सोमबार, २४ वैशाख २०८१

धनगढीमा विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

समयपोष्ट २०७९ पुष २९ गते २१:०५

Advertisement

धनगढीमा विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करण हुनेभएको छ ।

विद्यालयमा रहेका क्रिकेट खेलाडीलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित माघ २१ गतेदेखि फागुन ६ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिनुभयो ।

आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सो संस्करण धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आयोजना हुने जनाएको छ । सातौँ संस्करणको विजेतालाई रु दुई लाख ५१ हजार एक सय ११ र उपविजेतालाई रु एक लाख २५ हजार पाँच सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले रु १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उदीयमान खेलाडीलाई नगद रु पाँच हजार र प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई रु दुई हजार प्रदान गरिने आयोजनाले जनाएको छ ।

Advertisement

प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा चार जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् । प्रतियोगितामा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इङ्लिस मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बालवाटिका विद्या मन्दिर बौनिया कैलाली, भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इङ्लिस सेकेन्डरी स्कुल अत्तरिया सहभागी आयोजकले जनाएको छ ।

प्रादेशिक खुल्ला देउडा प्रतियोगिता हुने

धनगढीमा प्रादेशिक खुल्ला देउडा प्रतियोगिता आयोजना गरिने भएको छ । देउडा प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको आयोजनामा आगामी माघ २०, २१ र २२ गते धनगढीस्थित साहित्य समाजको प्राङ्गणमा प्रतियोगिता आयोजना हुने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ ले बताउनुभयो ।

उहाँका अनुसार तीन दिनसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि पुस ३० गतेबाट समूह दर्ता खुला गरिने छ । प्रतियोगितामा सबै जिल्लाबाट एक समूह अनिवार्य सहभागी गराइने र त्यसभन्दा बढी समूहको सहभागिता हुनसक्ने आयोजकले जनाएको छ ।

देउडाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा यसको प्रचारप्रसार गर्ने उद्देश्य राखेर प्रतियोगिता आयोजना गर्न लागिएको उपाध्यक्ष रावतले बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले प्रतियोगितामा प्रथम हुने समूहलाई रु ५० हजार नगदसहित प्रमाणपत्र, द्वितीयलाई ४० हजार, तृतीयलाई ३० हजार र सान्त्वना हुने समूहलाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।

साथै प्रत्येक दिन प्रतियोगितामा सहभागीमध्ये एक जना देउडियालाई नगद रु एक हजारसहित प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष प्रेम विवश चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री