इजरायलमाथि जवाफी हमला गर्ने इरानको तयारी

अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणपछि इरानले ठूलो स्तरको प्रतिकार गर्ने तयारी गरेको छ। रोयटर्स समाचार एजेन्सीलाई एक इरानी अधिकारीले दिएको जानकारी अनुसार, तेहरानले यी आक्रमणहरूको कडा बदला लिनका लागि विनाशकारी जवाफी रणनीति तयार पारिरहेको छ।

Advertisement

यसैबीच, इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगका प्रमुख इब्राहिम अजिजीले सामाजिक सञ्जाल एक्समा कडा चेतावनी दिएका छन्। उनले लेखेका छन्, “हामीले तिमीहरूलाई पहिले नै चेतावनी दिएका थियौं! अब तिमीहरू यस्तो बाटोमा अघि बढेका छौ, जसको अन्त्य अब तिम्रो नियन्त्रणमा छैन।”

इजरायलले इरानमाथि पूर्वनियोजित आक्रमण सुरु गरेको पुष्टि गरेको छ भने अमेरिकी अधिकारीहरूले यसमा संयुक्त राज्य अमेरिकाको पनि सक्रिय सहभागिता रहेको बताएका छन्। इजरायली रक्षा मन्त्री इजरायल काट्जले यो आक्रमण इजरायलविरुद्धका खतरा हटाउनका लागि गरिएको बताएका छन्।

अहिले इरानको राजधानी तेहरानमा शृङ्खलाबद्ध ठूला विस्फोटका आवाजहरू सुनिएका छन्। तेहरानका विभिन्न भागहरू जस्तै विश्वविद्यालय सडक, जोम्हुरी क्षेत्र, सेय्यद खन्दान लगायतका ठाउँमा विस्फोट भएको र धुवाँको मुस्लो देखिएको रिपोर्टहरू आएका छन्। इरानी सञ्चार माध्यमहरूले तेहरानबाहेक कुम, इस्फहान, कराज, केर्मानशाह जस्ता शहरहरूमा पनि विस्फोट भएको उल्लेख गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै अमेरिकाले इरानविरुद्ध “ठूलो तथा निरन्तर सैन्य अभियान” सुरु गरेको बताएका छन्। यो आक्रमण इरानको आणविक कार्यक्रम तथा क्षेत्रीय खतरा हटाउन लक्षित रहेको उल्लेख छ।

Advertisement

इजरायलले राष्ट्रव्यापी आपतकाल घोषणा गरेको छ र इरानी प्रतिकारमा मिसाइल तथा ड्रोन आक्रमणको सम्भावना रहेको भन्दै हवाई आक्रमण साइरन बजाइएको छ। इरानी अधिकारीहरूले “क्रशिङ रेस्पोन्स” (विनाशकारी जवाफ) दिने बताएका छन्, जसले मध्यपूर्वमा थप तनाव बढाउने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री