मंगलबार, ४ वैशाख २०८१

बढ्दो कोरिया ‘क्रेज’, डेढ दशकमा १ लाख ५ हजार ९७३ नेपालीले पाए रोजगारी

समयपोष्ट २०८० फागुन १२ गते ७:३७

Advertisement

दक्षिण कोरियाले पछिल्लो समय नेपालीलाई पहिलो प्राथमिकतामा राखेर श्रमिकको माग गर्न थालेको छ । यससँगै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको सङ्ख्या पनि बढ्दो छ । सन् २०२४ मा उत्पादनतर्फ १५ हजार ८४८ जनाका लागि माग आएकोमा एक लाख ६५ हजारभन्दा बढीको आवेदन पर्नुले पनि यसलाई पुष्टि गर्छ ।

दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ । त्यसै अनुसार यस पटक सबैभन्दा धेरै कोटा नेपालले पाएको छ । सन् २०२४ मा माग भएको भाषा परीक्षामा एक लाख ६३ हजार ६३५ जना सहभागी भएका छन् । सोही अवधिमा चार हजार ७०५ जना नेपाली श्रमिक कोरिया गएका छन् ।

दक्षिण कोरियाले पछिल्लो समय कृषि तथा पशुपालन, उत्पादन, निर्माण, सेवा र पानीजहाज निर्माण क्षेत्रमा नेपालबाट श्रमिक लैजाने प्रक्रिया अघि बढाएको छ । इपिएस प्रणालीबाट १६ वटा देशबाट श्रमिक लैजाने गरेको दक्षिण कोरियाले यस अन्तर्गत सबैभन्दा धेरै श्रमिक नेपालबाट छनोट गरिरहेको छ । इपिएसमार्फत आवेदन दिएका सबै आवेदकको भाषा परीक्षा कारियाली प्रतिनिधिको सहभागितामा हुने गरेको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाका अनुसार आर्थिक वर्ष २०७९/८० मा इपिएस भाषा परीक्षा उत्तीर्ण गरेर नेपालबाट २२ हजार र चालु आव २०८०/८१ पहिलो सात महिनामा लगभग नौ हजार नेपाली इपिएसमार्फत दक्षिण कोरिया पुगेका छन् ।

इपिएस कोरिया शाखाका अनुसार डेढ दशकको अवधिमा एक लाख पाँच हजार ९७३ नेपालीले दक्षिण कोरियामा रोजगारी पाएका छन् । जसमा ९६ हजार ७०५ पुरुष र नौ हजार २६८ महिला छन् । सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत नेपाली श्रमिकलाई कोरियाको श्रम बजारमा रोजगार अनुमति प्रदान गर्दै आएको हो । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री