सोमबार, १३ असार २०७९

आकर्षक गन्तव्य बन्दै जगदीशपुर ताल

समयपोष्ट २०७४ फागुन १६ गते ६:५५

चुरामणि अर्याल

Advertisement

विश्व सिमसार क्षेत्रमा सूचीकृत यहाँको जगदीशपुर ताल पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

सदरमुकाम तौलिहवादेखि करिब ११ किमी उत्तर कपिलवस्तु नगरपालिका–९ मा पर्ने कृत्रिम रूपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो यो ताल बुद्धस्थल लुम्बिनी घुम्न आउने पर्यटकका लागि नयाँ गन्तव्य बनेको हो ।

पछिल्लो समय लुम्बीनी घुम्न आउने विदेशी पर्यटक उल्लेख्य रुपमा यो तालको समेत अवलोकन गर्न आउने हुनेले जगदीशपुर ताल पर्यटकीय गन्तव्य बन्दै गएको हो । तिलौराकोट हँुदै यस तालमा आउने पर्यटकका लागि तालमा रहेका चरा आकर्षण बनेका छन् । यसले गर्दा चरा अवलोकन गर्न आउने पर्यटक पनि बढेका हुन् । वन र वातावरणका विद्यार्थीदेखि अनुसन्धान गर्न पनि उत्तिकै आउने गरेका छन् । बेलायती र अस्ट्रेलियाली पर्यटकका लागि ताल मुख्य गन्तव्य बनेको छ ।

दैनिक आउने आन्तरिक र विदेशी पर्यटकको यकिन तथ्यांक नभए पनि पछिल्लो समय यो ताल चरा अवलोकनको गन्तव्य बन्दै गएको वरिष्ठ चराविद् हेमसागर बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “एकै ठाउँबाट नेपालमै सबैभन्दा धेरै चरा देख्न सकिने हुँदा सबैको आकर्षणमा पर्छ  ।”

Advertisement

लामो समय लगाएर हिमशृंखला पार गरी आएका पानी चरा तालमा रमाउँछन्, आहार, विहार, जलक्रिडा गर्छन्, कतिपयले बच्चा पनि कोरल्छन् । उनीहरूसँगै रैथाने चरा पनि देख्न पाउने हुँदा पर्यटक रमाउने गरेको उहाँको भनाइ छ ।

तालमा साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्कमेनिस्तान र कीर्गिस्तानलगायत देशबाट चरा आउने गर्छन् । तालसँगै रहेको बाणगंगा नदी, नहर र झाडी बुट्यानमा पनि उत्तिकै चरा देख्न सकिन्छ । तालमा चराका तस्बीर खिच्न पनि देश विदेशबाट पर्यटक यहाँ आउने गर्दछन् ।

केही समयअघि बेलायती चराविद् टोनी मेनवुड आएर चरा अवलोकन गरी फर्किनुभयो । पत्नी हेलेनसँगै आउनुभएका उहाँ चराका खुट्टामा रिङ लगाउने विशेषज्ञ हुनुहुन्छ । “एउटै फ्लग (समूह) मा चार हजारभन्दा बढी चरा देख्दा छुट्टै आनन्दको अनुभूति भयो,” उहाँले भन्नुभयो, “छोटो समयमै तालमा धेरै चराको जलविहार, चिरविराहट र जलक्रिडाले निकै रोमाञ्चित बनायो ।”

एकै छिनमा ३० भन्दा बढी प्रजातिको चरा देखेपछि मनै फुरुंग भएको हेलेनले बताउनुभयो । “चरा हेरेर शान्तिको अनुभूति भयो,” उहाँले भन्नुभयो, “बुद्धशिक्षाबाट शान्ति आउँछ भन्ने थाहा थियो, चरा हेरेरै पनि शान्ति अनुभूति गर्न सकिन्छ भन्ने नयाँ अनुभव सँगालेँ ।”

अस्ट्रियाका चर्चित वन्यजन्तु फोटो पत्रकार क्लाइड ओडोने प्रत्येक २ वर्षमा तालमा फोटो खिच्न आउनुहुन्छ । नेपालमा चरा फोटो पत्रकार ओम यादव पनि बर्सेनी ताल पुग्नुहुन्छ । “चरा हेरेरै मन आनन्दित भयो,” बिबिसी नेपाली सेवामा समेत काम गरिसकेका वातावरण पत्रकार रमेश भुसालले भन्नुभयो, “जगदीशपुर त चराको उर्वरभूमि रैछ । पहिलोपटक जगदीशपुरले धीत मार्ने गरी चरा देखाएर आनन्दित बनायो ।”

चराकै आकर्षण थप्न तालमा ५ वर्षयता बर्सेनी चरा महोत्सव गरिँदै आएको छ । तालमा विश्वमै दुर्लभ मानिने भुँडीफोड गरुड, सारस, श्वेत आँखीभौँ भएको र डंगर गिद्ध देखिन्छ । तालमा यस वर्ष मरुल, सुनजुरे, हाँसला गैरी, सिन्दुरे हाँस १५ हजारभन्दा बढीको संख्यामा छन् ।

