
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ।
साहारा बचत तथा ऋण सहकारी प्रकरणमा थुनछेक बहस नसकिएपछि जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई हिरासतमा पठाउने आदेश दिएको हो।
अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार लामिछानेको मुद्दा हाल ‘हेर्दाहेर्दै’को अवस्थामा छ। उनलाई पुनः बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ।
बुधबार अदालतमा उपस्थित भएका लामिछानेको बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो। सरकारी वकिलतर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी र बुद्ध बहादुर थापासहितको टोलीले बहस गरेका थिए। जाहेरवालातर्फबाट अधिवक्ता रमेश काफ्लेले तर्क प्रस्तुत गरेका थिए। अब बिहीबार जाहेरवालाका अन्य वकिलहरू र लामिछानेका पक्षका वकिलहरूले बहस गर्नेछन्।
यसअघि, सुप्रिम सहकारी संस्थाको मुद्दामा रूपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि उनलाई माघ ९ गते परिवार र वकिलको जिम्मा लगाएको थियो। तर, सरकारी वकिलहरूले सो निर्णयप्रति असन्तुष्टि जनाएका थिए। रूपन्देही अदालतले उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
यसैगरी, काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी प्रकरणमा थुनछेक बहसका क्रममा रवि लामिछानेका वकिलहरूले हिरासतमा नपठाउन अनुरोध गरे पनि न्यायाधीश माधवप्रसाद अधिकारीले उनलाई हिरासतमै पठाएका थिए।










प्रतिक्रिया