
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ९ वटा बैंकले लाभांश नै घोषणा नगर्दा, लगानीकर्ताहरूमा निराशा छाएको छ।
यसपटक लाभांश नदिने बैंकहरूमध्ये प्रभु बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक, र राष्ट्रिय वाणिज्य बैंक प्रमुख छन्। विशेषतः ठूला मर्जरमा संलग्न बैंकहरू—कुमारी बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, र प्रभु बैंक—मर्जरपछि सिनर्जी सिर्जना गर्न असफल भएका कारण यो अवस्थामा पुगेका हुन्।
सरकारी स्वामित्वका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि लाभांश नदिने निर्णय गर्दै लगानीकर्तामा थप निराशा थपेका छन्।
लाभांश दिने बैंकहरूमध्ये सबैभन्दा अगाडि स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। बैंकले साढे २५ प्रतिशत लाभांश घोषणा गरेको छ, जसमा ६.५ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश समावेश छ।
स्ट्यान्डर्ड चार्टर्डपछि १० प्रतिशतभन्दा बढी लाभांश दिने बैंकहरूमा एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, र नबिल बैंक छन्। एभरेष्ट बैंकले १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। नेपाल एसबीआई बैंकले ३.८ प्रतिशत बोनस र ६.८५ प्रतिशत नगद लाभांश दिएर १०.६५ प्रतिशत लाभांश दिएको छ। कृषि विकास बैंकले ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद लाभांश दिएर १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ। नबिल बैंकले भने १० प्रतिशत नगद लाभांश मात्रै दिएको छ।
यसपटक न्यून लाभांश घोषणा गर्ने बैंकहरूमा ग्लोबल आईएमई बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, र सिटिजन्स बैंक छन्। ग्लोबल आईएमईले ५.५ प्रतिशत बोनस शेयर, सानिमा बैंकले ५.२६ प्रतिशत नगद लाभांश, र लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस शेयरसहित ०.२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश घोषणा गरेका छन्। प्राइम कमर्सियल र सिद्धार्थ बैंकले क्रमशः ५ र ४ प्रतिशत नगद लाभांश दिएका छन् भने सिटिजन्स बैंकले ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश घोषणा गरेको छ।
बैंकहरूले लाभांशको सन्तुलित वितरणमार्फत लगानीकर्ताको विश्वास कायम राख्न नसक्दा बैंकिङ क्षेत्रको स्थिरतामा नै असर पर्न सक्ने चिन्ता उब्जिएको छ। समयमै सुधारात्मक कदम चाल्न नसके बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा र लगानीकर्ताको सक्रियता झन् कमजोर हुने जोखिम देखिएको छ।










प्रतिक्रिया