आइतबार, ६ जेठ २०८१

‘नेपालमा कोहीपनि कोरोना भाइरसबाट संक्रमित छैनन्, लक्षण देखिएका जो कसैको परीक्षण गर्ने व्यवस्था गरिसकेका छौं’

समयपोष्ट २०७६ चैत ६ गते १७:३७

Advertisement

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले देशभर कोही पनि कोरोना भाइरसको संक्रमित नरहेको बताइन् । रोगको सम्भावित लक्षण देखिएका विरामीहरुमध्येबाट दैनिकजसो परीक्षण भइरहेको भन्दै तथ्यांकगत आधारमा हाल देशमा कोही पनि कोरोना भाइरस संक्रमित नभएको स्पष्ट पारेकी छिन् ।

उनले रोगको संक्रमण नभएको अवस्थामा हल्ला र भ्रमको पछि नलाग्न समेत आग्रह गरिन् । ‘हाल देशमा कसैलाई पनि कोभिड–१९ को संक्रमण छैन’– डा. झाले भनिन्,‘आजसम्म आशंकित ५२१ जनाको परीक्षण भइसकेको छ ।’

उनले परीक्षणमा आउने संख्या दिनहुँ बढेपनि कोही पनि संक्रमित नभेटिनु खुशीको विषय भएको बताईन् । यसअघि परीक्षणबाट संक्रमित व्यक्तिसमेत स्वस्थ भइसकेको उनको भनाई छ । झाले सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न कदम चालिसकेको र परीक्षणबाट कोही संक्रमित भएमा तत्काल उपचारको उपाय अबलम्बन गर्नेगरी तयारीसमेत गरिसकेको विश्वास दिलाईन् ।

उनले भनिन्,‘जनताहरुलाई थप त्रास नफैलाउन म सबैसँग आग्रह गर्दछु । उनले कोरोना भाइरसको बारेमा सबैजना सचेत रहेको देखिइसकेकाले स्वास्थ्यकर्मी, मिडियादेखि स्वयंसेवीले खतरा मोलेर काम गरिरहेको बताइन् । डा. झाले संक्रमण हुन नदिन आवश्यक निर्देशन पालना गर्न पनि सबैसँग आग्रह गरिन् । उनले अहिलेको अवस्था एकदमै अप्ठ्यारो अवस्था भएकोले यस्तो बेलामा मास्कको कालोबजारी नगर्नसमेत आग्रह गरिन् । उनले भनिन्,‘एउटा संक्रमित विरामीले मास्क लगाएमा सयौंलाई सर्नबाट बचाउन सकिन्छ, त्यसैले मास्कको कृत्तिम अभाव सृजना गरी असुरक्षित बनाउने र बन्ने काम नगरौं ।’

Advertisement

कार्यक्रममा इपिडिमियोलोजी तथा नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले कोरोना भाइरसको संक्रमण हुन नदिन सबै किसिमका रोकथामका उपाय अपनाइसकिएको बताए । उनले देशभरका अस्पतालमा निमोनियाका विरामीको सूची तयार गरी परीक्षण समेत भइरहेको स्पष्ट पारे । उनले भने,‘हामी सूची लिएर कसैलाई कोरोना भाइरसको संक्रमण भएको छ कि भनेर खोजीसमेत गरिरहेका छौं । संक्रमणको लक्षण देखिएका जो कसैको परीक्षण गर्ने व्यवस्था गरिसकेका छौं ।’

डा. पाण्डेले विज्ञहरुको सल्लाहमा रोकथामको उपाय र भविष्यमा कथंकदाचित् चुनौती आएमा सबै किसिमका तयारी भइसकेको बताए । काठमाडौमा सयभन्दा माथि आइसोलेशन कक्ष निर्माण भइसकेको जानकारी दिँदै उनले भने,‘सबै अस्पतालमा निमोनियाका बिरामीहरु सूची संकलन भइरहेको छ । आफुलाई भाइरसको शंका लागेमा वा समस्या भएमा तथा कुनै समस्याको जानकारी दिन १११५ मा तत्काल कल गर्न आग्रह समेत गर्दछु ।’

उनले डाक्टरको सिफारिस भएमा मात्र कोरोनाको परीक्षण गर्न सकिने बताए । उनले मास्कको अभावलाई दृष्टिगत गरी आवश्यकत्तानुसार उपलब्ध गराउन मास्कको काम फास्ट ट्रयाकमा भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री