सभागृहको निर्माण पूरा गराउन पहल गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ निर्माण भइरहेको सभागृहको बजेट नरोक्न आग्रह गरेका छन्।

Advertisement

आज यहाँ प्रेस क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको बजेट रोकेका कारण निर्माण पूरा नभएको आरोप लगाएका छन् । वर्तमान प्रधानमन्त्री केपी ओली, तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विसं २०७२ असार २८ गते सो सभागृहको संयुक्त शिलान्यास गरेका थिए ।

भद्रपुर नगरापालिका–८ मा मेची रङ्गशालाको पश्चिममा निर्माणाधीन सो सभागृह निर्माणका लागि प्रेरा शाह जेबीले रु १२ करोड ७२ लाख ६९ हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण थालिएको दुई वर्षभित्र अर्थात विसं २०७४ असार २८ गतेभित्र सभागृहको निर्माण भइसक्नुपर्ने भए पनि सभागृहको ७५ प्रतिशत काम मात्र पूरा भइसकेको बताइएको छ ।

नेता सिटौलाले सो सभागृहको निर्माण पूरा गराउन पहल गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । उक्त विषयमा झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलसँग प्रतिक्रिया लिँदा उहाँले चालू आर्थिक वर्षभित्रै सो सभागृहको निर्माण पूरा हुने बताए ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री