मंगलबार, ६ चैत २०८०

नेपाल र फ्रान्सबीच आर्थिक सम्बन्ध विस्तार गर्न छलफल

समयपोष्ट २०७७ फागुन २० गते २१:१४

Advertisement

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विषयमा छलफल भएको छ ।

महासङ्घको कार्यालयमा भएको भेटमा नेपाल फ्रान्स विजनेश फोरमको बैठक आयोजना गर्ने र उक्त बैठकमा महासङ्घका तर्फबाट कोभिडपश्चात् नेपालको आर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यता विषयमा विस्तृत प्रस्तुति गर्ने सहमति भएको महासङ्घले जनाएको छ ।

अध्यक्ष गोल्छाले नेपाल–फ्रान्सबीच आपसी सहकार्यका क्षेत्रको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवं सहकार्यका लागि आग्रह गर्नुभयो । अध्यक्ष गोल्छाले कोभिडपछि नेपालको अर्थतन्त्रले निकै छिट्टै लय समाउन थालेको जानकारी गराउनुभयो । उहाँले दुवै देशका निजी क्षेत्रबीच सम्पर्क विस्तारमार्फत नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि, व्यापार विस्तारलगायतमा जोड दिनुभयो । यसका लागि कूटनीतिक सहयोग महत्वपूर्ण हुने धारणा उहाँको थियो ।

राजदूत लेजेले फ्रान्स र नेपालबीचको आर्थिक एवं व्यावसायिक सम्बन्ध विस्तारलाई थप मजबुत बनाउन आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो । गएको वर्ष नेपालबाट भएको फ्रान्सको उच्चस्तरीय भ्रमणमा महासङ्घको पनि सहभागिता रहेको र सो क्रममा महासङ्घ र मेडेफ इन्टरनेशनलबीच सहमतिपत्रमा हस्ताक्षर भएको पनि उहाँले स्मरण गर्नुभयो ।

नेपालको आर्थिक विकासमा फ्रान्सको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै नेपाल फ्रान्स विजनेश फोरम बैठकलाई परिणाममुखी बनाउने दृढतासमेत राजदूत लेजेले व्यक्त गर्नुभएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री