
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार मंगलबार मनोनयन दर्ताको अन्तिम दिनसम्म ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ जना र स्वतन्त्र उम्मेदवारका रूपमा १ हजार १८७ जनाले मनोनयन दिएका हुन्।
यो संख्या अघिल्ला दुई निर्वाचनको तुलनामा उल्लेखनीय रूपमा बढी हो। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा २ हजार ४११ जना उम्मेदवार थिए भने २०७४ मा १ हजार ९४४ जना मात्र थिए। यस पटक नाम फिर्ता लिने तथा दाबी–विरोधको प्रक्रियापछि उम्मेदवारको संख्या केही घट्न सक्ने आयोगले जनाएको छ।
कुल उम्मेदवारमध्ये पुरुष ३ हजार ८८, महिला ३९५ र अन्य समूहबाट एक जना (महिला) रहेका छन्। लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने समावेशी समाजवादी पार्टीले आफ्नो तर्फबाट ६ जना उम्मेदवारलाई प्रतिस्पर्धामा उतारेको बताएको छ।
उमेर समूहका आधारमा हेर्दा २५–३५ वर्षका ५८३, ३६–५० वर्षका १ हजार ६१०, ५१–६५ वर्षका १ हजार ९० र ६५ वर्षमाथिका २०१ जना उम्मेदवार छन्।
यस पटक प्रमुख राजनीतिक दलहरूबीच कुनै चुनावी गठबन्धन छैन। नेपाली कांग्रेस र नेकपा (एमाले) ले सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन्। नेकपा (माओवादी केन्द्र) ले १६४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १६३–१६३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले १२१, श्रम संस्कृति पार्टीले १०९, उज्यालो नेपाल पार्टीले १०८, आम जनता पार्टीले १०२, जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले ९५, प्रगतिशील लोकतान्त्रिक पार्टीले ९२ र जनमत पार्टीले ६१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन्।










प्रतिक्रिया