सोमबार, २४ वैशाख २०८१

हामी हाम्रो अर्थतन्त्रसँगै अगाडि बढिरहेका छौँ 

समयपोष्ट २०७८ माघ २३ गते १४:४३

Advertisement

‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नाराका साथ आएको मेगा बैङ्क अहिलेसम्म आउँदा आफ्नो स्थापनाको नारामा कत्तिको सफल भएको छ ?

हामीले ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारा सुरुवातदेखि नै लिएका छौँ । आज हामीले तेस्रो रणनीतिक योजना बनाएका छौँ । त्यसमा पनि हामीले ‘हलोदेखि हाइड्रोसम्म’को नारालाई छोडेका छैनौँ । आजको दिनमा देशले नै ‘हलोदेखि हाइड्रोसम्म’को नारा लिएको छ । राष्ट्र बैङ्कले कति प्रतिशत पु¥याउनुपर्ने भनेर हाइड्रोलाई प्राथमिकताको क्षेत्र तोकिसकेको छ । त्यसैगरी, कृषि क्षेत्रलाई पनि तोकिसकेको छ । यी क्षेत्रहरु हेर्नैपर्ने रहेछन् भन्ने कुरा अहिले देशले नै बुझेको छ । हलोदेखि हाइड्रोसम्म भनेर हामीले सम्पूर्ण नेपालीलाई समेट्न खोजेका हौँ । नेपाली समाजको सम्पूर्ण तथ्याङ्क साना–साना कर्जाहरुदेखि लिएर रिटेल, एसएमई, एमएसएमई लोन, मिड कोअपरेट, कोअपरेट, पूर्वाधार यी सबैमा समेटौँ भनेर लिएर आएको नारा हो । सरकारले प्राथमिकताको क्षेत्र कृषि, जलविद्युतमा तोकेको छ । डिप्राइभ्ड सेक्टरको लोन त पहिलेदेखि नै प्राथमिकताको क्षेत्रको लोन छँदैछ ।

हामीले पहिलेदेखि नै फोकस गरेको क्षेत्र भनेको साना तथा मझौला उद्यमहरुलाई नै हो । हामीले पहिलेदेखि नै यसमा काम गरिरहेको हुँदा आजको दिनमा साना–साना उद्यमीहरुलाई सहयोग गर्दै अगाडि बढेका हौँ । नयाँ व्यवसाय सुरु गरेर केही गर्छु भन्ने युवाहरुलाई पनि हामीले सहयोग गरिरहेका छौँ ।

यी प्राथमिकताका क्षेत्रमा कर्जा दिनुपर्छ भन्दा हाम्रो बैङ्कको प्रपर्टी १ सय ४५ अर्बको लेण्डिङको छ । यसमा हाम्रो धारणालाई पहिलेदेखि नै अवलम्बन गरेको हुनाले अहिले कृषि, एसएमईमा, एमएसएमईमा ठाउँ पुगेन या लोन गर्न सकेको छैन भन्नुपर्ने अवस्था छैन । जलविद्युतमा पनि हामीले गरिराखेका छौँ । हामीले भन्न खोजेको जलविद्युत र पूर्वाधारहरु पनि हुन् है । देशको विकासको निम्ति जति पनि ठूला–ठूला प्रोजेक्टहरु छन्, तिनमा पनि हामी सहभागी हौँ भनेर ल्याएको नारा हो यो । जुन नाराका साथ आएका थियौँ, त्यो नारालाई निरन्तरता दिनुको कारण त्यो नाराभित्रै बसेर हामीले काम गरिरहेका छौँ । यो गर्नका निम्ति हामी देशव्यापीरुपमा फैलिनु पनि पथ्र्यो । आजको दिनमा मेगा बैङ्कको २ सय ३ वटा शाखासहित देशव्यापी फैलिएको छ । एक्सटेन्सन काउण्टर, ब्राञ्चलेस बैङ्किङहरु छन् । हिजो हामीले ८० जनाबाट सुरु गरेका थियौँ । आजको दिनमा हामीसँग लगभग १८ सय जना कर्मचारीहरु हुनुहुन्छ । हामी सबै नेपालीलाई सेवा गरौँ भन्ने उद्देश्यका साथ आएका हौँ । हामीले उहाँहरुको विश्वास जित्दै अघि बढिरहेका छौँ जस्तो लाग्छ ।

Advertisement

मेगा बैङ्कले परम्परागत बैङ्किङबाहेक देशको अर्थतन्त्रलाई टेवा पुग्ने कस्ता लगानीका क्षेत्रलाई फोकस गर्दै आएको छ ?

