ह्युमपाइप राख्न खनिएको खाल्डोमा मोटरसाइकल खस्दा एकजनाको मृत्यु, अर्का घाइते


पर्साको सखुवाप्रसौनी गाउँपालिका-२ जमुनियामा ह्युम पाइप राख्न खनिएको सडकको खाल्डोमा मोटरसाइकल खस्दा एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा जमुनिया निवासी २३ वर्षीय सुदर्शन चौधरी रहेका छन्। ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका अनुसार जमुनियाको कर्बोला चौकमा ह्युम पाइप राख्नका लागि खनिएको खाल्डोमा मोटरसाइकल दुर्घटना भएको हो।

Advertisement

दुर्घटना मंगलबार राति करिब ९ बजे भएको थियो। पथरैयाबाट पँचगावतर्फ जाँदै गरेको ना.२८ प ३८१९ नम्बरको मोटरसाइकल खाल्डोमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुदर्शन चौधरी गम्भीर घाइते भएका थिए। वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

मोटरसाइकल चालक जमुनियाका २४ वर्षीय दिपेन्द्र चौधरी भने घाइते भएका छन्। उनको वीरगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ। प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार दिपेन्द्रको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री