शुक्रबार, १६ चैत २०८०

आर्थिक वृद्धिदर गत वर्षभन्दा माथि हुन्छ : प्रधानमन्त्री

समयपोष्ट २०७८ माघ ७ गते २०:१६

Advertisement

भीष्मराज ओझा
प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् उत्पादनमा भएको वृद्धि, आर्थिक एवं सामाजिक क्रियाकलापमा भएको सुधार, निर्यातमा भएको बढोत्तरी र उच्च कर्जा प्रवाह तथा आयातमा भएको वृद्धिले आर्थिक वृद्धिदर गत वर्षको भन्दा माथि हुने अनुमान रहेको बताउनुभएको छ ।

उहाँले यस अवधिमा मुद्रा स्फिति करिब ७.११ प्रतिशतको हाराहारीमा रहेको र करिब ६.८ महिनाको वस्तु तथा सेवाको आयात धान्नका लागि विदेशी मुद्राको सञ्चिति रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले आज अपरा राष्ट्रका नाममा सम्बोधन गर्दै यस अवधिको पछिल्लो तीन महिनामा अर्थतन्त्रका बाह्य क्षेत्रमा केही दबाब पर्न गएता पनि सरकारले लिएका वित्त र मौद्रिक नीतिको कार्यान्वयनबाट सुधार गरिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “बजेट कार्यान्वयनको सन्दर्भमा संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रमको आधारमा बजेटलाई पुनरावलोकन गरी प्रतिस्थापन विनियोजन विधेयक समयमै स्वीकृति गरी कार्यान्वयनमा ल्याइएको छ ।” चालु आर्थिक वर्षमा रु ११ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्म रु पाँच खर्ब ७६ अर्ब २४ करोड राजस्व सङ्कलन भएको छ । सङ्घ सरकारको सार्वजनिक खर्चतर्फ १६ खर्ब ३२ अर्ब ८२ करोड वार्षिक बजेटमध्ये पुस मसान्तसम्म पाँच खर्ब छ अर्ब ७८ करोड खर्च भएको छ ।

तीव्र आर्थिक विस्तारका लागि आवश्यक उच्च लगानी योग्य पूँजीको अभाव हुन दिइएको छैन । उच्च कर्जाको माग र विस्तार हुँदा पनि उपयुक्त उपायको अवलम्बन गरी साधारण ब्याजदरलाई वाञ्छित सीमाभित्र नै राखिएको छ । पुनःकर्जातर्फ रु एक खर्ब छ अर्ब सात करोड र सहुलियतपूर्ण कर्जामा रु ५५ अर्ब सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गरिएको छ ।

विपद् प्रभावित सिन्धुपाल्चोक, मनाङलगायत विभिन्न १२ जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी विपद् पछाडिको राहत र पुनःनिर्माणको कामलाई उच्च प्राथमिकता दिइएको प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा जानकारी गराउनुभयो । कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई राहत स्वरूप प्रतिपरिवार एकपटकका लागि रु १० हजार नगद अनुदान प्रदान गरिएको छ ।

उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित तरिकाले बसोबास गर्दै आएका समुदायको बसोबासको समस्या सधैँका लागि समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन आदेश, स्वीकृत भई पदाधिकारी नियुक्तिसहित उक्त आयोगले आफ्नो कार्य प्रारम्भ गरेको बताउँदै विसं २०१३ देखिको पुनर्वासको दायित्वअन्तर्गत विभिन्न जिल्लाका अव्यवस्थित बसोबासीका लागि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट लालपूर्जा वितरणको कार्य प्रारम्भ भएको जानकारी दिनुभयो ।

सङ्घीय संसद् भवन निर्माण कार्य सन्तोषजनक ढङ्गले अघि बढेको, भैरहवा विमानस्थल र पोखरा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि नुवाकोटको बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटको प्रथम खण्डको निर्माण सम्पन्न भई फोहर विसर्जनको लागि योग्य भएको छ ।

यस वर्षभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने

प्रधानमन्त्री देउवाले बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी योजनाको पुनःस्थापना गरी कार्ययोजना कार्यान्वयनमा ल्याई यस वर्षभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गर्ने गरी कार्य अगाडि बढाइएको बताउनुभयो । सरकारले यस छ महिनाको अवधिमा नारायणी–नवलपूर, भरतपुर–दाङ, सिद्धनाथ–बैजनाथ लगायतका खानेपानी आयोजना सम्पन्न भएको तराईका जिल्लाका विपन्न घरधूरीमा खानेपानीको व्यवस्थापनका लागि “तराई मधेश ट्युववेल तथा स्वच्छता’ विशेष कार्यक्रम उच्च प्राथमिकताका साथ सञ्चालन गरिएको जनाएको छ ।