हामीले पहिलेदेखि नै फोकस गरेको क्षेत्र भनेको साना तथा मझौला उद्यमहरुलाई नै हो । हामीले पहिलेदेखि नै यसमा काम गरिरहेको हुँदा आजको दिनमा साना–साना उद्यमीहरुलाई सहयोग गर्दै अगाडि बढेका हौँ । नयाँ व्यवसाय सुरु गरेर केही गर्छु भन्ने युवाहरुलाई पनि हामीले सहयोग गरिरहेका छौँ । अहिले बैङ्किङ क्षेत्रमा नयाँ फड्को भनेको डिजिटलाइजेसनको हो । अहिले कार्ड, एटीएम, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ भनेर यी सबै कुरा सबै बैङ्कहरुले ल्याएकै छन् । हामीले भिडियो अकाउण्ट ओपनिङ भनेर केवाईसी भिडियोबाट गर्न मिल्ने ल्याएका छौँ । त्यसपछि मेगा बैङ्कको अकाउण्टमा गएर कुरा राख्दा तुरुन्त जवाफ दिने ‘क्विक बैङ्किङ’ सुरु गरेका छौँ । सिष्टमलाई पनि डिजिटलाइज गरेर अलिकति फरक तरिकाले बैङ्किङ गर्न अगाडि बढेका छौँ । बैङ्किङ क्षेत्र भनेको हाम्रो अर्थतन्त्रको मेरुदण्ड नै हो । हामीले पनि त्यसमा योगदान गर्ने हो । मेगा बैङ्कले अलि पृथक तरिकाले कसरी गरेको छ भन्दा हामीले बैङ्कको दायरामा नआएकालाई दायरामा ल्याउन लो एरियामा पनि बैङ्क खोलेका छौँ । पहिलेदेखि ब्राञ्चलेस बैङ्किङलाई परिचित गरायौँ । त्यसले गर्दा हाम्रा ग्राहकहरु बाह्र–तेह्र लाखको हाराहारीमा पुगिसक्नुभयो ।

मर्ज गर्न हाम्रो बोर्ड पनि अति आत्तिइरहेको छ । मर्जर भनेको अलि ध्यान दिएर, मिलाएर, सफलतापूर्वक अवतरण गर्नुपर्छ । हतारिएर मर्जर गरेर हुँदैन । आफ्नो बैङ्कको भिजन, मिसन, सोचलाई अगाडि बढाउनका निम्ति पार्टनर पनि त्यस्तै चाहिन्छ । त्यसको खोजीमा हामी छौँ ।

अर्थतन्त्र चलायमान बनाउन सबै नेपालीहरुलाई अर्थतन्त्रमा जोड्नुपर्छ । त्यसका लागि हाम्रो खाता खोल्ने अभियान छ । हरेक नेपालीको खाता खोल्दै हामी हाम्रो अर्थतन्त्रसँगै अगाडि बढिरहेका छौँ । हामी सत्ताईसौँ– अठ्ठाईसौँ नम्बरमा रहेको बैङ्क आजको दिनमा नवौं नम्बरमा छौँ । हाम्रो बैङ्कको सात–आठ वर्षको एभरेज ग्रोथ रेट डिपोजिट, लेण्डिङ र प्रोफिट सबैमा मार्केटको भन्दा डबल बढी देखिन्छ । मार्केट अठार–उन्नाईस प्रतिशतमा छ भने हामी ३६ प्रतिशतको दरले बढेको देखिन्छ । त्यसले पनि हामी अर्थतन्त्रमा दरिलो विश्वासिलो बैङ्कको रुपमा स्थापित भएर योगदान गरिरहेका छौँ ।

अहिले पुराना बैङ्कहरु धमाधम मर्जरमा गइरहेका छन् । मेगा बैङ्कले कस्तो पार्टनर खोजिरहेको छ ?

