शुक्रबार, १४ वैशाख २०८१

श्रीदेवीको निधनबारे विवाद, दुबई प्रहरीले दियो यस्तो जानकारी

समयपोष्ट २०७४ फागुन १५ गते १६:२६

दुबइमा हृदयाघातका कारण मृत्यु भएको भनिएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको मृत्युबारेमा विवाद उत्पन्न भएको छ ।

Advertisement

दुबइको अस्पतालले पोस्टमार्टम रिपोर्टमा मृत्यु स्वभाविक रुपमा भएको होइन भनेर दिएको भन्दै भारतीय सञ्चार माध्यमले उहाँको हत्या भएको हुनसक्ने आशङ्कासहितका समाचार प्रकाशन प्रशारण गरेका छन् ।

उहाँको मृत्युको कारण हृदयघात, बाथ टबमा डुबेर, रक्सी पिएर अथवा कुनै षडयन्त्रका कारण भन्ने विभिन्न समाचार बाहिर आएका छन् ।

यसैबीच श्रीदेवीको पार्थिक शरीरलाई मङ्गलबार पनि स्वदेश ल्याइएको छैन । कतिपय समाचारमा उहाँले अत्यधिक रक्सी सेवन गर्ने गरेको बताइएपनि भारतीय सिनेमा जगतका व्यक्तित्वले श्रीदेवीले कडा मात्रामा रक्सी सेवन नगर्ने गरेको बताएका छन् ।

साथै श्रीदेवीका श्रीमान् बोनी कपूरलाई दुबई प्रहरीले सोधपुछ गर्ने भारतीय सञ्चारमाध्यमले जानकारी दिइरहेका छन् ।

यद्यपी सोमबार दुबई सरकारले बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’मा डुबेर भएको जानकारी गराएको छ ।

सोमबार नै मुम्बईबाट दु्बइ ल्याइने भनिएको श्रीदेवीको शव यस्तै अन्यौलको स्तिथिका कारण मङ्गलबार पनि ल्याउन सकिएको छैन ।

उहाँको पार्थिक शरीरलाई मुम्बई ल्याइ श्रद्धाञ्जलि दिन सिने जगतलगायतका उनका हजारौँ समर्थक मुम्बईमा पर्खाइमा रहेका छन् ।

चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको थियो । संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुनगएका बेला शनिबार राति हृदयाघातका कारण उहाँको मृत्यु भएको जनाइएको थियो ।

दुबई प्रहरीद्वारा श्रीदेवीको मृत्युको मुद्दा बन्द भएको जानकारी

दुबई प्रहरीले भारतीय चर्चित अभिनेत्री श्रीदेवी कपूरको शव उहाँकोे परिवारलाई हस्तान्तरण गरेको छ ।

परिवारलाई मृत शरीर हस्तान्तरण गर्नुपूर्व उहाँको मृत्युको मुद्दा दुबई प्रहरीले बन्द गरेको जनाएको थियो । सुरक्षित राख्ने आवश्यक उपाय गरेपछि उहाँको शवलाई अन्तिम संस्कारका लागि भारत लगिने छ ।

भारतीय सिनेमा जगतमा पहिलो प्रख्यात नायिका श्रीदेवीको शनिबार राति दुबईको एक सुविधासम्पन्न होटेलको कोठाभित्र निधन भएको थियो ।

“दिवङ्गत भारतीय नायिका श्रीदेवीको निधन होटलको एक ‘वाथ टब’मा एक्कासी बेहोस भएपछि डुबेर भएको ठहरिएकोे छ, विधि विज्ञान परीक्षणपछि दुबई प्रहरीको मुख्यालयले सोमबार सार्वजनिक गरेको रिपोर्टलाई उद्धृत गर्दै दुबईको सरकारी सञ्चार संस्था ‘गल्फ न्यूज’ले उल्लेख गरेको छ ।”

वलिउड नायिकाको पूरा नाम, राहदानी नं तथा निधन भएको मिति र मृत्युको कारण खुलाइएको विधिविज्ञान परीक्षण प्रतिवेदनमा संयुक्त अरब इमिरेट्स (युएई) सरकारको स्वास्थ्य मन्त्रालयको छाप तथा दुबईको रोग निरोधक औषधि विभागका निर्देशक तथा वरिष्ठ चिकित्सक सामी वाडीको हस्ताक्षर रहेको छ ।

उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन मानिसहरू श्रीदेवीको मुम्बईस्थित घरबाहिर व्यग्रताका साथ भेला भएका भारतीय टेलिभिजनले देखाएका छन् । पिटीआई /रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित सामाग्री