आइतबार, ६ जेठ २०८१

चीन र कोरियाबाट फर्किएका चार नेपालीमा कोरोना ‘नेगेटिभ’ : आवश्यक सावधानी अपनाउन आग्रह

समयपोष्ट २०७६ फागुन २० गते २०:३०

Advertisement

चीन र दक्षिण कोरियाबाट फर्किएका चार नेपाली कोरोना भाइरसबाट सङ्क्रमित नभएको पाइएको छ । दक्षिण कोरियाबाट फर्किएका चार तथा चीनबाट फर्किएका एक नेपालीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । कोरियाबाट फर्किएका तीन तथा चीनबाट फर्किएका एक जनामा कोरोना भाइरसको परीक्षण नतिजा ‘नेगेटिभ’ भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख सागर दाहालले जानकारी दिनुभयो ।

“चारजनाको स्वास्थ्य परीक्षण नतिजा नेगेटिभ पाइयो, कोरियाबाट फर्किएका एक जनाको स्वास्थ्य रिपोर्ट आउन बाँकी छ”, उहाँले भन्नुभयो । उनीहरुमा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि ‘आइसोलेसन’मा राखिएको थियो । चीनबाट घर फर्किएकालाई शनिबार तथा कोरियाबाट फर्किएकालाई आइतबार आइसोलेसनमा राखिएको थियो । “चारै जना घर फर्किएका छन्”, केन्द्रका प्रमुख दाहालले भन्नुभयो ।

आवश्यक सावधानी अपनाउन आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले कोभिड–१९ मानव जातिमाथि ठूलो सङ्कटका रुपमा देखापरेको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज हुने भनिएको प्रदेश नं १ स्तरीय भेला प्रशिक्षण स्थगनबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालमा पनि कोरोना भाइरस फैलिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो ।

Advertisement

नेपालका विभिन्न शहरमा कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने सम्भावना रहेको र त्यसवाट सजग तथा सुरक्षित हुन तत्काल साना–ठूला भेला नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेकपा केन्द्रीय कमिटीले निर्देशन दिएपछि भेला स्थगन भएको छ ।

कार्यक्रममा नेता खनालले कोरोना भाइरस विरुद्धको अभियानमा सम्पूर्ण पार्टी कार्यकर्ता र पत्रकारलाई लाग्न आग्रह गर्नुभयो । “स्वास्थ्य मन्त्रालयले आवश्यक सावधानी अपनाउन भनिसकेको छ”, उहाँले भन्नुभयो, “हाम्रो देशमा हेल्थ केयर सिस्टम पर्याप्त छैन, त्यसैले पनि यसबाट बच्न सबैले सावधानी अपनाउन आवश्यक छ ।”

यसैबीच नेकपा प्रदेश नं १ ले प्रदेशमा कुनै पनि साना–ठूला कार्यक्रम नगर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष देवराज कार्की र सचिव सुरेशकुमार राईले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै त्यस्तो निर्देशन दिनुभएको हो । “आज हुने भनिएको प्रदेशस्तरीय भेला प्रशिक्षण स्थगित गरिएको छ”, अध्यक्ष घिमिरेले भन्नुभयो, “कार्यक्रममा सहभागी हुन प्रदेशभरबाट आउनुभएका कार्यकर्ता त्यसै फर्किनु परेकामा क्षमा चाहन्छौँ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री