शुक्रबार, १४ वैशाख २०८१

सामुदायिक शिक्षाको स्तर खस्किँदै गएकोमा प्रचण्डको चिन्ता

समयपोष्ट २०७४ फागुन १२ गते १३:०३
 नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको सामुदायिक शिक्षाको स्तर खस्किँदै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।
नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सवका अवसरमा प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले शिक्षामा नीजिकरणलाई कम गर्दै लैजाने र सामुदायिक शिक्षाको स्तर बढाउन चानचुने प्रयासले नपुग्ने बताउनु भयो ।
“कतिपय देशमा राज्यले शिक्षामा २० प्रतिशत बजेट विनियोजन गरेको हुन्छ ।” अध्यक्षले भन्नुभयो, “तर दुखको कुरा, हामीकहाँ यो घट्दै गइरहेको छ । अब टालटुले मात्रात्मक सुधारले सम्भव छैन । दृढतापूर्वक गुणात्मक परिवर्तनका लागि राज्यले पहल गर्नु जरुरी छ ।”
शिक्षा प्रणाली उत्पादनमुखी, रोजगारी बढाउने र समुदायको हितमा हुनुपर्ने बताउनुहुँदै अध्यक्षले अहिलेको शिक्षाले शिक्षित बेरोजगार उत्पादन गरिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । अध्यक्षले भन्नुभयो, “हाम्रो शिक्षा बेरोजगार पैदा गर्ने जस्तो भयो । एमए, पीचडी गरेका समेत कामको खोजिमा विदेशिन बाध्य छन् । रोजगारी र उत्पादनमूलक समुदायको हितका लागि शिक्षा भएन भने हामीले भनेको समृद्धि र विकास असम्भव छ ।”
अध्यक्ष प्रचण्डले शिक्षामा लगानी बढाउन आवश्यक पहल गरिने समेत बताउनु भयो ।
अध्यक्ष प्रचण्डले आफैंले अध्ययन र अध्यापन गर्नुभएको उक्त विद्यालयमा सिभिल इन्जिनियरिङको पढाईका लागि समेत पहल गर्ने अध्यक्षले बताउनुभयो ।
वि। स २०२१ सालमा स्थापना भएको विद्यालयको भौतिक विकासको निम्ति अध्यक्ष प्रचण्डले गत वर्ष २४ लाख विनियोजन गर्नुभएको थियो ।
उक्त अवसरमा अध्यक्ष प्रचण्डले बिभिन्न व्यक्तित्वहरुलाई सम्मानपत्र समेत प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री