साथै ४३८ किमि अप्टिकल फाइबर विछ्याउने कार्य सम्पन्न भएको, हालसम्म ७९ किमि मोबाइल ब्रोडब्याण्ड विस्तार भएको, कञ्चनजङ्गा, रुवीभ्याली, दोलखा, मकालु, च्छो रोल्पा, अन्नपूर्ण, धौलागिरि, मनास्लु, सगरमाथालगायत स्थानमा पदयात्रा मार्ग निर्माण गर्ने कार्यअन्तर्गत २१५ किमि पदयात्रा मार्ग निर्माण सम्पन्न भएको सरकारको भनाइ छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका ८५ जना गर्भवतीलाई देशका विभिन्न स्थानबाट हेलिकप्टरमार्फत समयमै उद्धार गरी सुरक्षित मातृत्वको सुनिश्चितता गरिनुका साथै सुत्केरी हुने अवस्थाका महिलालाई अकाल मृत्यु हुनबाट जोगाइएको सरकारले जनाएको छ ।

प्रधानमन्त्री देउवाले थप १० लाख नेपाली नागरिकको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरी ५० लाख पु¥याइएको छ । यस अवधिमा विद्युतीय राहदानी जारी गर्न थालिएको छ र हालसम्म २२ हजार जनालाई विद्युतीय राहदानी वितरण गरिएको र एक लाख ३० हजार सवारी साधनमा विद्युतीय इम्बोस्ड नम्बर प्लेट जडान गरिएको उल्लेख गर्नुभयो ।

सरकारी कार्यालयको कार्य प्रणालीलाई पूर्ण स्वचालित बनाइ निर्णय प्रक्रियालाई सरल र छिटो बनाउन विद्युतीय प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याइएको छ । प्रेस परिचयपत्र अनलाइनबाट वितरण गर्न सुरु गरिएको छ । एसएमएमको लागत कम गर्ने गरी गेटवेको विकास भएको छ । सरकारी कागजातलाई हुलाकबाट वितरण गर्ने क्रममा राहदानी र कन्सुलर सेवासम्बन्धी काम सुरु गरिएको छ ।

३४ सरकारी सेवालाई नागरिक एपमा आबद्ध

नेपाल टेलिकमबाट सरकारीस्तरमा डिजिटल पेमेन्ट प्रणालीको सुरुआत भएको छ । थप ३४ सरकारी सेवालाई नागरिक ‘एप’मा आबद्ध गरिएको छ । स्थानीय तहको सेवा प्रवाहमा सुधार गर्न एकीकृत एप बनाई कार्यान्वयनमा ल्याइएको छ ।

यस अवधिमा २५ स्थानीय तहमा ब्रोडब्याण्ड सेवा थप विस्तार गरिएको र यस्तो सेवा पुग्ने स्थानीय तहको सङ्ख्या ७३८ पुगेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले थप ३१ स्थानीय तहमा फोरजी सेवा विस्तार गरी ६१६ स्थानीय तहमा फोरजी सेवाको पहुँच विस्तार भएको र ६० वटा शहरी क्षेत्रमा डिटिएच सेवा थप भई १८७ शहरी क्षेत्रमा यस्तो सेवा पुगेको जानकारी गराउनुभयो ।

सरकारले यस अवधिमा सुरक्षित मुद्रणका दुई वटा मेशिन जडान गरी सुरक्षित मुद्रणको नमूना छपाइ शुरु गरिएको, भूकम्प पछिको पुनःनिर्माणको बाँकी कार्यलाई सम्बन्धित निकायबाट सम्पन्न गर्ने गरी हस्तान्तरण गरिएको जनाएको छ ।

यसैगरी आम उपभोक्तालाई दैनिक उपभोग्य खाद्य वस्तु सहज रुपमा उपलब्ध गराउन दुर्गम जिल्लाका विभिन्न स्थानमा ६ हजार मेट्रिक टन खाद्यान्न तथा सात हजार ३३५ क्विन्टल नून आपूर्ति गरिएको छ । नेपालीको मुख्य चाड दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी उपभोक्तालाई दैनिक अत्यावश्यक खाद्य वस्तुहरू सहज र सुपथ मूल्यमा उपलब्ध गराउन विभिन्न ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याई सेवा प्रदान गरिएको थियो ।