सलसिले हाँस, सुइरोपुछ्रे्र, चखेवा, बगाले सिमकुखुरा, जलेवा, सुइरोठुँडे, मालक र हरियो टाउकेहाँस पनि एक–एक हजारको संख्यामा देख्न सकिन्छ । “नेपालमा आउने पर्यटकमध्ये पाँच प्रतिशत चरा हेर्नकै लागि आउँछन्”, चराविद् सोम जिसीले भन्नुभयो, “पर्यटकका लागि जगदीशपुर, सौराहा, पोखरा र कोशी टप्पु बढी रोजाइमा पर्छन् । चराको रोजाइमा जगदीशपुर पनि पर्न थाल्यो । त्यही भएर ताल नजिकका बुट्यान र घाँसे मैदान संरक्षण गर्नु जरुरी छ ।”

ताल र वरपरबाट अहिले नदीजन्य पदार्थको ओसारप्रसार बढ्दो रहेको अर्का चराविद् दिनेश गिरीले बताउनुभयो । “त्यसलाई नियन्त्रण गर्नुपर्छ,” उहाँ भन्नुहुन्छ, “चराको बासस्थान र आहार–विहार गर्ने ठाउँ नजिक क्रसर उद्योग र बालुवा सप्लायर्स सञ्चालित हुनु राम्रो होइन । यसबारे बेलैमा सचेत हुनुपर्छ । त्यसले चरा पर्यटनलाई असर गर्छ ।” तालमा एकैपटक हजारौँ चरा देखिन्छ । त्यसै चरामा रमाउनेका लागि ताल उत्कृष्ट गन्तव्य बन्दै गएको हो ।

यस वर्ष तालमा मरुल सबैभन्दा बढी सात हजार ३५० गणना गरियो । सुनजुरे हाँस, तीन हजार ४५०, बिजुला गैरी दुई हजार ६९४, सिन्दुरे हाँस दुई हजार ५२६ र खडखडे एक हजार ७५८ गणना गरिएको छ । “एउटै फ्लगमा तीन हजार चरा गणना हुनु निकै राम्रो बासस्थान मानिन्छ,” चराविद् बरालले भन्नुभयो, “यस्तो संरक्षण क्षेत्र जोगाई राख्नुपर्छ ।” गत वर्षभन्दा यस वर्ष भने दुई प्रजाति कम ५२ प्रजातिको चरा गणना गरिएको छ । विश्व सिमसार क्षेत्रमा सूचीकृत तालमा यस वर्ष २२ हजार ४९१ जलपक्षी गणना गरिएको थियो ।

जलवायु परिवर्तन र आहारविहारले चरालाई समस्या परिरहे पनि यहाँ भने राम्रो वातावरण छ । उन्मुक्त वातावरणमा रमाउन पाउँछन् । तालभित्र लुक्ने, बस्ने र आहारका लागि राम्रो वातावरण छ । “ठूलो ताल हँुदा जता पनि रमाउन पाउँछन्,” चराविद् बरालले भन्नुभयो, “सुरक्षित पनि उत्तिकै महसुश गर्छन् त्यसैले यसलाई जोगाउनुपर्छ । यो मुलुकमै उत्कृष्ट चरा अवलोकनको गन्तव्य बनेर पर्यटनमा राम्रो टेवा दिन्छ ।”

एक–दुई घण्टामै ४०÷४५ भन्दा बढी प्रजातिका चरा देख्न पाउनुले यहाँको महत्व बढेको अर्का चराविद् बद्री चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “संख्या बढ्नुले तराईमा जगदीशपुर उपयुक्त बासस्थल हो भन्ने बुझिन्छ ।” यहाँ प्रशस्त आहार पाउने र सुरक्षित महसुश गर्ने हँुदा चरा बर्सेनी बढ्नु चरा अध्ययन गर्नेलाई उपयुक्त ठाउँ बनेको छ । तालको चारैतर्फ खेत र बालीनाली हुने हुँदा यहाँ चरा आकर्षित भई टाढाटाढाबाट आउने गरेका छन् ।

तालबाट देखिने हिमालले पनि पर्यटकलाई उत्तिकै लोभ्याउँछ । साँझ र बिहानको सूर्योदय र सूर्यास्तको ताल मनमोहक बन्छ । १५७ हेक्टरमा फैलिएको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचीकृत भएको हो ।

तालमा १६७ भन्दा बढी प्रजातिका चरा, आठ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाइने आइयुसिएनले गरेको अध्ययनले देखाएको छ । विश्वमै दुर्लभ मानिएका आठ प्रजातिका चरा पनि देख्न पाइन्छ  । अहिले तालमा ४४ भन्दा बढी प्रजातिका पानी चरा सजिलै देख्न सकिन्छ । ताल नेपालमा पाइने २७ प्रजातिका चराका लागि महत्वपूर्ण क्षेत्रका रूपमा रहेको वरिष्ठ चराविद् बराल बताउनुहुन्छ । ताल सिमसार र जैविक विविधताले निकै महत्वपूर्ण छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामाग्री