मंगलबार, ७ वैशाख २०७८

अर्थतन्त्रको पुनरुत्थानमा बैङ्किङ क्षेत्रबाट ठूलो ऊर्जा पुग्नेमा विश्वस्त छु

समयपोष्ट २०७७ माघ १९ गते ७:४८

Advertisement

कोरोना महामारीले बैङ्किङ क्षेत्रलाई कस्तो असर पारेको छ ?

सम्पूर्ण विश्व अर्थतन्त्रलाई नै लगभग ठप्प पारेको कोरोना महामारीले बैङ्किङ क्षेत्रलाई असर नपर्ने त कुरै भएन । महामारीका कारण अपनाइएको बन्दाबन्दी तथा स्थानीय निकायहरुले जारी गरेको निषेधात्मक आदेशलगायतका रोकथामका उपायका कारण शाखा खोल्नै नसकिने अवस्थाको सिर्जना भयो । महामारीबाट ग्राहक तथा कर्मचारीको सुरक्षाका लागि विभिन्न उपायहरु अवलम्बन गर्दा सामान्य अवस्थामा जस्तो सेवा प्रवाह गर्न सकिएन । वित्तीय पक्षको कुरा गर्दा एकातर्फ कर्जाको माग कम हुन गई अधिक तरलता सिर्जना हुन गयो भने अर्कातर्फ ऋणीहरुको कर्जाको किस्ता तिर्ने क्षमतामा ह्रास आई बैङ्कको नाफा–नोक्सान हिसाबमै असर पर्न गयो । सम्पूर्ण अर्थतन्त्र सामान्य अवस्थामा नफर्किएसम्म यसको दीर्घकालीन असर परिरहनेछ ।

Advertisement

कोभिड–१९ र नेपाल राष्ट्र बैङ्कले ऋणीलाई दिने भनेका विभिन्न सहुलियतले खराब कर्जा झन् बढाउने जोखिम कत्तिको देख्नुहुन्छ ?

कोभिड–१९ का कारण कतिपय व्यवसायहरु नराम्रोसँग प्रभावित भएका छन् । कतिपय व्यवसायहरु बन्द हुने स्थितिमै पुगेका छन् भने केहीलाई यसबाट सामान्य अवस्थामा आउन ठूलै चुनौती छ । यस्तो अवस्थामा त्यस्ता व्यवसायहरुले ऋणको व्याज तथा साँवा समयमै भुक्तान गर्न कठिन रहेको विदितै छ । यसबाट खराब कर्जा केही हदसम्म बढ्ने नै छ ।

जहाँसम्म नेपाल राष्ट्र बैङ्कले ऋणीहरुलाई दिने भनेको सहुलियतको सवाल छ, यसले व्यवसायीहरुलाई तत्कालका लागि राहत प्रदान गरेको छ । यस्ता निर्देशनहरु दिनुको पछाडि नेपाल राष्ट्र बैङ्कको उद्देश्य व्यवसायीहरुलाई आर्थिक बोझ कम गर्र्नु रहेको हाम्रो बुझाइ छ । यस्ता सहुलियतहरुका कारण भविष्यमा ऋणीहरुको आर्थिक अवस्था सुधार भएमा बैङ्कको कर्जा असुलीलाई सहयोग पुग्ने नै छ । साथै, नेपाल राष्ट्र बैङ्कले कोभिड प्रभावित ऋणीहरुलाई प्रदान गरिएको कर्जामा नोक्सानी व्यवस्था गर्न केही सहुलियत प्रदान गरेका कारण बैङ्कहरुलाई समेत राहत मिलेकै छ ।

राष्ट्र बैङ्कले कोभिड–१९ प्रभावित व्यवसायीहरुलाई राहत दिन भनिरहेका बेला बैङ्कहरुले धितो लिलाम गर्न थाले भन्ने व्यवसायीहरुको गुनासो सुनिन्छ नि ?

