद्या सर्वसम्मत, झलनाथको आक्रोश : पार्टी भनेको तपार्इंको घर हो ?

समयपोष्ट २०७४ फागुन २४ गते १:१६

प्रधानमन्त्रीनिवास बालुवाटारमा तीनपटक जुटे नेता, चर्को बहसपछि मध्यरातमा निर्णय

Advertisement

ओलीको प्रस्ताव– विद्याका नाममा प्रचण्डसँग समझदारी छ, सर्वसम्मत निर्णय गरेर सकारात्मक सन्देश दिन आवश्यक छ ।

आजको नयाँ पत्रिकामा शुरोजंग पाण्डेले यो खबर लेखेका छन् झलनाथको आक्रोश– पार्टीमा सल्लाह नै नगरी केका आधारमा समझदारी भयो ? पार्टी हामीले पनि हाँकेका हौँ, के यो तपाईंको घर हो ?

भुसालको चुनौती– संसदीय दलमा एजेन्डासहित तपाईंसँगै लड्ने तयारीमा थिएँ, तर अवसर किन दिइएन ? यो शैली पार्टीमा स्वीकार्य छैन ।

माधव नेपालको मध्यमार्ग पार्टीमा सल्लाह नगरी एकतर्फी निर्णय हुने गरेकोमा नेपालले आक्रोश पोखे । तर, राष्ट्रपति उम्मेदवारबारे मौन बसे ।

नेम्वाङको दुःखेसो– विदेशीले मलाई फादर अफ कन्स्टिच्युसन भन्छन् । मेरो विषयमा छलफल होेस्, बरु म एकछिन बाहिर बस्छु ।

– यसरी भयो निर्णय

शीर्ष नेताबीच ओलीको प्रस्ताव : विद्यालाई सर्वसम्मत

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मात्र एमालेले स्थायी समिति बैठक बोलाएको थियो । औपचारिक र अनौपचारिक गरी पटक–पटक बसेको बैठकले राति १२ बजे मात्र भण्डारीको पक्षमा निर्णय गरेको थियो । अध्यक्ष केपी ओलीले समझदारीका लागि शीर्ष नेताहरूलाई बिहानै बालुवाटार बोलाएका थिए । छलफलमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेललगायत सहभागी थिए । अध्यक्ष ओलीले राष्ट्रपति पदको गरिमा राख्न पनि पार्टीबाट सर्वसम्मत उम्मेदवार छान्नुपर्ने भन्दै विद्या भण्डारीको पक्षमा निर्णय गराउने आशय प्रकट गरेका थिए । ‘अहिले पार्टी एकीकरण हँुदै छ, त्यसका लागि सकारात्मक सन्देश पनि दिनुपर्नेछ । अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहो¥याउने विषयमा प्रचण्डजीस“ग पनि समझदारी बनेको छ । त्यसैले हामीले पनि सर्वसम्मत निर्णय गर्नुपर्ने जिम्मेवारी छ ।’

झलनाथको आक्रोश : पार्टी भनेको तपार्इंको घर हो ?

ओलीको कुरा सुनेर आक्रोशित बनेका खनालले पार्टीमा छलफल नै नगरी त्यत्रो समझदारी कसरी भयो र अहिलेसम्म किन जानकारी भएन भन्ने प्रश्न गरेका थिए । उनले इतिहासदेखि नै पार्टी पद्धतिका आधारमा चल्दै आए पनि अहिले कसैको घरजस्तो गरी चलाउन थालिएको आरोप लगाएका थिए । ‘पार्टी महासचिव र अध्यक्षका रूपमा मैले पनि पार्टी हाँकेको छु, अरू नेताले पनि पद्धतिका आधारमा पार्टी चलाएका थिए, तर तपार्इंले सबै पद्धति मिच्नुभएको छ, कुनै नेताको राय पनि लिनुनपर्ने यो पार्टी के तपाईंको घर हो ?’ उनको प्रश्न थियो । खनालले आपूm राष्ट्रपतिको उम्मेदवार बन्न चाहेको र यो विषयमा पार्टीको आधिकारिक निकायमा छलफल हुनुपर्ने प्रस्ताव पनि राखेका थिए । खनालको आक्रोश ओलीले खासै प्रतिक्रिया दिएनन्, बरु संसद् बैठकका लागि सबै नेता बानेश्वरतर्फ लागे ।

