सार्वजनिक यातायातको भाडा महंगियो
समयपोष्ट
२०८१ पुष २२ गते २०:३३
सरकारले आजदेखि सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।
सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधन दुबैको भाडादर समायोजन गरिएको छ।
यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सार्वजनिक सवारी साधनको भाडा ३.३० प्रतिशतले बढाइएको छ।
मालबाहक सवारी साधनतर्फ पहाडी क्षेत्रमा सञ्चालन हुने सवारी साधनको भाडा ०.८१ प्रतिशतले वृद्धि गरिएको छ भने तराई क्षेत्रमा सञ्चालन हुने सवारी साधनको भाडा ०.०५ प्रतिशतले मात्र बढाइएको छ।
यसपटक दुई वा सोभन्दा बढी प्रदेश भएर सञ्चालन हुने राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा चल्ने सवारी साधनको भाडा पनि समायोजन गरिएको छ।
यसअघि, २०८० सालको साउन ३१ मा भाडा दर समायोजन गरिएको थियो। नयाँ भाडादर पुस २२ गते अर्थात आजैदेखि लागू हुनेछ।
प्रतिक्रिया