कोभिड–१९ कै कारण ऋण तिर्न नसक्ने ग्राहकहरुको धितो लिलाम गर्ने वा अन्य दबाव सिर्जना गर्ने पक्षमा हामी छैनौं । कारोवार वा आर्थिक लेनदेनभन्दा माथि उठेर ग्राहकहरुसँगको सम्बन्धलाई पहिलो प्राथमिकता दिने लक्ष्मी बैङ्कको मिसन नै हो र यसमा हामी अडिग छौं ।

यो विषय केही हदसम्म नैतिक पक्षसँग पनि जोडिएको छ । कठिन परिस्थितिमा बैङ्क तथा ऋणीहरुबीच एक–आपसमा समझदारी कायम गर्दै अघि बढेमा मात्र समग्र अर्थतन्त्रमा सुधार आई सबैका लागि सजिलो व्यावसायिक वातावरणको सिर्जना हुनेछ । कोभिड–१९ कै कारण ऋण तिर्न नसक्ने ग्राहकहरुको धितो लिलाम गर्ने वा अन्य दबाव सिर्जना गर्ने पक्षमा हामी छैनौं । कारोवार वा आर्थिक लेनदेनभन्दा माथि उठेर ग्राहकहरुसँगको सम्बन्धलाई पहिलो प्राथमिकता दिने लक्ष्मी बैङ्कको मिसन नै हो र यसमा हामी अडिग छौं । तर, समग्र वित्तीय क्षेत्रको हितका लागि नेपाल राष्ट्र बैङ्कले प्रदान गरेको सहुलियतलाई टेकेर कोभिड–१९ को प्रभाव सुरु हुनुअघि नै खराब रहेका कर्जा असुलीको काम भने रोकिन हुँदैन ।

पछिल्लो समयमा बैङ्कहरुमा तरलता प्रशस्त छ । यसले अनुत्पादक क्षेत्रमा लगानी बढाउने खतरा कत्तिको छ ?

तरलता भएकै कारण अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह बढ्छ भन्नु गलत हो । बैङ्कहरुको उल्लेखनीय लगानी नेपाल राष्ट्र बैङ्कबाट निर्देशित क्षेत्रमा हुने गर्छ । यसबाहेक पनि अन्य लगानीका लागि बैङ्कहरुले लगानीयोग्य क्षेत्रहरुको पहिचान गरी आफ्नो कर्जा रणनीतिकै अनुसार कर्जा प्रवाह गरेका हुन्छन् । कोभिड–१९ का कारण अधिकतम व्यवसायमा ह्रास आई कर्जाको मागमा कमी आए पनि घर कर्जालगायत उपभोक्ता कर्जाको माग केही बढेको यथार्थ नै हो । तर, यस्ता कर्जाको माध्यमबाट प्रवाहित रकम पनि अन्ततः बजारमै जाने हुनाले यसलाई अनुत्पादक क्षेत्र भन्न मिल्दैन । रोजगारीको सिर्जना गर्ने तथा राज्यकोषमा राजस्वमार्फत योगदान गर्ने कुनै पनि क्षेत्रलाई अनुत्पादक मान्न सकिन्न । विविध वर्गको कर्जाहरुमध्ये कुनै निश्चित समयका लागि कुनै एकको माग बढ्नु र अर्कोको माग घट्नु स्वभाविक नै हो ।

बैङ्कहरुले देशको अर्थतन्त्रलाई ठूलो प्रभाव पार्ने पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा भन्दा अटो, रियलस्टेट, सेयरजस्ता क्षेत्रमा बढी केन्द्रित भएको देखिन्छ । ठूला पूर्वाधारमा लगानीका समस्या के हुन् ?

हाल निजी लगानीमा निर्माण हुने जलविद्युत् परियोजनाबाहेक अन्य ठूला पूर्वाधारमूलक क्षेत्रबाट कर्जाको माग न्यून रहेकाले पनि यस्ता कर्जामा लगानी बढाउन कठिन छ ।

