‘इतिहास पढ्ने मात्र होइन, रच्ने काम गर्नुस्’
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले लोकतन्त्रको आधारको रुपमा रहेको आवधिक निर्वाचनको मिति र सबै मतदाताले निर्वाचनमा मतदान गर्ने वातावरण सुनिश्चित गर्न दबाब सिर्जना गर्न युवावर्गसँग आग्रह गरेका छन् ।
लोकतन्त्र र निर्वाचन दिवसको एशोसिएसन अफ युथ अर्गनाइजेसन्स् नेपाल आयोनद्वारा आज यहाँ आयोजित ‘मतदानमा युवाको अधिकार’ कार्यक्रममा उनले भने, “युवा तपाईंहरु इतिहास पढ्ने मात्र होइन, इतिहास रच्ने काम गर्नुस्, सरकार र राजनीतिक दललाई दबाब सिर्जना गरेर आवधिक निर्वाचन सुनिश्चित गर्दिनुस् ।”
विदेशमा रहेका मतदातालाई मतदान गर्ने वातावरण मिलाउन सरकार र संसदलाई थप ध्यानाकर्षण गराउन आवश्यक रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले मतदाता शिक्षालाई विद्यालय तहदेखि नै परिस्कृत गर्ने उद्देश्यले ३० जिल्लाका सामाजिक शिक्षाका शिक्षकलाई आयोगले तालिम दिइसकेको जानकारी दिए।
प्रदेशसभा सदस्य रचना खड्काले राजनीतिक व्यक्तिलाई सच्याउने विधि र माध्यम तथा नेपाली जनतालाई सार्वभौमसत्ताको प्रयोग गर्ने एउटा मात्र अवसर भनेको निर्वाचन भएकाले युवापुस्ताले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन विशेष चनाखो हुनुपर्छ भने ।
उनले भनिन्, “हामीले अहिले अभ्यास गरिरहेको निर्वाचन समावेशी सिद्धान्त, गरिब र इमान्दार नेता तथा कार्यकताको हित विपरित छ, इमान्दार र राजनीतिक ‘भिजन’ भएको तर पैसा नभएकाले पनि निर्वाचन जित्न सक्छ भन्ने सन्देश प्रवाह गर्ने वातावरण बनाउनुपर्छ । महिला, दलित र गरिब समानुपातिकबाट मात्र निर्वाचित हुने परिस्थितिले लोकतन्त्र कसरी बलियो होला ?”
निर्वाचन आयोगका सहसचिव नवराज ढकालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण तथा मितव्ययी बनाउने आयोगको प्रस्तावलाई सबैले स्वीकार गरेकै कारण निकै उत्साहजनक र सौहार्द वातावरणमा निर्वाचन सम्पन्न भएको बताए ।
राष्ट्रिय युवा परिषद्का अध्यक्ष भावना भट्ट, आयोजक संस्था आयोनका अध्यक्ष हिमाल महतलगायतले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राज्यको ढुकुटीको अत्यधिक दोहन भएको, राजनीतिक दल र उम्मेदवारबाट आचारसंहिता उल्लङ्घनका व्यापक घटना हुँदा आयोग लाचार बनेको तथा मतदाता शिक्षा प्रभावकारी नभएको भनी लागेको आरोपलाई आयोगले प्रस्ट पार्न आवश्यक रहेको बताए ।
कार्यक्रममा एक वर्षको अवधिभित्रै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचन सफलतापूर्वक गरेर नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि उदाहरणीय काम गरेको भनी प्रमुख निर्वाचन आयुक्त यादवलाई अभिनन्दन गरियो । रासस
प्रतिक्रिया