शनिबार, ३१ जेठ २०८२

राष्ट्रका लागि योगदान दिने खेलाडीलाई सरकारले प्रोत्साहन गर्छ : मन्त्री पण्डित

समयपोष्ट २०७५ पुष २७ गते २१:३६

Advertisement

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।

मोरङको बुढीगङ्गा गाउँपालिका– ३ बाँसबारीमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकूद परिषद्अन्तर्गत कार्यालयका प्रशासनिक तहमा कर्मचारीलाई उचित स्थानमा पदस्थापन गरी खेल खेलेर राष्ट्रका लागि योगदान दिने खेलाडीको मनोबल उठाउन वर्तमान सरकारले आगामी दिनमा कार्य गर्ने जानकारी दिए । उनले तीन तहकै सरकारको सहयोगमा प्रदेशको खेलकूद क्षेत्रको विकास गरी दक्ष खेलाडी उत्पादन गर्न खेलकूद क्षेत्रका पूर्वाधारको निर्माण कार्य चाँडै शुरु गरिने विश्वास दिलाए ।

सङ्घीय सांसद डा डिला सङ्ग्रौलाले गाउँपालिकाको सुविधा सम्पन्न कभर्ड हल निर्माणका लागि सङ्घीय सरकारसँग पहल गर्ने धारणा व्यक्त गरे । मोरङ कबड्डी सङ्घका अध्यक्ष भुवनेश्वर मण्डल, प्रदेशसभा सदस्य चुमनारायण तवदार, बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी र कबड्डी सङ्घका केन्द्रीय कोषाध्यक्ष अरविन्दकुमार झाले खेलकूदको माध्यमबाट उत्कृष्ट प्रदेश बनाउन खेलाडीलाई सेवा सुविधा थप गरी गुणस्तरीय खेलकूदको पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रदेश नं १ मा पहिलो पटक आयोजित सो प्रतियोगितामा पुस २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालका दुई टिम तथा भारत, बङ्गलादेश र श्रीलङ्काको सहभागिता छ । प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल आर्मीले भारतलाई ३३–१९ अङ्कले पराजित गरेको छ । अर्को खेलमा बङ्गलादेशले नेपाल (आयोजक) लाई ४२– ११ अङ्कले पराजित गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री