बिहीबार, १३ वैशाख २०८१

एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं

समयपोष्ट २०७६ चैत १२ गते ७:३९

Advertisement

पुरुषोत्तम थापा

“तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।” विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सूचना जारी गरेको छ ।

कोरोनाको सङ्क्रमण कतै नफैलियोस र कोही पनि सङ्क्रमित नहोस् भन्नका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखले स्वास्थ्यकर्मीको टोलीसहित घरमै गएर उपचार गर्ने रणनीति बनाएको हो । जिल्लाका ९० वडामध्ये ८९ वडामा सडकको सजिलै पहुँच भएकाले घरघरमै गएर उपचार गर्न सम्भव भएको जिल्ला जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले बताउनुभयो । “कोही विरामी भए । एक कल फोन गर्नुहोस् । उपचार लागि तपाईको घरमै आउँछौंं”, उहाँले भन्नुभयो, “कोराना फैलिन नदिनका लागि विरामीको घरदैलोमा उपचार गर्न थालेका छौं ।” कोही विरामी हुँदा घरबाट बाहिर नआउन स्वास्थ्य कार्यालयले जिल्लाबासीलाई आग्रह समेत गरेको छ ।

स्वास्थ्य कार्यालयले सूचनासँगै ९ स्थानीय तहका एम्बुलेन्स र त्यसको चालकको मोवाइल नम्बर सहितको सूचना जारी गरेको छ । यी नम्बरहरुमा फोन आउनासाथ तुरुन्त त्यही पुगेर विरामीलाई जिल्ला अस्पतालमा ल्याइने जनस्वास्थ्य अधिकृत रेग्मीले जानकारी दिनुभयो । “हामीले जिल्लाका सबै एम्बुलेन्स चालकहरुको नम्बर सामाजिक सञ्जाल, रेडियो र सम्पूर्ण स्वास्थ्य चौकीका सूचना पार्टीमा टाँसी सकेका छौं”, उहाँले भन्नुभयो ।

सबैले यो अनुरोधलाई आत्मसाथ गरे कोही कसैले उपचार नपाएर यो लक डाउनमा ज्यान गुमाउन नपर्ने उहाँको भनाइ छ । लकडाउन भएको बेला उद्दारका लागि १० एम्बुलेन्स तयारी अवस्थामा राखेको उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमितका लागि दैलेख अस्पतालमा १५, महावुमा ५, दुल्लू नगरपालिका ५, भगवतीमाई गाउँपालिकामा ५ वटा आइसोलेशन शैय्या र नारायण क्याम्पसमा १०० शैय्याकोे क्वारेन्टाइन तयार पारिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री