“अर्घाखाँची पर्यटन प्रवर्दन कार्यक्रम-२०८०” शुरु हुँदै, प्रधानमन्त्री प्रचण्डले समुद्घाटन गर्ने

अर्घाखाँची जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले पत्रकार महासंघ अर्घाखाँचीले ” अर्घाखाँची पर्यटन प्रवर्दन कार्यक्रम-२०८०” शुरु हुँदैछ ।

Advertisement

उक्त कार्यक्रमको शुभारम्भ माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।

अर्घाखाँची जिल्लाको परिचय

अर्घाखाँची लुम्बिनी प्रदेशको १२ जिल्ला मध्येको एक पहाडी जिल्ला हो । जसले महेन्द्र राजमार्गलाई छुन्छ । संघीयता पूर्व ४२ गाँउ विकास समितिमा बिभाजित यस जिल्लालाई हाल ६ वटा स्थानीय तहमा विभाजन गरिएको छ । ३ नगरपालिका र ३ गाँउपालिकामा विभाजित यस जिल्लाको शितगंगा नगरपालिका भौगोलिक रुपमा मूलुककै सबै भन्दा ठूलो स्थानीय तह रहेको छ ।

यो विभिन्न जातजाती, गोत्रहरुको उदगमस्थल समेत हो । खनालहरुको उत्पत्ति भएको खन पनि यसै जिल्लामा पर्दछ । साथै धार्मिक सद्भाव र सहिष्णुताले भरिपूर्ण यस जिल्लामा मुस्लिमहरुको समेत बाहुल्य रहेको छ । चिदिका बल्कोट, पाली र वाङ्गला नेपालका पहाडिया मुस्लिमहरुको ईतिहास समेत रहेको मानिन्छ । जहाँ मस्जिद र मदरसाहरु समेत संचालनमा रहेका छन् । त्यसै बौद्ध धर्मावलम्बीहरुको गुम्बा समेत ठाँउठाँउमा रहेका छन् । यो जिल्ला भैरव नाँच, लाँखे, फागु, देउसी भैलो, सराय आदी यहाँका धार्मिक नाँच आदीले समेत परिचित छ । त्यसैगरी गन्दर्भजातीको सारङ्गी गीत पनि यहीको अर्घामा श्रवण गर्न पाईन्छ भने उनीहरुको ईतिहासमा समेत साक्षतकार गर्न सकिन्छ ।

Advertisement

गुल्मी, पाल्पा, कपिलवस्तु, प्यूठान, रुपन्देही र दाङ्ग जिल्ला यसका सीमनामा रहेका छन् । अर्घाखाँचीको भौगोलिक हिसाबले पर्यटकीय प्रचुरता, धार्मिक र ऐतिहासिकरुपले धनी, सडक पूर्वाधार र यातायतको सुविधाले समेत सम्पन्न जिल्ला हो । यो हरेक वार्डमा मोटरबाटो पुगेको पहिलो जिल्ला पनि हो । यसको सदरमुकाम सन्धिखर्कबाट ४२ वटा वार्डहरुमा एक दिनमा पुगेर फर्किन सकिन्छ । केन्द्रमा रहेको सदरमुकामबाट हरेक वार्ड र मोफसलको राजधानी तथा व्यापारिक केन्द्र बुटवल र भैरहवा अन्तराष्ट्रिय विमानस्थलबाट करिब ३-४ घण्टामा पुग्न सकिन्छ ।साथै यस जिल्ला हुँदै छिमेकी जिल्लाहरुका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुमा समेत जान सरल, सहज र नजिक पर्ने गर्दछ । यस हिसाबले पनि अर्घाखाँची पर्यटकीय संभावना प्रचुरमात्रामा रहेको देखिन्छ ।

धार्मिक रुपले प्रसिद्ध मठ, मन्दिर, मस्जिद, गुम्बा, ऋषि मुनीहरुले तपस्या गरेका पवित्र स्थल, ऐतिहासिक रुपले देशको एकीकरण गरेका पृथ्वीनारायण शाहको पालनपोषण गरेको आमाको माईतीघर, जहानीय शासनका प्रवर्तक जंगबहादुर राणाको जन्मस्थल र न्वारन गरेको स्थल साथै हिमालदेखि तराईसम्मको दृश्ववलोकन गर्न सकिने पहाडी जिल्ला अर्घाखाँची धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले धेरै सम्पन्न रहेको छ ।

महेन्द्र राजमार्गबाट जोडिएको पक्की सडक हुँदै बास नबसी एकदिनमा धेरै धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको अबलोकन गर्न सकिन्छ ।
महेन्द्र राजमार्गसँग जोडिएको गोरुसिङ्गे सन्धिखर्कबाट सदरमुकाम आउदै गर्दा डमरु दह, सूपा देउराली मन्दिर, खाँचीकोट दरबार हुँदै सन्धिखर्क ३-४ घण्टामा सन्धिखर्क पुग्न सकिन्छ । सन्धिखर्कमा रहेको शिवालय मन्दिर हुदै धार्मिक र ऐतिहासिक धरोहरा रहेको अर्घा भगवती हुदै नरसिंह मन्दिर बामरुक पुगी त्यहाँबाटै घेराको भिर, मालारानी मन्दिर हुँदै भगवत गीतामा समेत चर्चा रहेको छत्रमहाराजको मन्दिर उलुकमा पुग्न सकिन्छ । त्यसैगरी छत्रमहाराजको मन्दिर उलुकबाट जंगबहादुरको न्वारन भएको बल्कोट पौवा, उनी जन्मेको मथुरा सत्तले पाटी, द्वापरयुगममा कृष्णको बाललिला व्यतित गरेको र योगी नरहरीनाथले यज्ञ गरेको र मथुरा धाममा पुग्न सकिन्छ ।

मथुरा धामबाट मुस्लिमहरुको बाहुल्य रहेको पालीहुदै द्वापरयुगमा ७ ऋषी मध्येका अत्री ऋषीका पुत्र रीसाहा ऋषी भनेर चिनिने र बाह्रखरीका प्रणेता दुर्वशा ऋषीले तपस्या गरेको दुर्वासेस्वर गुफा हुँदै संस्कृत व्याकरणका प्रवर्तक पाणिनि ऋषीले तपस्या गरेको पवित्र भूमी पाणिनि तपोभूमीमा पुग्न सकिन्छ । यसरी धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थानहरु घुम्नलाई आफ्नै सवारी साधन भए १ दिन र सार्वजनिक सवारी साधनको प्रयोग गरे २ दिनमा जिल्लामा महत्वपूर्ण स्थलहरु घुम्न र साक्षतकार गर्न सकिन्छ ।

नरपानी जहाँबाट हिमाल र तराईका दृश्यहरुका साथै शितलता प्रदान गर्ने मनोरम स्थल, सन्धिखर्क बजार, रक गार्डेन, तिलकुवाको छहरा, १३ तल्ले मन्दिर, लोहरीको लेक, लगायतका तमाम पर्यटकीय स्थलहरुको अवलोकन गर्न सकिन्छ ।

दैनिक हजारौ जना तिर्थयात्रुहरुले दर्शन गर्ने सुपादेउराली मन्दिर यहाँको अर्को विशेषता हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री