बालुवाटारमा केक काटेर तितरबितर भए नेता

संसद् बैठकपछि एमाले स्थायी समिति बैठकका लागि बालुवाटारमा जम्मा भएका नेताले सुरुमै वरिष्ठ नेता माधव नेपालको जन्म दिन मनाए । नेताहरू बसेको ठाउँमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले केक बोेकेर आएकी थिइन् । त्यस्तै, झलनाथ खनालले नेपाललाई बुके दिँदै दीर्घायुको शुभकामना दिएका थिए अरू नेताहरूले पनि केक खाँदै नेपाललाई शुभकामना दिए । तर, अर्को कार्यक्रममा जानुपर्ने भन्दै नेता नेपाल निस्किएपछि अरू पनि तितरबितर भएका थिए । यसरी ४ बजे बोलाइएको बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको थियो ।

फेरि ६ बजे नेताहरू जम्मा भए, तर खाना खाएपछि मात्र बैठक सुरु

स्थायी समितिका सबैजसो सदस्य ६ बजे बालुवाटारमा जम्मा भए बैठक तत्काल सुरु भएन । सा“झ परिसकेकोले खाना खाएर मात्र बैठक बस्ने सल्लाह भएको थियो । यसरी ७ बजे बैठक सुरु भएको थियो । राष्ट्रपति उम्मेदवार छान्न बसेको बैठकको सुरुमै अध्यक्ष ओलीले पृष्ठभूमि बाँध्दै विद्याको पक्षमा सर्वसम्मत निर्णय गरेर सकारात्मक सन्देश दिनुपर्ने प्रस्ताव राखेका थिए । तर, असहमति जनाउँदै झलनाथ खनालले पार्टी बैठकभन्दा अघि नै भएका समझदारी मान्य नहुने र उम्मेदवारको विषयका बैठकमा खुलस्त छलफल हुनुपर्ने धारणा राखेका थिए । त्यसपछि, सबै नेताहरूले पालैपालो बोल्दा मध्यरात भएको थियो । ८ घन्टा लामो बहसपछि विद्या भण्डारीलाई नै दोहो¥याउन सर्वसम्मत निर्णय भएको थियो ।

को कसको पक्षमा उभिए ?

वर्तमान राष्ट्रपतिलाई दोहो¥यानुपर्ने पक्षमा प्रधानमन्त्री ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्बीसुब्बा गुरुङ, सुवास नेम्बाङ, शंकर पोखरेल किरण गुरुङ, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपानेले धारणा राखे । त्यस्तै, खनालको पक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे बोलेका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावलले पार्टी सञ्चालन पद्धति र शैलीका विषयमा ओलीको आलोचना गरे पनि राष्ट्रपति उम्मेदवारको विषयमा कुनै तर्क राखेनन् ।

ओलीलाई भुसालको प्रश्न– तपाईंसँग चुनाव लड्न चाहन्थेँ, अवसर किन दिइएन ?

स्थायी समिति बैठकमा घनश्याम भुसालले पार्टी सञ्चानलको पद्धति मिचिएको भन्दै ओलीको शैलीको खुलस्त आलोचना गरेका थिए । उनको भनाई थियो, ‘पार्टीभित्र अराजकता बढ्दै गएको छ, त्यसको नेतृत्वबाट अध्यक्षबाटै भएको छ । विधि, प्रक्रिया सबै मिचिएको छ । संसदीय दलको नेता चयनका लागि एक घन्टाअगाडि खबर पठाइयो । सांसदहरूलाई पूर्वसूचना दिएर निर्वाचनमण्डल गठन गरेर प्रक्रियासम्मत ढंगले दलको नेता चयन हुनुपर्ने होइन ? एक व्यक्ति, एक पदको सिद्धान्तकार ओली कमरेड नै हुनुहुन्थ्यो ।

