शुक्रबार, १६ चैत २०८०

महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

समयपोष्ट २०७७ फागुन १६ गते २१:०१

Advertisement

पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि साविकअनुसार नै दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म खुला गरिने भएको छ । गत वर्ष चैत ११ गते कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरेपछि नौ महिनासम्म मन्दिर दर्शनार्थीका लागि पूर्णरुपमा बन्द गरिएको थियो ।

पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोकामात्र खुला गरी दुई वटा लाइनबाट भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन गराउने व्यवस्था मिलाइएको छ । महाशिवरात्रिदेखि पशुपतिका चारै ढोका खोल्ने व्यवस्था गरिने भएको छ ।

गत वर्ष चैत ११ गते अघिसम्म मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला गरिन्थ्यो । दिउँसो पशुपतिनाथलाई भोग लगाएपछि भने बेलुकी ५ बजेसम्म मूल मन्दिर बन्द गर्ने परम्परा छ । महाशिवरात्रिदेखि यही परम्परा अनुसार गर्ने गरी तयारी शुरु भएको कोषले जनाएको छ ।

कोरोना महामारी जारी नै रहे पनि यस वर्ष पशुपतिनाथ मन्दिरमा आउनेजति भक्तजनलाई दर्शन गराउने गरी पशुपति क्षेत्र विकास कोषले तयारी शुरु गरेको छ । तयारीका लागि आज कोषका महाशाखा एवम् शाखा प्रमुखबीच छलफल गरिएको निर्देशक भोलाप्रसाद सिटौलाले राससलाई जानकारी दिनुभयो । गत बुधबार पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनिको पीठिकामा सुनको जलहरी राखिएकाले पनि यस वर्ष महाशिवरात्रिमा धेरै भक्तजन आउने अनुमान कोषले गरेको छ ।

महाशिवरात्रिको तयारीका लागि सुरक्षा निकायसँग कोषले छलफल गरिरहेको जनाएको छ । यस वर्ष कोरोनाको जोखिम कायमै रहेकाले महाशिवरात्रिमा पशुपति क्षेत्र आउने भक्तजनका लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ । भौतिक दूरी कायम गराउन असहज हुने देखिएपनि स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले भक्तजनसँग आह्वान गरेको सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो । महाशिवरात्रिका दिन भक्तजनलाई विगत वर्षहरूमा जस्तै चार स्थानबाट लाइन लगाएर सहज रुपमा दर्शनको व्यवस्था गराइने छ । मूल मन्दिरभित्र भने भौतिक दूरी कायम गराइने उहाँले बताउनुभयो ।

विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा पशुपति क्षेत्रका विभिन्न स्थानमा स्वास्थ्य शिविर स्थापनाको तयारी भएको छ । गुठी संस्थानसँगको सहकार्यमा महाशिवरात्रिमा पुशपति आउने साधुसन्तलाई खाने, बस्ने, धुनी जगाउनेलगायत व्यवस्थापन पनि गरिँदैछ । दर्शनार्थीलाई सहज रुपमा चन्दन बाँड्ने व्यवस्था गरिनेछ ।

महाशिवरात्रिदेखि रसिद काटेर गरिने विशेष पूजा पनि शुरु गर्ने तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो । कोरोना महामारीका कारण विशेष पूजा गत वर्ष चैतदेखि नै बन्द भएको थियो । कोषको नेतृत्वमा तामझाम नगरी आएका भक्तजनलाई स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शन गराउने तयारी गरिएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री