हामीले पश्चिमाञ्चल डेभलपमेण्ट बैङ्क, टुरिजम डेभलपमेण्ट बैङ्क र गण्डकी विकास बैङ्कलाई मर्ज गरिसकेका छौँ । मर्जरपछिको हाम्रो सिनर्जेटिक इफेक्ट राम्रो देखिएको छ । मर्जरमा सबैभन्दा ध्यान दिनुपर्ने कर्मचारीको सन्तुष्टि हो । त्यसलाई मध्यनजर गरेर हामी अगाडि बढिरहेका छौँ । हाम्रो रिजल्ट पनि राम्रो आइरहेको छ । आगामी दिनमा ठूला कमर्सियल बैङ्कहरु पनि मर्ज गरेर अगाडि बढ्नुपर्छ भन्ने सोच आइरहेको छ । मर्ज गर्न हाम्रो बोर्ड पनि अति आत्तिइरहेको छ । मर्जर भनेको अलि ध्यान दिएर, मिलाएर, सफलतापूर्वक अवतरण गर्नुपर्छ । हतारिएर मर्जर गरेर हुँदैन । आफ्नो बैङ्कको भिजन, मिसन, सोचलाई अगाडि बढाउनका निम्ति पार्टनर पनि त्यस्तै चाहिन्छ । त्यसको खोजीमा हामी छौँ ।

लिक्विडिटी क्रञ्चको कारणले वाणिज्य बैङ्कहरुले लोन नै रोकेको अवस्था थियो । अहिले तरलता अभाव कम हुँदै गएको हो ?

राष्ट्र बैङ्कले सरकारी रकम ८० प्रतिशत खर्च गर्न असारसम्मलाई खोलिदिएको छ । त्यसले अलि सहजता महशुस भएको छ । तर, त्यो समाधान होइन । डिपोजिट ग्रोथ नै हुनुपर्छ । अझै पनि हामीले चाहेको जस्तो ग्रोथ देखिरहेका छैनौँ । आगामी दिनहरु पनि चुनौतीपूर्ण नै हुन्छ जस्तो लागिरहेको छ ।

यसको दीर्घकालीन उपाय के होला ?

पहिले हामीले क्रेडिट क्रञ्च भन्थ्यौँ । यसपालि लिक्विडिटी र क्रेडिट दुवै क्रञ्च भएको छ । ३१ वर्ष भयो मैले बैङ्किङ क्षेत्रमा काम गरेको, यस्तो स्थिति विरलै देखिन्छ र यो प्रोलङ पनि भइरहेको छ । यसलाई मिलाएर अगाडि लैजान डिपोजिट ग्रोथ एकदमै महत्वपूर्ण छ । विदेशी लगानी ल्याएर हुन्छ कि, आन्तरिक निक्षेपको वृद्धि रेमिट्यान्सहरुमा फोकस गरेर त्यो बढाएर लगेर हुन्छ कि, पूँजीगत खर्च गरेर हुन्छ त्यो गर्नुपर्छ । तर, रिसोर्स इनह्यान्समेण्टमै हामीले जोड दिनुपर्छ । डिपोजिट भनेको रअ मटेरियल हो । त्यसकारण डिपोजिटलाई नै बढाउनुपर्ने आवश्यकता हामीले देखेका छौँ । राष्ट्र बैङ्कका टुलहरु अप्ठ्यारो परिस्थितिमा प्रयोग गर्न सक्ने गरी आउँछन् । तर, दीर्घकालीनरुपमा हाम्रो देशमा रिसोर्स मोभिलाइजेसन एकदम महत्वपूर्ण कुरा हो । त्यसैले बाहिरबाट ल्याउन सकिन्छ कि आन्तरिक रिसोर्सहरु कसरी इनह्यान्स गर्न सकिन्छ, सरकारी खर्च कसरी गर्न सकिन्छ ? भन्नेमा हामीहरुले ध्यान दिनुपर्छ ।

तरलता समस्यामा बैङ्कहरुको कमजोरी कत्तिको देख्नुहुन्छ ? आर्थिक वर्षको सुरुवातमा बढी कर्जा प्रवाह गर्ने, पछि पैसा सकियो भन्ने जुन परिपाटी छ नि ?