सेवाग्राहीले अनलाइन प्रविधिमार्फत जग्गा कारोबारको लिखतसम्बन्धी कार्य गर्नसक्ने प्रणालीलाई ७६ वटा मालपोत कार्यालयमा लागू गरिएको छ । बैंक, वित्तीय संस्था तथा सञ्चय कोषबाट कर्जा प्रवाह गर्दा धितो राख्न÷राखिएको जग्गा रोक्का फुकुवा गर्न मालपोत कार्यालयमा प्रत्यक्ष उपस्थित नभई जग्गा रोक्का फुकुवा गर्न सक्ने प्रणाली विकास गरी कार्यान्वयनमा ल्याइएको उहाँले उल्लेख गर्नुभयो ।

विकास आयोजना कार्यान्वयनमा समस्याका रूपमा रहेका जग्गा प्राप्ति र वन क्षेत्रको प्रयोगमा रहेको समस्याको समाधान गरी आयोजना व्यवस्थापनमा सुधार गरिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा अफगानिस्तान गई जोखिममा परेका एक हजार ५०० नेपाली नागरिकलाई उद्धार गरिएको छ ।

अफगानिस्तानमा देखिएको मानवीय सङ्कटलाई दृष्टिगत गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट मानवीय सहयोगस्वरुप नेपालले यही माघ २ गते विशेष चार्टर्ड विमानमार्फत करिब १४ टन औषधि, लत्ताकपडा तथा घरायसी सामग्री सहयोग पठाएको छ ।

प्रधानमन्त्री देउवाले शान्ति सुरक्षाको भरपर्दो र विश्वासिलो व्यवस्थापन गरी शान्ति सुव्यवस्था कायम भएको, समाजमा भएका सबै प्रकारको अपराधको नियन्त्रण गरिएको, कसूरजन्य फौजदारी अभियोजनको सम्पत्तिको अभिलेख र व्यवस्थापन गर्न विशिष्टीकृत विभाग गठन गरिएको जानकारी गराउनुभयो ।

उहाँले यस अवधिमा सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने मापदण्ड जारी गरी कार्यान्वयनमा ल्याइएको, आगामी एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने कुरालाई मध्यनजर गरी सरकारले निर्वाचनका पूर्वतयारीका कार्य अघि बढाई रहेकोसमेत बताउनुभयो ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी उपस्थिति

नेपालले बङ्गलादेशको ढाकामा सम्पन्न भएको एभिसि सेन्ट्रलजोन महिला भलिबलमा उत्कृष्ट प्रर्दशन गरी स्वर्णपदक प्राप्त गरेको छ भने माल्दिप्समा भएको साफ च्याम्पियनसीप फुटबलमा उपविजेताको उपाधि हासिल गरेको छ । उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई सरकारले सम्मान तथा पुरस्कृत गरेको छ ।

“मेरो नेतृत्वमा बेलायतको ग्लास्गो शहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलनमा सहभागी भई नेपालको तर्फबाट राष्ट्रिय अनुकूलन योजना, हानी–नोक्सानी सम्बन्धी राष्ट्रिय कार्यढाँचा र शून्य कार्बन उत्सर्जनसम्बन्धी नेपालको दीर्घकालीन रणनीति गरी तीन वटा नीतिगत दस्तावेजहरू प्रस्तुत भएका छन् । त्यसैगरी संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभा, ग्लोबल कोभिड–१९ समिट एवं संयुक्त राज्य अमेरिकाका महामहिम राष्ट्रपतिद्वारा आयोजित लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनलाई सम्बोधनलगायत अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति जनाइएको छ”, उहाँले भन्नुभयो ।

संयुक्त सरकारले अङ्गीकार गरेका नीतिहरूप्रति जनसमर्थन र सहयोग प्राप्त भएको उल्लेख गर्दे प्रधानमन्त्री देउवाले संविधान र संवैधानिक प्रणालीको रक्षा भएको छ र विधिको शासन सुदृढ बनेको उल्लेख गर्नुभयो । जनतामा त्रास र भय एवं राजनीतिक स्थायित्व प्रतिको संशयको अन्त्य भएको र सरकारले कार्यभार सम्हालेको ६ महिनाको अवधिमा हासिल भएका उपलब्धिले सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट पार्नुभयो । साथै उहाँले सरकारले छोटो अवधिमा गरेका कार्य र हासिल भएका उपलब्धिहरूले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, सुशासन र समृद्धि हासिल गर्ने बलियो आधार खडा गरेको र जनतामा आशा तथा भरोसा बढेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री