तर, आफ्नो पक्षमा निर्णय गर्न प्रक्रिया नै मिचेर किन हाटहुट–साटसुट गर्नुभो । यसपटक संसदीय दलको नेतामा एजेन्डासहित तपाईंसँग चुनावी प्रतिस्पर्धा गर्न चाहन्थेँ तर किन अवसरै दिइएन ? अहिले फेरि राष्ट्रपतिको उम्मेदवार छान्न अन्तिममा मात्र बैठक बोलाइएको छ । प्रदेश ३ को मुख्यमन्त्रीमा बरिष्ठ महिला नेतृका रूपमा सर्वसम्मत गरौँं भनेर अष्टलक्ष्मी शाक्यले पटक/पटक अनुरोध गर्दा बैठक बोलाइएन । उहा“जस्तो नेताको रोदन क्रन्दनको पनि सुनुवाइ भएन । तर, आज विद्या भण्डारीको पक्षमा भने सर्वसम्मत गरिदिनुपर्ने ? यो शैली हामीलाई स्वीकार्य छैन ।’

निर्णय प्रक्रियाप्रति ‘नोट अफ डिसेन्ट’

विधि, प्रक्रिया र संस्थागत पद्दति मिचेर पार्टीलाई घोर अराजकतातिर लैजान खोजिएको भन्दै उपमहासचिव घनश्याम भुसालले राष्ट्रपतिको उम्मेदवार चयन प्रक्रियामा ‘नोट अफ डिसेन्ट’ प्रस्तुत गरेका छन् । संसदीय दलको नेता चयन, गत चुनावमा उम्मेदवार छनोट प्रक्रियालगायतका निर्णयमा प्रक्रिया मिचिएको भन्दै भुसालले तीनवटै विषयमा नोटअफ डिसेन्ट जनाएका हुन् । तर, मंगलबार राति ‘माइन्युट’ नलेखिएकोले उनले मौखिक रूपमै जानकारी गराएका छन् ।

भण्डारीको पक्ष–विपक्षमा लफडा

अघिल्लो कार्यकालमा पार्टीबाट सहजरूपमै राष्ट्रपति उम्मेदवार बनेकी भण्डारीको नाममा यसपटक भने लामै बहस भएको छ । भण्डारीले दुईवर्षे संक्रमणकालमा मात्र राष्ट्रपति रहेको, विवादित भूमिकामा नदेखिएको र लामो आन्दोलनबाट खारिएको शिखर महिला व्यक्तित्व भएकाले उनलाई नै दोहो¥याउनुपर्ने ओली समूहका नेताहरूको भनाइ थियो ।

तर, खनालको पक्षमा रहेका नेताहरूले भने पार्टीमा प्रक्रिया मिच्दै अध्यक्षले पद्धति कमजोर बनाएको, प्रधानमन्त्री भइसकेको व्यक्ति (झलनाथ खनाल) उपयुक्त नहुने तर्क गर्न लगाएर आफैँले हिजो सुशील कोइरालालाई राष्ट्रपतिमा प्रस्ताव गरेको नजिरको गलत व्याख्या गरेको तर्क गरेका थिए । उनीहरूले फरक धारणा राख्ने नेताहरूको भविष्य नै समाप्त पार्ने खेलमा अध्यक्ष ओली लागेको सम्मका गम्भीर आरोप लगाएका थिए ।

नरम ओलीले भने, अब मलाई केही लोभ छैन, सबैलाई मिलाउँछु

राष्ट्रपतिका आकांक्षी खनाल र उनीप्रति सहानभूति राख्ने नेताहरूले पार्टीभित्र कसरी अराजकता मौलाइरहेको छ भन्ने दृष्टान्त प्रस्तुत गरेपछि अध्यक्ष ओलीले कमजोरी स्वीकार गरेका थिए । ‘म सबैलाई मिलाएरै पार्टी चलाउँछु, वरिष्ठ नेताहरूसँगको परामर्शमै अघि बढ्छु, अध्यक्ष भइसकेको छु, प्रधानमन्त्री पनि भइसकेको छु, अब मलाई अरू केही पनि पद आवश्यकता पनि छैन, कुनै लोभ पनि छैन’, ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने,‘तपाईं (खनाललाई लक्षित गर्दै)को योगदानको पनि उचित मूल्यांकन र कदर हुनैपर्छ ।

