भेनेजुएलामा अमेरिकाको विशेष अपरेसन : राष्ट्रपति मादुरो र उनकी पत्नी पक्राउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि ठूलो स्तरको सैन्य कारबाही गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी देशबाहिर लगिएको दाबी गरेका छन्।

Advertisement

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “संयुक्त राज्य अमेरिकाले भेनेजुएला र त्यसका नेता राष्ट्रपति निकोलस मादुरोमाथि सफलतापूर्वक ठूलो स्तरको आक्रमण गरेको छ। मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगिएको छ। यो अपरेसन अमेरिकी कानुन प्रवर्तन निकायको सहयोगमा सम्पन्न भएको हो।”

ट्रम्पले थप विवरणका लागि फ्लोरिडास्थित आफ्नो मार–ए–लागो रिसोर्टमा आजै पत्रकार सम्मेलन गर्ने बताएका छन्। उनले यो कारबाहीलाई “उत्कृष्ट अपरेसन” को संज्ञा दिएका छन्।

Advertisement

शनिबार बिहानै भेनेजुएलाको राजधानी काराकास र आसपासका क्षेत्रमा ठूला विस्फोटहरू भएको र कम उचाइमा विमानहरू उडेको आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। भेनेजुएलाको सरकारी टेलिभिजन र सामाजिक सञ्जालमा देखिएका भिडियोमा फुर्ते तिउना सैन्य कम्प्लेक्स र ला कार्लोटा विमानस्थलनजिक धुवाँको मुस्लो उठेको देखिन्छ। काराकासका केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

भेनेजुएला सरकारले यसलाई “अमेरिकाको गम्भीर सैन्य आक्रामकता” भन्दै निन्दा गरेको छ। सरकारको विज्ञप्तिमा काराकाससहित मिरान्डा, आरागुआ र ला ग्वाइरा राज्यमा हमला भएको र यसको उद्देश्य देशको तेल तथा खनिज स्रोत कब्जा गर्नु रहेको उल्लेख छ। उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राज्य टेलिभिजन भीटीभीमार्फत मादुरो दम्पतीको अवस्थाबारे कुनै जानकारी नभएको बताउँदै अमेरिकासँग “जीवित रहेको प्रमाण” माग गरेकी छिन्। उनले हमलामा सर्वसाधारण र सुरक्षाकर्मीको ज्यान गएको जानकारी दिइन्।

रक्षा मन्त्री भ्लादिमिर पाड्रिनो लोपेजले भिडियो सन्देश जारी गर्दै विदेशी सेनाको उपस्थितिलाई स्वीकार नगर्ने र सशक्त प्रतिरोध गर्ने घोषणा गरेका छन्। उनले हमलाले मुख्यतः नागरिक बस्ती र सैन्य अखडालाई निशाना बनाएको आरोप लगाएका छन्।

अमेरिकाले लामो समयदेखि मादुरोमाथि लागुऔषध तस्करीको आरोप लगाउँदै आएको छ। हालै अमेरिकाले मादुरोको पक्राउका लागि ५ करोड डलरको इनाम घोषणा गरेको थियो भने क्यारिबियन क्षेत्रमा ठूलो सैन्य परिचालन गरेको थियो। यो कारबाही पनामा आक्रमण (१९८९) पछिको ल्याटिन अमेरिकामा अमेरिकाको सबैभन्दा ठूलो सैन्य हस्तक्षेप मानिएको छ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री