वाइडबडी खरिद प्रकरणः गृहसचिव राईले पाए ‘क्लिन चिट’, कंसाकारसहित को-को पर्ने भए कार्वाहीमा ?
नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय सचिव कृष्णप्रसाद देवकोटा निलम्बनमा पर्ने भएका छन् ।
सोमबार संसदको सार्वजनिक लेखा समितिले कंसाकार र देवकोटालाई वाइड बडी प्रकरणमा दोषी देखिएकाले निलम्बन गर्न सिफारिश गरेको हो। उपसमितिले तयार पारेको प्रतिवेदन सोमबार पारित गर्दै लेखा समितिले आफ्नो प्रतिवेदन महिना दिनभित्र कार्यान्वयन गरिसक्न समेत भनेको छ । अघिल्लो बिहीबार मन्त्रिपरिषद्ले ४५ दिनको समय दिएर वाइड बडी खरिदबारे छानबिन गर्न आयोग बनाएको थियो ।
समितिले सो आयोगले प्रतिवेदन दिन नपाउँदै आफ्नो प्रतिवेदन कार्यान्वयन गर्न सरकार र अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई भनेको हो । समितिले महिना दिनमा सिफारिश कार्यान्वयन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ ।
सचिव देवकोटा र महाप्रबन्धक कंसाकारले महालेखा परीक्षकको प्रतिवेदनले विमान खरिद नियमसंगत नभएको भनी जनाएको अवस्थामा छानबिन नगरी उल्टै विनियमावलीको दफा २३६ (२) अनुसार पुरानो विमान खरिदलाई निरन्तरता दिएकाले उनीहरूलाई निलम्बन गर्नुपर्ने लेखाको तर्क छ ।
पर्यटन मन्त्रालयका पूर्वसचिव शंकर अधिकारी र निगम सञ्चालक समितिका सदस्यहरू खरिद प्रक्रियामा दोषी देखिएकाले उनीहरूमाथि अनुसन्धान गर्न लेखाले सिफारिश गरेको छ ।
अहिले गृह सचिव रहेका तत्कालीन पर्यटन सचिव प्रेमकुमार राईलाई भने स्पष्ट आधार नखुलेको भन्दै लेखा समितिले सफाइ दिएको छ । लेखाको प्रतिवेदनले मन्त्री रवीन्द्र अधिकारी र पूर्वमन्त्रीहरू जीवनबहादुर शाही र जीतेन्द्र देवलाई वाइड बडी खरिदमा नैतिक जिम्मेवार भनेको छ ।
सार्वजनिक खरिद ऐन २०६३ विपरित हुने गरी अनियमित तरिकाले विमान खरिद कारबाही अगाडि बढ्दा पनि विभागीय मन्त्रीको रूपमा बहाल रहेको अवस्थामा यथेष्ठ सतर्कता नअपनाएको निजहरूले नैतिक जिम्मेवारी लिनु पर्ने लेखा समितिको ठहर छ ।
उपसमितिको यसअघिको प्रतिवेदनमा शाही र देवलाई नैतिक जिम्मेवार र मन्त्री अधिकारीलाई बदनियतमा कारबाही गर्न भनिएको थियो ।
प्रतिक्रिया