बिहीबार, १३ वैशाख २०८१

सत्ता साझेदारी गर्न प्रचण्ड–माधव समूहको प्रस्तावपछि जसपाले राख्यो यस्ता शर्त

समयपोष्ट २०७७ फागुन १३ गते १३:३२

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले संयुक्त सरकार गठको विषयमा जनता समाजवादी पार्टीसँग छलफल गरेको छ ।

बिहीबार नेकपाको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले जसपाका नेताहरुसँग छलफल गरेका हुन् ।

छलफलमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ सहभागी थिए । छलफलमा सहभागी नेता श्रेष्ठले दाहाल–नेपालले सरकार गठनमा सहकार्यको प्रस्ताव गरेको बताए ।

जसपाका नेताहरुले संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ भएपछि मात्र सरकारमा सहभागी हुनका लागि छलफल गर्न सकिने धारणा राखेको बताईएको छ । विगतमा पनि सहकार्यको नाममा उधारो सहमति गरेर सरकारमा सहभागी गराइएको तर ती सम्झौताहरु कुनै कार्यान्वयन नभएको गुनासो उनीहरुको रहेको बताईएको छ ।

जसपा नेपालले साझा एजेण्डाको माग पनि गरेको छ । अब बन्ने सरकारले संविधान संशोधन, आन्दोलनका क्रममा थुनामा रहेका नेतालाई रिहाइ लगायतका विषयलाई साझा एजेण्डा बनाए मात्र सत्ता सहकार्यका लागि छलफल गर्ने कुरा राखेको बताईएको छ ।

त्यस विषयमा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले मधेशको माग पुरा गर्न आफूहरु शुरुदेखि सकारात्मक रहेको त्यसका लागि प्रयास पनि गरेको, आउने दिनमा पनि त्यसको बारेमा छलफल गरेर अगाडि बढ्न सकिने बताएका थिए ।

दाहाल–नेपालले बुधारमात्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहकार्य प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री