सामाजिक सञ्जाल प्लेटफर्महरुलाई नेपालमा सूचीकृत हुन सरकारको पुन: आग्रह
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, इन्स्टाग्राम, एक्स, लिंक्डइनजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पुन: आफ्नो प्लाटफर्म नेपालमा सूचिकृत गर्न सूचना जारी गरेको छ। सोमबार जारी गरिएको सूचनामा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्नुपर्ने र नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने उल्लेख छ।
मन्त्रालयका अनुसार विगत एक वर्षदेखि ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ को प्रावधानअनुसार सूचिकृत हुन प्लाटफर्म सञ्चालकहरूलाई पटक-पटक अनुरोध गरिँदै आएको छ। हालसम्म नेपालमा टिकटक, भाइबर र विटकसहित तीनवटा सामाजिक सञ्जाल मात्र सूचीकृत भएका छन्।
निर्देशिकाको दफा ३ मा कुनै पनि सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार मन्त्रालयमा सूचीकरण गर्नुपर्ने प्रावधान छ। साथै, दफा ६ अनुसार सामाजिक सञ्जाल कम्पनीहरूले नेपालमा सम्पर्क बिन्दु तोक्नुपर्ने, आवासीय गुनासो सुन्ने अधिकारी नियुक्त गर्नुपर्ने तथा स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने उल्लेख छ।
मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार मन्त्रीपरिषद् बैठकले सामाजिक सञ्जाल कम्पनीहरूले नेपालमा पालना गर्नुपर्ने चार प्रमुख जिम्मेवारी तोकेको छ। ती यस प्रकार छन्:
-सामाजिक सञ्जाल कम्पनीहरूले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने।
-साइबर सुरक्षा र डिजिटल साक्षरता कार्यक्रम देशभर सञ्चालन गर्ने।
-नेपाल सरकारद्वारा जारी कानूनी व्यवस्थाहरूको पूर्ण पालना गर्ने।
-प्रयोगकर्ताहरूको डेटा सुरक्षा र गोपनीयताका मापदण्डहरू पालन गर्ने।
प्रतिक्रिया