राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति

देशको दीर्घकालीन परराष्ट्र नीति तर्जुमाका निम्ति सबै राजनीतिक दलबीच मतैक्यता हुनुपर्नेमा राजनीतिक नेतृत्व र सम्बन्धित क्षेत्रका जानकारले जोड दिएका छन् ।

Advertisement

उनीहरूले नेपालको राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धन गर्न सन्तुलित परराष्ट्र नीति निर्धारण गरेर आर्थिक विकासको मार्गमा अग्रसर हुनुपर्ने आवश्यकता औल्याएका हुन् ।

रातोपाटी डटकम र सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रले आज राजधानीमा आयोजना गरेको ‘शान्ति र समृद्धिका लागि नेपालको दीर्घकालीन परराष्ट्रनीति’ विषयक विचार गोष्ठीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले इतिहासमा सधैँ स्वाधीन रहेको हाम्रो देशको ऐतिहासिक पाटोलाई समेत ध्यानमा राखेर सरकारले सन्तुलित परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिए ।

“सन्तुलित ढङ्गले परराष्ट्र नीति बनाउनुपर्छ, यसका लागि दलबीच समान धारणा बनाउनु जरुरी छ, सुमधुर सम्बन्धबाहेक कतैपट्टी पनि ढल्किनु हुँदैन, हाम्रो भू–राजनीति नै त्यस्तै छ”, नेता नेपालले भने ।

उनले विदेशी मित्रराष्ट्रसँग आफ्ना कुरा प्रष्ट राख्नसक्ने कूटनीतिक क्षमताका साथै चतुर्यताको खाँचो रहेको बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डतालाई केन्द्रविन्दुमा राखेर शान्ति र समृद्धिलाई सहयोग पुर्याउने खालको परराष्ट्र नीति तय गर्नुपर्नेमा जोड दिए।

Advertisement

नेपालले आफ्नै ढाँचाको लोकतन्त्र स्थापना गरेको र सामाजिक न्यायसहितको समृद्धिको यात्रामा देश अघि बढेकाले विश्वलाई आफ्नो पक्षमा परिचालित गरेर लाभ लिने नीति जरुरी रहेको उनको भनाइ थियो ।

“अझै पनि कूटनीतिक क्षमताको विकास हुन सकेको छैन, भू–राजनीति जोखिममा छ, हामी हिनताबोधको सिकार भएका छौँ, त्यसैले राष्ट्रिय स्वार्थलाई ठीक ढङ्गले विष्लेषण गरेर रणनीतिकरुपमा परराष्ट्रनीति निर्माण गर्नुपर्छ”, प्रवक्ता श्रेष्ठले भने ।

नयाँ शक्तिपार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भू–राजनीतिलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले समृद्धिको साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

संयोजक डा. भटृराईले भने, “हामीले शान्तिको पैरवी किन नगर्ने, विगतमा राजा वीरेन्द्रलेसमेत अगाडि सारेकोे शान्ति क्षेत्रको प्रस्तावलाई पुनःअगाडि बढाउने बेला भएको छ । हामीले त्यसतर्फ प्रयास गर्नु जरुरी छ ।”

नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले विश्वको विशिष्ट पहिचान बोकेको देश नेपालले अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले कमजोर नभएको बताए। अबको प्राथमिकता आर्थिक विकास नै हुनुपर्नेमा जोड दिँदै डा महतले नेपाल अगाडि बढ्न नसक्नाको प्रमुख कारण आन्तरिक नै रहेको बताए ।

“सम्बन्धका हिसाबले हामीले धेरै सद्भाव र मैत्री कमाएका छौँ तर आधार भनेको हाम्रो आन्तरिक नीति नै हो, अब भाषणमा होइन, आफ्नो क्षमतालाई मूल्याङ्कन गरेर व्यवहारमा उतार्ने बेला आएको छ”, डा महतले भने ।

पूर्वराजदूतद्वय विजयकान्त कर्ण र शम्भूराम सिंखडाले देशमा राजनीतिक प्रतिबद्धता र दीर्घकालीन सोचको अभाव रहेको बताए । आधारभूतरुपमा राष्ट्रिय विषयमा सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिँदै उनीहरुले राजनीतिक प्रतिबद्धता नै महत्वपूर्ण विषय भएको बताए।

नापी विभागमा पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले अब देशको परराष्ट्र नीति समदूरीका आधारमा नभई सामिप्यताका आधारमा तय हुनुपर्नेमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति कार्यक्रमका संयोजक डा खड्ग केसीले मानव संशाधनलाई व्यवस्थापन गर्दै राष्ट्रिय चाहनालाई ध्यानमा राखेर परराष्ट्र नीति तय गर्नुपर्ने स्पष्ट पारे । उनले राजनीतिक प्रतिबद्धतालाई व्यवहारमा लागू गरेर राष्ट्रिय हितलाई केन्द्रमा राख्न सकिएमात्रै पनि ठूलो उपलब्धि हुने बताए ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री