माथि भनिएजस्तै उपभोगजन्य कर्जाको माध्यमबाट प्रवाहित रकम पनि मौद्रिक बजारमै जाने हुनाले यसलाई पूर्णतया अनुत्पादक क्षेत्र भन्न मिल्दैन । तथापि, पूर्वाधारलगायतका परियोजनामा गरिएको लगानी दीर्घकालीन अर्थतन्त्रका लागि सहयोगी हुने कुरालाई नकार्न मिल्दैन । आफ्नो स्रोत र साधनले भ्याएसम्म बैङ्कहरुले ठूला पूर्वाधारका योजनाहरुमा लगानी गर्न तत्पर नै छन् । तैपनि विभिन्न आर्थिक, राजनीतिक तथा सामाजिक कारणहरुले गर्दा यस्ता परियोजनाहरु समयमै सम्पन्न हुन नसकी लगानीको प्रतिफल प्राप्त गर्न ढिलाइ हुने गरेको हाम्रो अनुभव छ । साथै, हाल निजी लगानीमा निर्माण हुने जलविद्युत् परियोजनाबाहेक अन्य ठूला पूर्वाधारमूलक क्षेत्रबाट कर्जाको माग न्यून रहेकाले पनि यस्ता कर्जामा लगानी बढाउन कठिन छ । यी समस्याहरुको निराकरण गर्न सकिए पूर्वाधारमूलक क्षेत्रमा बैङ्कहरुको लगानी अझ बढ्ने हाम्रो विश्वास छ ।

नेपाली बैङ्कहरुले खाली धितो लियो, ऋण दियो, नाफा, घाटा र सेयरहोल्डरलाई दिने प्रतिफलभन्दा बाहिर आएर समग्र देशकै अर्थतन्त्रलाई फाइदा हुने नवीनतम काम गर्न नसकेको आरोप पनि लाग्ने गर्दछ । नवीनतम काम गर्न के समस्या छन् ?

नेपाली व्यावसायिक क्षेत्रमा पारदर्शिता, स्थिरता, कुशल व्यवस्थापन, संस्थागत सुशासन, सामुदायिक उत्तरदायित्व, राजस्वमा योगदान, रोजगारी सिर्जनालगायतका पक्षहरुमा बैङ्किङ क्षेत्र सबैभन्दा अब्बल छ भन्नु गलत हुँदैन ।

अर्थतन्त्रका विभिन्न निकायहरुको आ–आफ्नै निश्चित उद्देश्य रहेको हुन्छ । सबै निकायहरुले आ–आफ्नो उद्देश्यबमोजिम कार्य समुचित रुपमा गरेमा मात्र सन्तुलित अर्थव्यवस्था कायम रहन्छ । विश्वभरि नै बैङ्कहरुको प्राथमिक कार्य भनेको बजारमा रहेको निक्षेपको स्रोत परिचालन गरी लगानीयोग्य रकमको स्रोत सिर्जना गर्नु नै हो, जसबाट अर्थतन्त्रका अन्य गतिविधि चलायमान रहून् र अर्थव्यवस्थामा मौद्रिक समस्या नआऊन् । यो कार्यका लागि ऋणीहरुसँग धितो लिने, सेयरधनीहरुलाई लगानीको प्रतिफल दिनेजस्ता गतिविधिहरु पनि आवश्यक हुन्छन् । यसबाहेक नेपाली बैङ्कहरुले समय–समयमा विभिन्न नवीनतम योजना तथा सेवाहरु ल्याई अर्थतन्त्रलाई आधुनिकीकरण गर्न तथा ग्राहकहरुलाई सहज सेवा प्रदान गर्न सहयोग गरी नै रहेका छन् । नेपाली व्यावसायिक क्षेत्रमा पारदर्शिता, स्थिरता, कुशल व्यवस्थापन, संस्थागत सुशासन, सामुदायिक उत्तरदायित्व, राजस्वमा योगदान, रोजगारी सिर्जनालगायतका पक्षहरुमा बैङ्किङ क्षेत्र सबैभन्दा अब्बल छ भन्नु गलत हुँदैन ।

नेपाल राष्ट्र बैङ्कले माइक्रो म्यानेजमेन्ट बढी गर्यो भन्ने पनि सुनिन्छ । राष्ट्र बैङ्कबाट अहिलेको अवस्थामा यहाँहरुको अपेक्षा के छ ?

