
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले अघि बढाएको हुलाकी मार्गकेन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान जनताको कुरा सुन्ने जनसंवाद अभियान भएको बताउनुभएको छ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको झापा गाउँपालिकामा आयोजित जनभेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
अध्यक्ष प्रचण्डले यो अभियानलाई नेता आउने भाषण गर्ने अभियानको रुपमा भन्दा सबै क्षेत्रका जनताको कुरा सुन्ने र अधिकतम समस्या समाधानका लागि पहल गर्ने अभियानको रुपमा अघि बढाउन खोजेको बताउनुभयो । सहरी क्षेत्रका जनताको मनोविज्ञान विभिन्न माध्यमबाट थाहा हुने भए पनि देशको दक्षिण र ग्रामीण क्षेत्रमा बस्ने जनताको मनोविज्ञान कस्तो छ भनेर जान्न पनि यो अभियान महत्त्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नु भयो। देशको दक्षिण क्षेत्रमा बस्ने अधिकांश जनता आदिवासी र उत्पीडित समुदाय रहेको उल्लेख गर्दै उहाँले यो आफ्नो पार्टीले आफ्नै वर्ग समुदायमा फर्कन गरेको निर्णयको कार्यान्वयनको सुरुवात भएको बताउनुभयो।
अभियानको क्रममा जनताबाट एकैदिन सयौं ज्ञापनपत्र प्राप्त भएको र अभियान अवधिभर जनताका हजारौं माग आउने देखिएकाले सबै मागपत्रको अध्ययन गरेर तत्काल गर्नुपर्ने कामका लागि राज्यको ध्यानाकर्षण गराउने र दीर्घकालीन रुपमा गर्नुपर्ने कामको योजनाबद्व पहल अघि बढाउने बताउनुभयो।
अब यसैले वैशाखमा मध्यपहाड र हिमाली क्षेत्रका जनता के चाहन्छन भनेर बुझ्न यसरी नै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने बताउनुभयो।
झापाबाट सुरु भएको पहिको दिनको कार्यक्रम निकै उत्साहजनक भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब फेरि माओवादीप्रति जनतामा आकर्षण बढिरहेको र नेता कार्यकर्ताको आत्मविश्वास बढ्दै गएको बताउनुभयो।
झापा हिजो सामन्तवादको विरुद्ध बिद्रोहको केन्द्र रहेको र त्यतिबेलाको बिद्रोहको नेतृत्व गर्ने नेताहरु अहिले प्रतिक्रान्तिको हिस्सेदार बनेको प्रति झापाली जनताको ध्यानाकर्षण गराउन पनि यो अभियान महत्त्वपूर्ण भएको उहाँले स्पष्ट गर्नुभयो।










प्रतिक्रिया