शनिबार, ८ वैशाख २०८१

डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्यु ,स्थानीयद्वारा तोडफोड

समयपोष्ट २०७४ फागुन १८ गते ४:३६

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनावग्रस्त भएको छ ।

Advertisement

राजविराज–भारदह सडकखण्डअन्तर्गत अस्पताल गेटमा टायर बालेर यातायात अवरुद्ध पारेपछि अवस्था झन तनावग्रस्त भएको प्रहरीले जनाएको छ । सुत्केरी व्यथाले च्यापेपछि जिल्लाको विष्णुपुर गाउँपालिका–१ पिप्राहीकी २५ वर्षीया अनिता यादवलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

शुरुदेखि नै चेकजाँच गर्दै आएका डाक्टर दिलीप साहले नै अनितालाई अस्पताल भर्ना गर्न सल्लाह दिएका थिए । तर, व्यथा चर्किंदै गएपछि डाक्टरले वास्ता नगरेको र अस्पतालले पनि सहयोग नगर्दा आफ्नी पत्नी र बच्चा दुवैको मृत्यु भएको मृतकका पति रमेश यादवले आरोप लगाउनुभएको छ ।

आक्रोशित स्थानीयले अस्पताल घेराउ गर्दै डा दिलीप साहको क्लिनिकमा रहेको बोर्डमा आगो लगाएका छन् । लापर्बाही गर्ने डाक्टरलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरुले बिहीबार दिनभरि अस्पताल परिसरमा नाराबाजी गर्दै राजविराजको मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

डाक्टर नै नआएपछि बच्चाको टाउको बाहिर निस्केको अवस्थामा राति करिब १ बजे अनिता र बच्चा दुवैको मृत्यु भएको पनि यादवले आरोप लगाउनुभएको छ ।

मृतकका चार वर्षीय छोरा आकाश र दुई वर्षीया छोरी सरस्वती छन् । यता, अस्पतालमा भएको घटनाको वास्तविकता पत्ता लगाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवको संयोजकत्वमा ११ सदस्यिय छानबिन समिति गठन गरिएको छ ।

छानबिन समितिमा उपमेयर साधना झा, अस्पताल विकास समितिका अध्यक्ष डा चिरञ्जीवीलाल देव, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइराला, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेत, राजनीतिक दलका प्रतिनिधि रहेका छन् ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री