विश्वबजारमा प्रवेश एवम् विदेशी वित्तीय तथा व्यावसायिक लगानीको ढोका खोल्नका लागि समेत खुला बजारको सिद्घान्तलाई अवलम्बन गर्दै नेपाल राष्ट्र बैङ्कले समग्र बैङ्किङ क्षेत्रको अभिभावकको रुपमा संरक्षकत्व प्रदान गरोस् भन्ने हाम्रो अपेक्षा छ ।

बैङ्किङ क्षेत्रमा अनुशासन कायम गर्ने कार्यमा केन्द्रीय बैङ्कले केही बढी चासो राख्नु स्वभाविक नै हो । बैङ्कहरुले स्वनियमन कायम नगरेको अवस्थामा बैङ्किङ क्षेत्रमा भएका कमी–कमजोरी सुधार गर्न नियमनकारी भूमिका खेल्नु केन्द्रीय बैङ्कको जिम्मेवारी पनि हो । केही निर्देशनहरुले बैङ्कको व्यवसायमा केही हदसम्म अङ्कुश लागे पनि ती निर्देशनहरु वित्तीय स्थायित्व तथा समग्र आर्थिक विकासकै निम्ति ल्याइएका हुन् भन्ने हाम्रो बुझाइ छ । यद्यपि, विश्वबजारमा प्रवेश एवम् विदेशी वित्तीय तथा व्यावसायिक लगानीको ढोका खोल्नका लागि समेत खुला बजारको सिद्घान्तलाई अवलम्बन गर्दै नेपाल राष्ट्र बैङ्कले समग्र बैङ्किङ क्षेत्रको अभिभावकको रुपमा संरक्षकत्व प्रदान गरोस् भन्ने हाम्रो अपेक्षा छ ।

कोभिड–१९ का कारण डिजिटल अर्थतन्त्रप्रति धेरैको चासो बढेको देखिन्छ । यसलाई अझ बढाउन के गर्नुपर्छ ?

डिजिटल बैङ्किङको विकासका लागि कोभिड–१९ वरदान नै सावित भएको कुरालाई नकार्न सकिन्न । बैङ्कका शाखाहरु बन्द रहेको तथा सङ्क्रमण जोखिमका कारण खुला रहेका शाखाहरुमा समेत जान नरुचाउने ग्राहकहरुका लागि बैङ्कहरुको अनलाइन तथा मोबाइल बैङ्किङ सुविधाहरुले धेरै हदसम्म ग्राहकको आवश्यकता पूर्ति गर्न सहयोग गरेको छ । यसबाट पहिलेदेखि नै प्रविधिमैत्री सेवाहरुलाई प्राथमिकतामा राख्दै डिजिटल बैङ्किङको प्रवद्र्घन गर्ने नीति रहेको लक्ष्मी बैङ्कलाई थप हौसला मिलेको छ । यसलाई अझ विस्तार गर्न हाम्रो रणनीतिअनुसार थप तयारीहरुसमेत गरिरहेका छन् । यसका लागि नियामक निकायले समयानुकूल तथा लचिलो प्रावधानहरु ल्याउन जरुरी छ । साथै, बढीभन्दा बढी ग्राहकहरुलाई डिजिटल बैङ्किङको परिधिभित्र ल्याउन इन्टरनेट सेवालाई सुलभ तथा सस्तो बनाउनसमेत आवश्यक छ ।

लक्ष्मी बैङ्कको अहिलेको अवस्था कस्तो छ ? आफूलाई कसरी फरक पहिचानसहित अगाडि लैजाँदै छ ?

हाम्रो ग्राहकहरुसँगको सम्बन्ध, मानव संशाधनको अब्बलता, उच्च नैतिक संस्कार, प्रविधिमैत्री सेवालगायतका सबल पक्षहरुको मद्दतले सबल र आधुनिक नेपालको निर्माणमा सहकार्य गर्न लक्ष्मी बैङ्क सदैव अग्रसर छ ।

