शुक्रबार, १४ वैशाख २०८१

वाम गठबन्धनलाई दलका नेताहरुको यस्तो आग्रह

समयपोष्ट २०७४ फागुन २२ गते ९:०३

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै विभिन्न दलका नेताले राष्ट्रिय समस्या समाधानका लागि वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरेका छन् ।

Advertisement

नेपाली जनताले वाम गठबन्धनलाई करीव दुई तिहाइ मत दिएकाले उनीहरुले ठूलो छाती गरेर सबैलाई समेटेर अगाडि बढ्नुपर्नेमा नेताहरुले जोड दिए ।
राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले लडाइँ र झगडाको युग समाप्त गर्न सबै पक्ष इमान्दार भएर लाग्नुपर्ने तथा सबै पक्षको माग र असन्तुष्टि सम्बोधन गर्नुपर्ने बताउनुभयो । नेता महतोले भन्नुभयो, “हामी पनि लडाइँ झगडाको युग समाप्त गर्न चाहन्छौँ तर कार्पेटभित्र छोपेर राखिएको फोहर नहटाई कसरी मुलुक समृद्ध हुन सक्छ ? असन्तुष्टि कसरी सम्बोधन हुन सक्छ ?”

प्रकृतिले नेपाललाई दिएको ठूलो वरदानको उचित प्रयोग गरेर आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो । उहाँले हिमाली, पहाडी तथा तराईका जनताको आफ्नो राष्ट्रप्रति उत्तिकै चिन्ता चासो तथा सम्मान रहेको छ भन्दै सबैलाई मिलाएर लैजान नेतृत्व गर्नेले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले संविधानलाई धर्मग्रन्थ नबनाउन आग्रह गर्दै जनताको मागअनुसार संशोधन गरेर असन्तुष्ट पक्षलाई समेटेर लैजान वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान गतिशील राजनीतिक दस्तावेज भएकाले यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताउनुभयो । संविधानमा संघीयता र धर्म निरपेक्षतालगायत केही राम्रा पक्ष रहेको उल्लेख गर्दै उहाँले न्यायमा समान पहुँच र अनुभूति गर्न नपाएका समुदायले अपनत्व महसुस गर्नेखालको संविधान बनाउन यसको संशोधन जरुरी रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रियता, राष्ट्रिय सुरक्षा प्रणाली र आर्थिक विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले ती विषयमा सबैको समान मत भए मात्रै मुलुक समृद्ध बन्न सक्ने धारणा राख्नुभयो । बन्द भएका उद्योगधन्दा सञ्चालन गर्नुपर्ने र नयाँ उद्योगधन्दाको स्थापनाका लागि सामूहिक प्रयत्न जरुरी रहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले आर्थिक वृद्धि र विकासका लागि भ्रष्टाचार नियन्त्रण जरुरी रहेको बताउनुभयो । नेमकिपाका प्रेम सुवालले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि घुसखोरी र कमिसनखोरी प्रवृत्तिको अन्त्य गर्नुपर्ने, विद्युत् खरिद गर्ने अवस्थाको अन्त्य हुनुपर्ने र स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नुपर्ने सुझाव दिँदै रोजगारीको खोजीका लागि विदेशिने युवालाई यहीँ राख्न विशेष पहल गर्नुपर्ने बताउनुभयो ।
राप्रपाका राजेन्द्र लिङ्देनले वर्तमान सरकारले जनताका पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री