सिंगै कम्युनिस्ट आन्दोलन एकढिक्का बनाउने अभियान पूरा भइरहेका वेला हामी सबै एकजुट हुनुपर्छ, त्यसैले सर्वसम्मत निर्णय गरौँ ।’ ओलीको यस्तो प्रस्तावपछि खनालले प्रक्रियाप्रति असहमति रहे पनि सर्वसम्मतिका लागि आफू उम्मेदवारको दौडबाट फिर्ता भएको जानकारी गराएका थिए । त्यसपछि भण्डारीको नाममा बैठकमा सर्वसम्मति जुटेको थियो ।

नेम्बाङले यसरी खोजे भूमिका

स्थायी समिति बैठकमा दोहोरो कोणबाट तर्क आइरहेको वेला सुवास नेम्वाङले राष्ट्रपतिमा आफ्नो पनि दाबी प्रस्तुत गरेका थिए । उनको भनाइ थियो, ‘मैले संविधान बनाउन भूमिका खेलेँ । त्यसका लागि कैयनपटक जोखिम मोलेँ । बाहिरका कतिले ‘फादर अफ दी कन्सिच्युसन’ भन्दै जस पनि दिए तर अब मेरो भूमिका के हो ? के मेरो मृत्युपछि मात्र सुवास नेम्वाङले संविधान बनाउन भूमिका खेल्यो भन्दै सम्झिनुहुन्छ ? बैठकले निर्णय गरोस् । तपाईंहरूलाई छलफल गर्न अफठ्यारो हुन्छ भने म बरु बैठकबाहिर गइदिन्छु, निर्णयका लागि सजिलो होस् । तर, मैले जति योगदान गरेँ, त्यसलाई पार्टीले ‘प्रोपर्टी’ का रूपमा पुँजीकृत गर्ने कि नगर्ने ?’ तर, उनको विषयमा थप छलफल भएन ।

– राष्ट्रपतिमा भण्डारी र राईको उम्मेदवारी

– अधिकांश दलको समर्थन छ, अझै प्राप्त हुनेछ भन्ने अपेक्षा छ : भण्डारी

मैले जे गरेकी छु, त्यो देशका लागि खुला किताबजस्तो छ । यथार्थ कुरा बाहिरी आँखाले मात्र होइन, भित्री आँखाले पनि मूल्यांकन गर्नुपर्छ । मैले अहिलेसम्म जे भूमिका निर्वाह गरेकी छु, त्यो संविधान, कानुनसम्मत छ भन्ने मेरो विश्वास छ । उम्मेदवारीमा अधिकांश दलको समर्थन छ, अझै प्राप्त हुनेछ भन्ने अपेक्षा गरेकी छु ।

– नेपालीले अन्तर्घात जानेकै छ, मैले जित्न सक्छु : राई

सहिद दिवानसिंह राईकी छोरी हुँ, राजनीतिमा जीवन समर्पण गरेकी छु, जित्छु भन्ने लाग्छ, नेपालीले अन्तर्घात गर्न जानेकै छन् । उहाँलाई अन्तर्घात गरेर मलाई जिताए भने के हुन्छ ? हार्छु भनेर उम्मेदवारी दिएकी होइन, जित्छु । सभापतिका तर्फबाट केन्द्रीय सदस्य सीता गुरुङले मलाई उम्मेदवार बनाउने विषयमा छलफल भएको भन्दै विचार के छ भनेर सोध्नुभयो । लड्न तयार छु भनेपछि सभापतिले कुरा गर्नुभयो । पार्टीले मलाई उम्मेदवार बनाएर सहिद परिवारको सम्मान गरेको छ ।

राष्ट्रपति निर्वाचन

भण्डारीको पक्षमा

मत : ३६,८६४

राईको पक्षमा

मत : ११,४२८

अन्य मत : ४,२४८

– एमाले : २३,३५६
– माओवादी : १०,३१९
– संघीय फोरम : ३,१८९

– जम्मा मत : ५२,७८६
– आवश्यक : २६,९२१

प्रतिक्रिया

सम्बन्धित सामाग्री