लक्ष्मी बैङ्क आक्रमक र कृतिम बृद्धि भन्दा पनि दिगो वित्तीय समाधानको साधनका रुपमा आफूलाई स्थापित गर्ने नीतिबमोजिम अगाडि बढिरहेको बैङ्क हो । यसै अनुरुप बैङ्कले आफ्नो वासलातको आकार तथा सम्पूर्ण वित्तीय पक्षहरुमा समयानुकूल विकास गर्दै आएको छ । साथै, शाखा सञ्जालसमेत सुझबुझपूर्ण रणनीतिक बमोजिम विस्तार गर्दै गइरहेको छ । हाम्रो वित्तीय सम्पत्तिको गुणात्मकता कायम राख्न तथा दीर्घकालीन लक्ष्य हासिल गर्न स्रोत–साधनको पर्याप्ततामा हामी विश्वस्त छौं । हाम्रो ग्राहकहरुसँगको सम्बन्ध, मानव संशाधनको अब्बलता, उच्च नैतिक संस्कार, प्रविधिमैत्री सेवालगायतका सबल पक्षहरुको मद्दतले सबल र आधुनिक नेपालको निर्माणमा सहकार्य गर्न लक्ष्मी बैङ्क सदैव अग्रसर छ ।

सुस्ताएको मर्जरबारे फेरि बजारमा चर्चा–परिचर्चा हुन थालेको छ । लक्ष्मी बैङ्क मर्जरमा जाने योजना के छ ?

आकार बढाउनकै लागि मर्जर गर्नुभन्दा पनि बलियो बन्नलाई मर्जर गर्नुपर्ने धारणा लक्ष्मी बैङ्कको छ । लगानीकर्ता, कर्मचारी, ग्राहकहरुको समेत हित अनुकूल हुने तथा बैङ्कको व्यवसायमा दिगो योगदान पुग्ने सम्भावना भएमा मर्जर गर्न उचित हुने हाम्रो विचार रहेको छ । यसै अनुरुप उपयुक्त वित्तीय संस्था फेला परेमा मर्जर कार्य अगाडि बढाउन लक्ष्मी बैङ्क तत्पर छ ।

कोभिड–१९ महामारीको समयमा बैङ्किङ क्षेत्रले देखाएको प्रतिक्रियाको बारेमा के भन्नुहुन्छ ?

कोभिड–१९ हामी सबैका लागि आकस्मिक रुपमा देखा परेको समस्या थियो । जनजीवन नै लगभग ठप्प भएको बेलामा बैङ्कहरुले बिनाअवरोध न्यूनतम बैङ्किङ सेवा सूचारु राख्नु चुनौतीपूर्ण थियो । तैपनि बैङ्कहरुले सुझबुझपूर्ण निर्णय लिई सीमित स्थानबाट भए पनि शाखा खोलेर तथा एटीएम र डिजिटल च्यानलहरुको माध्यमबाट भुक्तानी सेवा प्रदान गरेका थिए । सङ्क्रमणको समयमा अत्यावश्यक वस्तु तथा औषधोपचारका सामग्रीहरुको नियमित आपूर्तिका लागि ट्रेड फाइनान्स सेवा तथा अत्यावश्यक भुक्तानीका लागि चेक क्लियरिङ, स्वीफ्टलगायत सेवाहरु नियमित रुपमा सञ्चालन भएका थिए । यसका अतिरिक्त बैङ्कहरुले ठूलो रकम महामारी रोकथाममा राहतस्वरुप समेत प्रदान गरेका थिए । नियमित बैङ्किङ व्यवसायबाट कर्जा प्रदान गर्ने तथा ऋणीलाई सहुलियत प्रदान गर्नेजस्ता कार्यहरु बढी चर्चा भए पनि नेपथ्यबाट सञ्चालित माथि उल्लिखित कार्यहरु एकदमै सह्रानीय रहेको मेरो धारणा छ । यस कठिन समयमा बैङ्किङ क्षेत्र र विशेषगरी बैङ्कका कर्मचारीहरुले देखाएको जुझारुपन तथा सेवाप्रतिको तत्परता प्रशंसनीय छ । नेपाली बैङ्कहरुको यही गुणका कारण नै अर्थतन्त्रको पुनरुत्थानमा बैङ्किङ क्षेत्रबाट ठूलो ऊर्जा पुग्ने कुरामा म विश्वस्त छु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री