नेकपा नेता अग्निप्रसाद सापकोटाको दाबी: आसन्न निर्वाचनमा पार्टी पहिलो शक्ति बन्नेछ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा आफ्नो पार्टी देशको पहिलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन्।

मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले देशभरबाट प्राप्त रिपोर्ट तथा पार्टीको आन्तरिक विश्लेषणका आधारमा यो निष्कर्षमा पुगेको बताए। उनले भने, “आज बिहानको समेत रिपोर्ट र हामी यहाँ बस्ने सबैको निष्कर्ष के छ भने हाम्रो पार्टी पहिलो पार्टी बन्छ। नेपालको पहिलो पार्टी अब नेपाली कम्युनिस्ट पार्टी बन्छ भन्ने कुराको रिपोर्ट आईराखेको छ देशभरिबाट।”

Advertisement

सापकोटाले निर्वाचन क्षेत्र तथा जिल्लाहरूबाट आएका प्रारम्भिक प्रतिवेदनहरूले नेकपालाई ठूलो दलका रूपमा स्थापित गर्ने संकेत गरेको उल्लेख गरे। उनले पार्टीले निर्वाचनलाई परिवर्तनको माध्यम बनाएर मुलुकमा सही दिशा दिन सक्ने एक मात्र सक्षम शक्ति भएको दाबी पनि गरे।

यसैगरी, उनले निर्वाचनको गरिमा कायम राख्न सञ्चारमाध्यमहरूलाई आग्रह गरे। “नेपाली प्रेसले परिवर्तनको पक्षमा सदैव योगदान दिँदै आएको छ। यसलाई अझ सशक्त बनाउनुपर्छ र निर्वाचनको गरिमामा आँच नआउने गरी समाचार प्रशारण तथा प्रकाशन गर्न नचुक्ने मैले विश्वास लिएको छु,” उनले भने।

सापकोटाले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराए। साथै, केही सञ्चारमाध्यमले भ्रामक सूचना फैलाएर पार्टीको छवि बिगार्ने प्रयास गरेको आरोप लगाउँदै उनले सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री