आइतबार, २२ असार २०८२

सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी विधेकय संसद्मा प्रस्तुत, फेक आईडी वा पेजबाट भ्रामक सूचना सम्प्रेषण गरे पाँच वर्ष कैद, पन्ध्र लाख जरिवाना

समयपोष्ट २०८१ माघ १५ गते १६:५५

Advertisement

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेस गरेको छ ।

यही माघ ७ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम उक्त विधेकय संसद्मा पेस भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सबैको चासोको विषय बनेको उक्त विधेयकमाथि सदनमा छलफल हुनेछ ।

उक्त विधेयकमा सामाजिक सञ्जालमा फेक आईडी, पेज वा समूह बनाएर कसैको विषयमा भ्रामक सूचना सम्प्रेषण गरेमा कैद र सजाय हुने व्यवस्था छ ।

विधेयकको दफा २७ मा सामाजिक सञ्जालमा बेनामी वा छद्मभेषी पहिचान बनाउन वा प्रयोग गर्न नहुने व्यवस्था रहेको छ । ‘कसैले सामाजिक सञ्जालमा बेनामी वा छद्मभेषी (फेक आइडी, पेज, समूह) वा अरुको नामबाट पहिचान सिर्जना गर्ने, त्यस्तो बेनामी वा छद्मभेषी पहिचान मार्फत विषयवस्तु उत्पादन गरी पोष्ट वा सेयर गर्ने, अरूको विषयवस्तु सेयर गर्ने, कमेन्ट वा कल गर्ने कार्य गर्नु हुँदैन,’ उपदफा २ मा लेखिएको छ, ‘उपदफा (१) बमोजिमको कसूर गर्नेलाई तीन महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’

Advertisement

छद्मभेदी अकाउन्ट, पेज वा समूह बनाएर गलत वा भ्रामक सूचना सम्प्रेषण गरिए थप कारकाहीको व्यवस्था गरिएको छ । यो व्यवस्था उपदफा ३ मा गरिएको छ । ‘कसैले प्लेटफर्ममा व्यक्तिगत वा सामूहिक रुपमा छद्मभेषी, स्थायी वा अस्थायी समूह, पेज वा अन्य कुनै पनि प्रकारको आइडी खोली नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल हुने गरी गलत वा भ्रामक सूचना सम्प्रेषण गर्न हुँदैन,’ त्यसो गरिएमा हुने सजायबारेको व्यवस्था छ, ‘उपदफा (३) बमोजिमको कसूर गर्नेलाई प्रचलित कानून बमोजिम सजाय हुनेमा सोही बमोजिम र प्रचलित कानुनमा सजाय उल्लेख भएको रहेनछ भने पाँच वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।’

सामाजिक सञ्जालको प्रयोग गरी प्रचलित कानुन बमोजिम कसुर हुने कार्य गरेमा वा त्यस्तो कसुर गर्न कसैलाई दुरुत्साहन गरेमा कारबाही हुने व्यवस्था पनि प्रस्ताव गरिएको छ । ‘कसैले सामाजिक सञ्जालको प्रयोग गरी प्रचलित कानून बमोजिम कसूर हुने कार्य गरेमा वा त्यस्तो कसूर गर्न दुरुत्साहन गरेमा प्रचलित कानून बमोजिम हुने सजायमा एक वर्षसम्म थप कैद सजाय हुनेछ,’ विधेयकमा प्रस्ताव गरिएको छ, ‘यस ऐन बमोजिमको कुनै कसूर एक पटकभन्दा बढी गर्ने कसूरदारलाई पटक्कै पिच्छे त्यस्तो कसूरमा हुने सजायको दोब्बर सजाय हुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री