बढी कर्जा प्रवाह गर्नेभन्दा पनि बजारमा माग भएर हो । श्रावण–भाद्रदेखि नै कोभिड अलि कम भइरहेको जस्तो देखिएको थियो । त्यसले गर्दा पनि आयात एकदम बढेको थियो । माग भएसम्म बैङ्किङ क्षेत्रले सपोर्ट नै गर्ने हो । तर, त्यो डिमाण्डलाई सपोर्ट गर्दा लेण्डिङ ग्रोथ भयो, डिपोजिट ग्रोथ भएन । यो हुनुको मुख्य कारण नै यही हो । कसैलाई दोष लगाउने कुरा होइन । हाम्रो मार्केटमा बिजनेसको डिमाण्ड नै बढेको हो । आयातमा पैसा बढी गयो । त्यो बेला कोभिडबाट भर्खर–भर्खर निस्किन लागेका थियौँ । अर्थतन्त्र चलायमान हुन लागेको थियो । मार्केटको आवश्यकतालाई पूरा गर्न कोशिस गर्दा त्योअनुसारको लेण्डिङ ग्रोथ भएको देखिन्छ । तर, पैसा उत्पादनशील क्षेत्रमा जानुपर्छ भन्ने आभास हामी सबैलाई भइसकेको छ ।

हाम्रो फोकस आगामी दिनमा डिजिटलाइजेसनमा हुन्छ । सकेसम्म भौतिकरुपमा कोही बैङ्कमा आएर सेवा लिनेभन्दा पनि सबै सेवा आफ्नै घरमा बसेर कसरी उपलब्ध गराउन सकिन्छ ? सहज कसरी गराउन सकिन्छ ? भन्नेतिर हाम्रो बैङ्क जान्छ ।

अझै पनि बैङ्किङ सिष्टमबाहिर ठूलो कारोबार भइरहेको छ भनिन्छ । यसलाई बैङ्किङ सिष्टममा ल्याउन के गर्नुपर्छ ?

यो विषयमा सबै जानकार छन् । यसलाई बैङ्किङ सिष्टममा ल्याउन रेमिट्यान्सका एक्सेसहरु चेञ्ज गर्नुपर्छ कि, नियम–कानुनहरु चेञ्ज गर्नुपर्छ कि ? त्यो इनफर्मल इकोनोमी पहिले पनि थियो, अहिले पनि छ । त्यसलाई कण्ट्रोल गर्न सकेसम्म हामी मिलेर जाऔं भन्ने कुरा पनि आउँछ तर वर्षौँ वर्ष इनफर्मल इकोनोमी चलिआएको छ, त्यसलाई ह्वात्तै कण्ट्रोल गर्ने अवस्था देखिएको छैन । त्यसबाट बैङ्किङ सेक्टरमा केही फरकपन ल्याउँला भन्ने आशा पनि गरेका छैनौँ ।

मेगा बैङ्कका आगामी योजना के छन् ?

ओमिक्रोनले बैङ्किङ सेक्टरलाई त्रसित गराएको छ । हाम्रा धेरै स्टाफहरु सङ्क्रमित भएर घरमा बस्नुपरेको छ । स्वास्थ्यलाई ख्याल गर्नुपर्ने अवस्था छ । यो अवस्था आउँदो दुई–तीन हप्तामा कण्ट्रोल भएको खण्डमा फेरि हामी रिभाइवलतिर जान्छौँ जस्तो लाग्छ । अहिले यसले आर्थिक प्रगतिमा पनि दुःख दिन्छ कि जस्तो भइरहेको छ । यी सबै अवस्थाका बाबजुद पनि नेपालमा भूकम्प गयो, नाकाबन्दी भयो । यी सबैसँग जुधेर बैङ्किङ क्षेत्रले अर्थतन्त्र र ग्राहकहरुलाई योगदान दिँदै आएको छ । बैङ्किङ क्षेत्र पारदर्शी छ । हामीले सेकेण्ड फिस्कल स्ट्राटिजिक प्लानको चार वर्ष पूरा गरेर नयाँ पञ्च वर्षीय योजना अप्रुभ गराइसकेका छौँ । हामी त्यहीअनुसारले अगाडि बढ्ने नै छौँ । हाम्रो फोकस आगामी दिनमा डिजिटलाइजेसनमा हुन्छ । सकेसम्म भौतिकरुपमा कोही बैङ्कमा आएर सेवा लिनेभन्दा पनि सबै सेवा आफ्नै घरमा बसेर कसरी उपलब्ध गराउन सकिन्छ ? सहज कसरी गराउन सकिन्छ ? भन्नेतिर हाम्रो बैङ्क जान्छ ।समयबोध म्यागेजिन, माघ २०७८ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री