
सरकारले सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) को म्याद थप गर्ने निर्णय गरेकाे छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेबाट लागू हुनेगरी सशस्त्रका चार डीआईजीहरूको पदावधि थप गरेको हो ।
यसरी पदावधि थप हुनेहरूमा नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखरा कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत डीआईजी कमल गिरी छन् ।
उनीहरू आजै मध्यरातिबाट अवकाशमा जाँदै थिए । सशस्त्र मुख्यालयको सिफारिसअनुसार गृह मन्त्रालयले दुई साता पहिल्यै एक वर्ष अवधी थपको सिफारिस मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरेको थियो ।
सशस्त्र प्रहरी बल नियमावलीले डीआईजी दर्जामा बढुवा भएका भएका अधिकृतको चार वर्षे कार्यकाल पूरा भएपछि एक वर्षको थप अवधि पाउने सुविधा गरेको छ ।
सुवेदी २०५४ चैत १८ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् । गिरी र मगर २०५६ असार ३ र नेम्वाङ ०५६ कै टोलीको वैकल्पिकका रुपमा नेपाल प्रहरी सेवामा भर्ना भएका थिए । उनीहरु २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना हुँदा एक तह बढुवासहित उक्त संगठनमा समायोजन भएका हुन् ।










प्रतिक्रिया